काठमाडाैं । आज माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्यको सफल सम्पन्नतापछि उत्पादन सुरु भएको छ । हामीले उद्घाटन गरेका छौं । यो ज्यादै खुसीको कुरा हो । हामीले आयोजनाका आर्थिक तथा प्राविधिक पक्ष, यसका फाइदा या विविध पक्षहरूमा स–विस्तार जानकारी पायौं ।
आयोजना दोलखा जिल्लामा निर्माण भएको छ । दोलखाबासीलाई यसको प्रत्यक्ष लाभ भएको छ । यसको विकासका सन्दर्भमा र विकासपछि पनि विभिन्न सन्दर्भमा यसका बहुआयामिक फाइदाहरू दोलाखाले पनि पाएको छ । म दोलखाबासी दाजुभाइ दिदीबहिनीलाई बधाई भन्न चाहान्छु ।
आयोजना, त्यसका सन्दर्भमा बाटोको निर्माण, प्रसारण लाइन अथवा सबस्टेसन निर्माण लगायत विभिन्न कार्यहरूमा स्थानीय जनताको सहयोग अत्यन्तै प्रशंसनीय रह्यो । त्यहाँका नेताहरू, जनप्रतिनिधि मित्रहरू, समाजसेवी, विकास पे्रमीहरू र सर्वसाधारण आमजनताको असाधारण सहयोग रह्यो । त्यसका निम्ती म धन्यवाद भन्न चाहान्छु ।
विकास हामी सबैको साझा आवश्यकता हो । विकासको सफलता हामी सबैको सफलता हो । त्यसको उपलब्धि पनि हामी सबैको हो । समग्रतामा भन्ने हो भने यो विद्युत दोलखामा मात्रै होइन, ढल्केबर सबस्टेसनमा गएर त्यहाँबाट देशका विभिन्न भागमा वितरण हुन्छ । यसले आवश्यक पर्दा आन्तरिक खपत प्रश्नमा मात्र होइन । बाह्य निर्यातको स्थितिलाई पनि अनुकूल अवस्था प्रदान गर्न सक्छ ।
यो आफ्नै लागतमा अर्थात् नेपालीहरूकै लागतमा बनेको छ । ४५६ मेगावाटको अथवा अहिलेसम्म यस प्रकारको ठूलो आयोजना आफ्नै लागतमा बनेको छ । यो धेरै खुसीको कुरा हो । यसबाट हाम्रा प्राविधिकहरू, इन्जिनियरहरू, डिजाइनरहरू अथवा निर्माणकर्मीहरू, हरेक क्षेत्रले आफ्नो ज्ञान र अनुभवलाई विकास गर्ने अवसर पाएको छ । यसले ऊर्जा क्षेत्रको विकासमा आत्मविश्वास बढाएको छ । राष्ट्रिय आत्मविश्वास पनि बढाएको छ ।
हामी हाम्रै बलबुतामा पनि विकास गर्न सक्छौं । हाम्रै बलबुतामा थुप्रै कामहरू गर्न सक्छौं, अब । जुन काममा ‘नलेज ट्रान्सफर’को कुरा होस, प्रविधि ट्रान्सफरको कुरा होस् वा कन्सल्टेन्सी जसमा बाहिर भर पर्नुपथ्र्यो अब विस्तारै हामी ती प्रश्नहरूमा, ती क्षेत्रहरूमा पनि आत्मनिर्भरतातर्फ जान चाहिरहेका छौं ।
त्यो सम्भव बनाउने कुराका सन्दर्भमा यस्ता आयोजनाहरूले अझ ढोका खोल्छन् र मार्ग प्रशस्त गर्छन् । अझ हामीलाई अनुकूलता प्रदान गर्छन । हामी यसबाट सफलता प्राप्त गर्दै जान्छौं । हाम्रो विद्युत उत्पादनमा जुन न्यूनता रहेको छ, यस आयोजनाले पूर्ति गर्नेछ ।
हामीले विभिन्न ढंगले लोडसेडिङ अन्त्य गरेका छौं । २०७५ साल जेठबाट हामीले लोडसेडिङ अन्त्य गर्यौं । तर, लोडसेडिङ अन्त्य गर्दा हाम्रो आन्तरिक उत्पादनबाट मात्र होइन, बाह्य खरिदबाट भयो । केही समयभित्रै यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ । आज आयोजनाको पहिलो युनिटको उत्पादन सुरु भएको छ । यो आयोजनाका ६ वटा युनिट सञ्चालन हुँदा हामीले ४५६ मेगावाट विद्युत उत्पादन गर्न सक्छौं ।
एउटा युनिटको सफल परीक्षण उत्पादन गरेका छौं । अब क्रमशः उत्पादन वृद्धि गर्दै लान्छौं । यसले शिक्षा, स्वास्थ्य, औद्योगिक लगायत विविध क्षेत्रको विकास हुन्छ । हरित ऊर्जा उपयोग गर्ने सन्दर्भमा यो आयोजनाले हाम्रा चुलाहरूलाई दाउरा र ग्यासको सट्टामा विद्युतीय चुलोमा परिणत गर्न सक्छ ।
देशको विद्युतीकरण कार्यलाई पूर्णता दिन यो आयोजनाले महत्त्वपूर्ण योगदान गर्नेछ । अहिलेसम्म हामी आन्तरिकरूपमा जति विद्युत उत्पादन गरिरहेका छौं– अहिलेसम्मको स्थितिमा आधाभन्दा बढी यही आयोजनाले गर्नेछ, सुख्खा यामको कुरा गर्ने हो भने । यो कम लागतको बढी ऊर्जा दिने आयोजना हो ।
दुःखको कुरा कतिपय कारणले हाम्रो अनुभवको कमीले होस् वा निर्माण कम्पनीको छनोटको अनुपयुक्तताले वा अरू कतिपय ढिलासुस्तीले, भूकम्पले वा कोभिड–१९ महामारीले पनि केही विलम्ब गर्यो होला । हाम्रो तदारुकताका साथ काम गर्ने आदतको कमीले गर्दा होस्, आयोजना निकै विलम्ब भयो ।
जसले गर्दा लगानी निर्माण अवधिको ब्याजको हिसाबले १४ अर्ब ब्याज लाग्नेछ भन्ने अनुमान गरिएकोमा थप १८ अर्ब रुपैयाँ ब्याज बढ्यो र ३२ अर्ब रुपैयाँ पुग्यो । यो ठूलो नोक्सान हो ।
निर्माणकालमा १४ अर्ब ब्याज हुन्छ भनेको ठाउँमा ३२ अर्ब रुपैयाँ पुग्नु, १४ को ठाउँमा १८ अर्ब थप लाग्नु अथवा ३५ अर्ब २९ करोड भनेको ठाउँमा ५२ अर्ब लागत पुग्नु जस्ता कुराबाट हामीले सिक्नुपर्दछ । अब आउने आयोजना पनि ठीक समयमा सम्पन्न गर्न सकेनौं भने त्यसले हामी सही दिशातर्फ हिँडिरहेको संकेत गर्दैन ।
तामाकोसीको लागतमा यसै पनि १७ अर्ब नोक्सान छ । निर्माणकालको ब्याज १८ अर्ब रुपैयाँ अथवा ३५ अर्ब पुग्नु । मोटामोटी लगानीको मात्रै भन्ने हो भने लगानीको मूल आकलन जुन थियो, यति लगानी हुन्छ भन्ने अनुमान जुन थियो । त्यति त ब्याजमात्र हुन पुग्यो । अलिकति बिलम्ब हुँदा झन्डै आयोजनाको लागतबराबर नै ब्याज पुग्यो ।
यो प्रत्यक्ष नोक्सानीको कुरा भयो । निर्माण अवधिको ब्याजको कुरा भयो अथवा निर्माण अवधि लम्बिनाको कारणले हुन गयो । यसबाहेक अरू ४ वर्ष अगाडि नै आयोजना तयार भएको भए यसबीचमा जति विद्युत उत्पादन हुने गथ्र्यो, त्यसको खपत हुन्थ्यो । जति आयोजनाले उत्पादन दिन्थ्यो त्यति नै विकास, विद्युतीकरण आधुनिकीकरणको सन्दर्भमा, शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रहरूमा यसको प्रयोगबाट हुने लाभको पक्ष त हामीले हिसाबै गरेका छैनौं । जो हामीलाई नदेखिने गरी ठूलो घाटा परेको छ । त्यो घाटा हिसाब गरीसाध्य छैन ।
यो परोक्ष र प्रत्यक्ष घाटा दुईटै जोड्ने हो भने असाधारण हुन जान्छ । अब उप्रान्त हामीले सजक हुनुपर्छ । आयोजना निर्माणको बिलम्बले राष्ट्रलाई नै त्यो एक ढंगले भन्ने हो भने असाधारण क्षति पुर्याइराखेको हुन्छ, जसलाई हामीले आगामी दिनमा ध्यान दिन जरुरी छ ।
अर्को पाटोमा, खिम्ती–ढल्केबर प्रसारण लाइन तथा ढल्केबर सबस्टेसन सबैभन्दा ठूलो हो । खिम्ती–ढल्केबर पूर्ण क्षमतामा सञ्चालन गर्न यस्ता आयोजनाहरू निर्वाध अगाडि बढ्ने र पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण निर्माण गर्नुपर्छ । प्रसारण लाइनको भरपुर उपयोग गर्ने र केही प्राविधिक पक्षहरूमा पनि हामीले सच्याउन जरुरी छ ।
प्राविधिक पक्ष सच्याउन सक्ने कुरा हाम्रो बसमै हुन्छ । बसमा नहुने हो भने त बत्ती बलेको बल्यै, निभेको निभै हुन्थ्यो । आज उद्घाटनको क्रममा बल्ने निभ्ने समस्या देखियो । यस्तो हुन दिनुहुँदैन । यो आज ऊर्जाकै उद्घाटन, ऊर्जाकै गडबडी ! यसले हामीलाई अलिकति शिक्षा दिनुपर्छ कि !
यहाँ एकसे एक निर्माण कम्पनीदेखि विद्युतका प्राविधिकहरू हुनुहुन्छ । हामीले हाम्रो प्रविधिलाई दिगो बनाउनुपर्छ ।
म एक पटक सन् १९९२ मा स्वीडेनको एउटा इन्टर पार्लियमेन्ट्री युनियनको कार्यक्रममा गएको थिएँ । त्यहाँ, ३० सेकेन्ड बत्ति गयो । त्यति बेला उक्त कार्यक्रमको अध्यक्ष स्वीडेनकै महिला सभामुखले गर्नुभएको थियो । ३० सेकेन्ड बत्ति जाँदा उहाँले यो स्वीडिस प्रविधिको फेलियर होइन, यो प्रविधि अन्तबाट ल्याइएको थियो ।
अब हामी नयाँ स्वीडिस प्रविधि विकास गर्दैछौं । यो पुरानो प्रविधिको अवशेष रहेको हुनाले ३० सेकेन्ड गयो । भ्रम नरहोस् स्वीडिस प्रविधि यस्तो कमजोर छैन । यो अरूको प्रविधि जुन हामीले लिएका थियौं, त्यसको प्रतिस्थापन गरिनसकेको अवशेष हो । कहाँको प्रविधि हो त्यो म भन्दिनँ ।
स्वीडेनमा, अब हामी कहाँ त्यस्तो हुँदैन भनेर सभामुखले ठूलो दाबी गर्नु भो मात्रै ३० सेकेन्ड बत्ति जाँदा । अथवा, ३० सेकेन्ड पनि विद्युत अवरुद्ध हुने स्थिति हुनुहुँदैन भन्नेतिर हामीले हाम्रो प्रविधिलाई त्यसअनुरूप विकास गर्ने कोसिस गर्नुपर्छ । त्यसअनुसार, प्रसारण लाइन, ट्रान्सफर्मर लगायत उपकरणलाई मजबुत बनाउनुपर्छ । आपूर्ति तथा त्यसले बहन गर्ने क्षमता, धान्ने क्षमतादेखि लिएर सबै कुराको सन्तुलन भयो भने पक्कै पनि लाइन जाँदैन ।
हाम्रोमा कहीँ न कहीँ सन्तुलनमा गडबडी छ । त्यसैकारण, बत्ति जाने होला । त्यसो भएर हामीले यी पक्षहरूमा ध्यान दिनुपर्छ । हामी अब टुकी देशबाट टुकीरहित देशमा परिणत हुँदैछौं । अब केही प्रतिशत मात्रै घरधुरीमा हामीले विद्युत पुर्याउन बाँकी छ । मूलतः हामीले विद्युत वितरणको पक्षमा यति धेरै सफलता प्राप्त गरेका छौं ।
उद्योगहरूलाई हामीले प्रसारण लाइन अर्थात् त्यसलाई बोक्ने भरिया निर्माण गर्न नसकेर विद्युत दिन सकेका छैनौं । कतिपय उद्योगले मागेजति विद्युत पाइरहेका छैनन् । अहिलेसम्म विद्युत्मा अतिकति डिमान्ड शुल्क बढी नै होला । यो केही समय हो । अलि पछाडि हामी डिमान्ड चार्ज जस्ता शुल्क राख्ने छैनौं । अहिले हामी विकासको चरणमा भएकाले डिमान्ड चार्ज जस्ता कुराहरू भएका हुन् ।
उद्योगमाथि जुन अलि बढी शुल्क लिइराखेका छौं, त्यलाई पनि घटाउने दिशामा सोच्दै जानुपर्नेछ । उत्पादन बढी गर्ने, उपभोक्तालाई सहुलियत दिएर सहयोग पुर्याउँदै जानुपर्छ । अर्को कुरा, हामीले निर्यात सस्तोमा गर्ने र आफ्ना उपभोक्ताहरूलाई महँगोमा बिक्री गर्ने कुरालाई पनि सच्याउन जरुरी छ ।
हामीले सस्तोमा निर्यात गरी आफ्ना उपभोक्तालाई महँगामो बेच्ने गर्नु भएन । हाम्रो विद्युत हाम्रा उपभोक्तालाई त झन् सस्तोमा उपलब्ध गराउनुपर्ने हो । आपूर्तिको अहिलेको परिस्थितिले गर्दा व्यवस्थापन मिलाउन सहजरूपमा नसकिराख्या हो । मैले पनि साथीहरूसँग ब्रिफिङ लिइरहेको छु कि कसरी आपूर्तिमा देखिएका समस्या कम गर्न सकिन्छ भनेर ।
उद्योगलाई बढावा दिन सकिन्छ, जसले धैरै वटा फाइदा गर्छ । त्यसबाट अरू प्रकारका विभिन्न फाइदा हुन्छन्, जसले गर्दा प्रत्यक्ष फाइदा मात्रै नभएर परोक्ष फाइदाहरू पर्याप्त हुनेछन् । समग्रतामा भन्ने हो भने त्यसबाट देशलाई नै लाभ हुने हो । त्यसकारण हामीले उद्योग क्षेत्रलाई बढावा दिने, किसानहरूलाई विद्युतको उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुराप्रति आकर्षित गर्न जरुरी छ ।
साना घरेलु उद्योग तथा मझौला खालका उद्योगहरूमा पनि विद्युतको प्रयोगबाट उत्पादन वृद्धि गर्न सकिनेछ । साना कुराहरूले ठूलो फरक पार्छ, उत्पादन वृद्धिमा । यस्तो कार्यलाई प्रोत्साहित गर्नतर्फ हामीले ध्यान दिन जरुरी छ । जे होस्, आज विद्युत उत्पादन र प्रयोगको क्षेत्रमा ठूलो सफलता मिलेको छ ।
यो खाली विद्युत उत्पादनको क्षेत्रमा मात्रै होइन, यसका बहुआयामिक ढंगले स्तर वृद्धि भएको छ । यस घडीमा म खुसी व्यक्त गर्न चाहान्छु । यो राष्ट्रिय खुसी हो । एउटा राष्ट्रिय गौरवको आयोजना अत्यन्तै सफलताका साथ सम्पन्न भएको छ । अलिकति ढिलो भने अवश्य भएको छ ।
आगामी दिनमा हामीले यसबाट सिक्नेछौं । सिक्नुपर्छ । तामाकोसीको लाभ जहाँ–जहाँबाट लिन सक्ने हो, सबैले लिनुपर्छ । व्यक्तिगत तवरमा मैले लाभ लिएँ कि लिइनँ । पाएँछु कि पाउँदिन भन्ने होइन । यो राष्ट्रले नै लाभ पाउने विषय हो । यसमा सर्वसाधारण जनताको पनि लगानी छ । अरू विभिन्न क्षेत्रको लगानी छ । आफ्नो र आफ्ना संस्थाहरूको लगानी छ । प्रभावित क्षेत्रका स्थानीय जनताको पनि लगानी छ । सबै लगानीकर्ताहरूलाई पनि लगानी सफल भएकोमा बधाई भन्न चाहान्छु । र यो राष्ट्रिय खुसीमा सबै खुसी हौं ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ गते सोमबार माथिल्लो तामाकोसी ७६ मेगावाटको पहिलो युनिट उद्घाटनको क्रममा दिएको मन्तव्यको सम्पादित अंश)