काठमाडौँ । विद्युत् उत्पादन, खपत र निर्यातका दृष्टिले उच्च लक्ष्य र ऐतिहासिक प्रतिबद्धतासहित सरकारले 'ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१' सार्वजनिक गरेकाे छ । सन् २०२५ देखि २०३५ सम्म १० वर्षमा २८ हजार ५०० मेगावाट (मेवा) विद्युत् उत्पादनको लक्ष्य राखिएको उक्त मार्गचित्र गत पुस १६ गते मंगलबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । त्यसको एक सातापछि मार्गचित्र सार्वजनिक गरिएको हो ।
पूर्व–मन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्मा लगेको तर स्वीकृत हुन नसकेको ऊर्जा विकासको मार्गचित्रलाई अझ वृहत् अध्ययन र परिमार्जनसहित जिम्मेवारी सम्हालेको छोटो समयमै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निरन्तरको लगाब र प्रतिबद्धताका कारण मन्त्रिपरिषद्बाट स्वीकृत गराउन सफल भएका हुन् । यस मार्गचित्र निर्माणमा सरकारले लिएका ऊर्जा विकासका अघिल्ला लक्ष्य तथा नीतिहलाई समेत आधार मानिएको मन्त्री खड्काले बताएका छन् । यो मार्गचित्रले सरकार ऊर्जा विकासप्रति प्रतिबद्ध छ र नेपालमा उत्पादित जलविद्युत सहितका स्वच्छ ऊर्जाको बजार विस्तारमा समेत सरकारले योजनाबद्ध दकम अघि बढाएको स्पष्ट पारेको छ ।
स्वीकृत मार्गचित्रले १० वर्षमा आन्तरिक विद्युत् प्रसारण र वितरण प्रणालीको क्षमता विस्तार र आधुनिकीकरण, अन्तरदेशीय विद्युत् प्रसारण लाइनहरुको आवश्यकता, निर्माणाधीन तथा उत्पादनोन्मुख विद्युत आयोजनाहरू एवम् विद्युत् प्रसारण लाइनसम्बन्धी आयोजना विकास गर्न आवश्यक वित्तीय स्रोत, विद्युत् व्यापारले देशको आर्थिक र सामाजिक विकासमा पार्ने सकारात्मक प्रभाव, जलविद्युत् आयोजनाहरू तथा प्रसारण लाइन आयोजना विकास गर्न अवलम्बन गर्नुपर्ने प्रशासनीक नीतिगत र कानुनी सुधार जस्ता विषयलाई ध्यान दिइएको जनाइएको छ ।
विद्युत् उत्पादनको १० वर्ष प्रक्षेपण
मार्गचित्र तथा कार्ययोजनाले आर्थिक वर्ष (आव) २०८०/८१९२०२३/२४० सम्ममा विद्युत् उत्पादन भई सञ्चालनमा रहेका र प्रस्तावित आयोजनाका क्षमताको आधारमा २०९२ ९सन् २०३५० सम्मका लागि विद्युत् उत्पादनको अवस्था प्रक्षेपण गरेको छ ।
यस अनुसार आव २०८०/८१ देखि २०८९/९० सम्ममा विद्युत् खरिद सम्झौता भएका आयोजनाबाट ५ हजार ८७३ मेवा, विद्युत् खरिदको प्रक्रियामा रहेका आयोजनाबाट ३ हजार २०५ मेवा, कनेक्सन एग्रिमेन्ट सकिएका आयोजनाबाट ३ हजार १०८ मेवा, कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाहरूबाट ५ हजार ६४८ मेवा तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीहरूबाट अध्ययन सकिएका भएका ठूला प्रकृतिका तथा विद्युत् खरिद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाहरूबाट ४ हजार ४३१ मेवा र भारतीय कम्पनीहरूबाट प्रवर्द्धन भइरहेका आयोजनाहरूबाट ३ हजार ६७९ मेवा गरी कुल २५ हजार ९४४ मेवाका आयोजनाहरूले निर्माण सम्पन्न गरी थप विद्युत् उत्पादन थालनी गर्ने प्रक्षेपण गरिएको छ । यससँगै आर्थिक वर्ष २०९१/९२ सम्ममा हाल उत्पादनमा रहेका आयोजनासहित नेपालको कुल विद्युत् उत्पादन २८ हजार ७१३ मेगावाट पुग्ने मार्गचित्रको प्रक्षेपण छ ।
समग्र लक्ष्य
मार्गचित्रले १० वर्षमा उत्पादन क्षमता ३ हजार ४०० मेगावाटबाट २८ हजार ५०० पुर्याउने, प्रतिव्यक्ति विद्यूत् खपत ४०० युनिटबाट १ हजार ५०० युनिट पुर्याउने, निर्यात ७०० मेगावाटबाट बढाएर १५ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै, प्रसारण प्रणाली ६ हजार ५०७ सर्किट किलोमिटरबाट १७ हजार ४४६ सर्किट किलोमिटर पुर्याउने, सबस्टेशनको क्षमता १३ हजार ५० एमभिएबाट ४० हजार एमभिए पुर्याउने, विद्युत् पहुँच ९८ प्रतिशतबाट शतप्रतिशत पुर्याउने र वार्षिक आन्तरिक विद्युत् माग १२ हजार ७०० गिगावाट घण्टाबाट ४० हजार ७१० घण्टा पुर्याउने लक्ष्य अघि सारेको छ ।
२२३०० मेगावाटकाे लगानी जुट्न बाँकी
यसका लागि उत्पादनतर्फ २२ हजार ३०० मेगावाटका आयोजनामा लगानी जुटाउन बाँकी रहेको र यसका लागि ३९.७ अर्ब अमेरिकी डलर जुटाउनु पर्ने लक्ष्य राखेको छ । त्यस्तै, ५.६ अर्ब डलर प्रसारण लाइन तथा सबस्टेशनमा जुटाउनु पर्ने, वितरण प्रणालीमा १.५ अर्ब डलर गरी कुल ४६.५ अर्ब अमेरिकी डलर बराबरको लगानी जुटाउनु पर्ने उल्लेख गरेको छ ।
यस्ताे छ पूर्णपाठ