विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बझाङ । सुदूरपश्चिम क्षेत्रमा जलविद्युत् उत्पादनको क्षमता १५ हजार मेगावाट छ, तर हालसम्म ५० मेगावाटमात्र उत्पादन भएको छ । बाह्रै महिना अटुट रूपमा बगिरहने सेती, महाकाली, चमेलिया, कालंगा, बूढीगंगालगायतका अन्य साना नदीहरूबाट हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भए पनि उत्पादनको अवस्था भने कमजोर देखिएको हो ।

१० वर्षअघिसम्म १ मेगावाट उत्पादन पनि नभएको सुदूरपश्चिममा पछिल्लो समयमा भने जलविद्युत् आयोजनाहरूको निर्माण बढ्दै गएको छ । पूर्व ऊर्जा सचिव अनुपप्रसाद उपाध्यायका अनुसार प्रदेशमा ६ हजार ४ सय मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, ४ सय ३९ मेगावाटको बेतन कर्णाली आयोजना, ७ सय ५० मेगावाटको पश्चिम सेती परियोजना र १० हजार ८ सय क्षमताको कर्णाली परियोजनालगायतका गरी १५ हजार मेगावाट क्षमता छ ।

“सुदूरपश्चिम प्रदेशमा जलविद्युत् आयोजनाको ठूलो सम्भावना छ । सरकारको नीति र झन्झटिलो प्रक्रिया तथा सरकारी बेवास्ताका कारण आयोजना निर्माण हुन सकेका छैनन्,” उपाध्याय भन्छन्, “प्रदेशमा कर्णाली चिसापानी, पञ्चेश्वर, पश्चिम सेती परियोजना, बेतन कर्णालीलगायतका आयोजनाबाट १५ हजार मेगावाटबराबर उत्पादन हुन्छ, निर्माण गर्न निकै चुनौती छ । कतिपय सरकारी नितीका कारण त कतिपय आयोजना भौगोलिक अवस्था र निर्माण कार्यका बेला हुने विभिन्न बाधाका कारण यी परियोजना बन्न असम्भव छ ।”

ठूला गौरवका आयोजना निर्माणमा अनावश्यक विवाद ल्याइदिँदा समस्या हुने गरेको उनको भनाइ छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाले भारत र नेपाल दुवै देशलाई समेट्छ । यो परियोजना दुवै देश नमिली निर्माण हुन सक्दैन । यो परियोजना निर्माण गर्दा दुई भाग भारततिर डुबान पर्छ भने एक भाग नेपालतिर डुबान पर्छ ।

परियोजना निर्माणका लागि पानी बाँडफाँडलगायतको मुद्दा अझै मिलेको छैन । कर्णाली परियोजनामा पनि लागत बढी छ । सरकारले सार्क राष्ट्रकै गौरवको आयोजना बनाउने भनेर घोषणा गरेर प्रत्येक वर्षको बजेटमा राख्दै आएको छ, तर ठोस काम भने अघि बढेको छैन ।

“कर्णाली चिसापानीमा सरकारले लगानी लगाउँदैन । निजी क्षेत्रको लगानी त्यति छैन । वैदेशिक लगानीका लागि वातावरण छैन । त्यसैले सयौं वर्षसम्म यी योजना बन्दैनन्,” उनी भन्छन् ।
बेतन कर्णाली जलविद्युत् आयोजनामा पनि राजनीतिक दलहरूले विभिन्न बहाना गरेर निर्माण हुन नदिन खोजेको उनको भनाइ छ । उनले कुनै पनि क्षेत्रलाई प्रभाव नपार्ने यो आयोजनाको डीपीआर तयार भइसकेको र निर्माणका लागि प्रक्रिया सुरु गर्दा राजनीतिक दलले यसको विरोध गर्दै आएका छन् ।

विद्युत् प्राधिकरण र कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको आयोजना निर्माणको प्रक्रियामा जाँदा पश्चिमतिरका मै हुँ भन्ने सांसदहरूको टाउको दुखेको उनको भनाइ छ ।
जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न मन्त्रालयबाट लिनुपर्ने स्वीकृति सहजै प्राप्त गर्न नसकिने र झन्झटिलो प्रक्रिया भएका कारण सास्ती खेप्नुपरेको सञ्चालकहरू बताउँछन् ।

“नेपालमै ठूलो मात्राको लगानी निजी क्षेत्रसँग छैन । सरकारी थुप्रै नियमन प्रक्रिया तथा सुस्त प्रशासनिक कार्यले विदेशी लगानीकर्ताहरूलाई हतोत्साहित गर्छ,” अपि हाइड्रो पावरका सञ्चालक द्वारिका न्यौपाने भन्छन्, “आफ्नो धेरै स्रोत खर्च हुने र लगानी उठाउन समय लाग्ने गरेको निजी जलविद्युत् उत्पादकहरू आफ्ना परियोजना र पैसा अन्यत्र लैजाने गरेका छन् । सरकारको नियमन प्रक्रिया मात्र होइन, कानुनी संरचना पनि गतिला छैनन् । आयोजना निर्माणका लागि सिफारिस माग्दा वा स्वीकृति लिँदा प्राधिकरणदेखि मन्त्रालयसम्म पैसाको बिटो बुझाउनुपर्छ । पैसा नदिई काम हुँदैन ।” सुदूरपश्चिममा जलविद्युत् आयोजनाको अथाह सम्भावना भएको यस विषयमा प्रदेश सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ ।

आयोजना निर्माण भने बढ्दै

निर्माणाधीन आयोजना बढ्दै

२०७२ सालमा अपि पावर कम्पनीले सुदूरपश्चिमकै पहिलो आयोजनाको रूपमा दार्चुलामा ८.५ मेगावाटको नौगाढ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको थियो ।
सोही कम्पनीले २०७६ सालमा ८ मेगावाटको अपरगाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको थियो । सोही कम्पनीले दार्चुलाकै मार्मा क्षेत्रमा निजी क्षेत्रकै लगानीमा सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ ।

२०७६ सालमा डोटीमा ३.३३ मेगावाटको कपडीगाढ जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न भएको छ । २०७४ सालमा विद्युत् प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको थियो ।

बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत् आयोजनाहरू निमार्णाधीन अवस्थामा छन् । कतिपय जिल्लामा आयोजनाको सम्भाव्यता अध्ययन सकेर निर्माण कार्य सुरु हुने अवस्थामा छन् ।

यसरी काम सुरु भइसकेका र सम्भाव्यता अध्ययन भइरहेका आयोजनाहरूको काम समयमै सम्पन्न भए सुदूरपश्चिम प्रदेश देशकै सबैभन्दा बढी विद्युत्् उत्पादन गर्ने प्रदेशको रूपमा परिचित हुने उज्यालो सुदूरपश्चिमका अभियन्ता तथा कालंगा जलविद्युत् आयोजनाका संस्थापक वीरेन्द्र मल्लले बताए ।

बझाङ जिल्लामा मात्र झन्डै एक दर्जन जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । बुङगल क्षेत्रको कालंगा नदीमा तीन अलग–अलग ठाउँबाट निर्माण सुरु गरिएको १० मेगावाटको कालंगा जलविद्युत् आयोजना, ३८.४६ मेगावाटको अपर कालंगा जलविद्युत् आयोजना र १६ मेगावाटको सानीगाड जलविद्युत् आयोजना गरी ६५ मेगावाट आयोजनाको काम अन्तिम चरणमा छ ।

बझाङकै तल्कोट गाउँपालिकाको सुनिगाड खोलाबाट ४ वर्षभित्र उत्पादन गर्ने गरी २५ मेगावाटको अर्काे आयोजना पनि निर्मार्णाधीन अवस्थामा छ । तल्लो सुनिगाडबाट १७ मेगावाट र उपल्लो सुनिगाडबाट ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ओमेगा इनर्जी डेभलपरले निर्माण सुरु गरेको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरण आफैंले निर्माण गर्ने गरी तल्कोट गाउँपालिकामै २ सय १० मेगावाटको चैनपुर सेतीखोला जलविद्युत्् आयोजनाको सम्भाव्यता अध्ययन पूरा भई निर्माणको तयारीमा छ । चिलिमे हाइड्रो पावर पनि सेती नदीमै १ सय ६५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । त्यस्तै साइपाल गाउँपालिकामा निर्माण हुने अपर सेती १ सय ४० मेगावाटको आयोजनाको लागि निजी क्षेत्रकै समृद्धि हाइड्रो पावर कम्पनीले प्रक्रिया अघि बढाएको छ ।

डोटी जिल्लामा १.५५ मेगावाट क्षमताको माथिल्लो गडीगाड जलविद्युत् आयोजना पनि निर्माणको चरणमा छ । अछाममा निर्माण हुने २० मेगावाट क्षमताको बूढीगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा छ । आयोजनाले विस्तृत परियोजना अध्ययन सक्नुका साथै पहु“चमार्ग, पुल, आयोजना स्थलमा भवन निर्माण र मुआब्जा वितरणका काम सकेर केही महिनामै निर्माण कार्य सुरु हुने आयोजना प्रमुख सूर्यप्रसाद रिजालले बताए ।

सरकार आफैंले निर्माण गर्ने गरी २०५२ सालदेखि नै सम्भाव्यता अध्ययन सुरु गरेको आयोजनाको निर्माणका लागि करिब ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर खर्च अनुमान गरिएको छ । बेतन कर्णाली हाइड्रोले अछाममै ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने तयारीमा छ ।

बाजुरामा ४.५ मेगावाटको बडीगाड जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रक्रिया सुरु गरेको छ । पायोनियर हाइड्रोले सम्भाव्यता अध्ययन पूरा गरेर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यस्तै ५ मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा छ । रिलायवल हाइड्रो कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । पहिलो चरणको काम सकेर निर्माण कम्पनी अघि बढेको छ ।

दार्चुलामा १३.९४ मेगावाट क्षमताको आयुछटी गाड जलविद्युत् आयोजना, ३५ मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना र १० मेगावाटको मकरीगाड जलविद्युत् आयोजनाले पनि निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् ।

काराेबार दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit