विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । एक महिनाअघि अर्थात् गत जेठ १८ गते दिउँसो तामाकोसी नदी थुनिएको खबर फैलियो । सुख्खा पहिरोका कारण ४ घण्टासम्म नदी थुनिँदा तटीय क्षेत्रका बासिन्दामा त्रास फैलियो । प्रशासनले तल्लो तटीय क्षेत्रमा जोखिम नभएकाले सुरक्षित हुन खासै सूचना जारी गरेन ।

विगू गाउँपालिका–१ लामाबगरमा अवस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधभन्दा करिब ३ किलोमिटरमाथि पहिरोले नदी थुनिएर बनेको पोखरी फुटेर आए पनि तामाकोसीको बाँधले रोक्छ भन्ने विश्वास प्रशाशनको थियो । त्यसैले, तल्लो तटीय क्षेत्रका बासिन्दामा सतर्कताका लागि खासै सूचना जारी गरेन । नभन्दै थुनिएको नदी ४ घण्टापछि आफैँ बग्न थाल्यो । त्यसपछि आएको बाढीलाई २ किलोमिटर लामो बाँधले छेक्यो । बाँधले त्यो बाढी छेकेकाले तल्लो तटीय क्षेत्रको जोखिम टर्‍यो ।

योभन्दा ठूलो जोखिमको घटना २ वर्षअघि भएको थियो । लगातारको वर्षाका कारण पहिरोले तिब्बतको टिंग्री काउन्टीस्थित रोङ्सी खोला ३ दिनसम्म थुनियो । खोला थुनिएर ठूलो ताल बनेपछि त्यो फुटेर आउने बाढीले ठूलै क्षति हुन सक्ने आकलन गरी दोलखा र रामेछापमा तामाकोसी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न प्रशासनले उर्दी नै जारी गर्‍यो । २०७९ असार पहिलो साता भएको घटनामा बाढी आउन सक्ने अनुमानका साथ उद्दार सामग्रीसहित सुरक्षाकर्मीलाई ३ दिनसम्म उच्च सतर्कसाथ तैनाथ गरियो ।

नदी थुनिएको स्थान तिब्बती भूभागमा पर्ने भए पनि नेपाल (दोलखा) को सिमानाभन्दा केहीमाथि मात्रै परेकाले त्रास बढायो । उक्त खोला तामाकोसीको सहायक नदी हो । त्यो खोलाको पानी लामाबगरमा पर्ने माथिल्लो तामाकोसी बाँधमै आउँछ । नभन्दै ३ दिनपछि रातको समयमा रोङ्सी खोलाको प्राकृतिक अस्थायी बाँध फुट्यो । नदीमा एक्कासी ठूलो बाढी आयो तर उच्च सतर्कता अपनाएका कारण आयोजनाको बाँधले त्यो बाढी नियन्त्रण गर्‍यो । बाढीबाट एक्कासी आएको पानीलाई खटाएर नदीमा छाड्यो । ठूलो जनधनको क्षति हुनबाट बचायो ।

तिब्बती भूभागमा नदी थुनिँदा २७५ घनमिटर प्रतिसेकेन्ड पानी आएको थियो । जबकी, प्रतिसेकेण्ड ३ सय घनमिटर पुगेको भए अवस्था खतरापूर्ण हुने थियो । एक्कासी ठूलो बाढी आउँदा बहाव रोक्न माथिल्लो तामाकोसीका सबै ढोका खोलेर बाँधमा जलसतह ७ मिटरसम्म घटाइयो । यसले माथिल्लो तटीय क्षेत्रमा नदी थुनिदा जम्मा भएको ताल फुटेर आउने बाढी रोक्न सफल भयो ।

२ वर्षयता भएका यी दुई घटना ठूला प्राकृतिक विपद् हुन् । पछिल्लो केही वर्षयता यस क्षेत्रमा पहिरो जाने, नदी थुनिने र फुट्ने क्रम जारी छ । पहिरोले बनाउने प्राकृतिक बाँध सानो हुँदा र नदीको बहाबले चाँढै निकास पाउँदा खासै धेरै चर्चा भएन ।

हाल लामाबगरभन्दा माथिल्लो क्षेत्रमा सडक निर्माण कार्य जारी छ । साँघुरो खोँच पर्ने यस ठाउँमा सानो पहिरो जाँदा पनि नदी थुनिने गर्छ । सडक खन्दा त्यहाँबाट निस्कने ढुङ्गामाटो पनि त्यही नदीमा खस्छ ।

सडक निर्माणबाट झरेको गेग्र्यान, तिब्बती भूभागमा गएको पहिरो लगायतका कारण माथिल्लो तामाकोसीको बाँध पनि भरिँदै आएको छ । २ किलोमिटर लामो बाँध भरिँदै अहिले एक किलोमिटरमा सिमित भएको छ । कठिन भूगोलले बाँध सफा गर्न उपकरण लैजाने अवस्था नभएपछि प्राकृतिक ?पमा बाँध थुन्ने र खोल्ने प्रक्रियाबाट मात्रै हरेक वर्ष बाँध सफा गर्ने गरिएको छ ।

जलाशय ढुङ्गा र माटोले भरिँदा पानीको सञ्चय पूर्ण क्षमतामा गर्न सकिएको छैन । यसले भविष्यमा नेपालमा जलाशय आयोजनाको भविष्यमाथि नै प्रश्न चिन्ह पो खडा गर्ने हो कि भन्ने चिन्ता बढाएको छ । जलाशय आयोजना निर्माण रोखिएर आंशिक जलाशय र नदी प्रवाही आयोजनामा मात्रै सीमित हुनुपर्ने दिन पो आउने हो कि भन्ने संशय बढाएको छ । हुन त जलवायु परिवर्तनका कारण माथिल्लो तटीय क्षेत्रमा देखा पर्ने प्राकृतिक प्रकोप र विकास निर्माणकै कारण आउने बाढी पहिरोले जलाशयमा गेग्र्यान, ढुङ्गा र माटो भरिने समस्या संसारभरका जलाशयको साझा समस्या हो ।

नेपालमा अहिले १०६ मेगावाट विद्युत् क्षमताको कुलेखानीबाहेक अर्को जलाशय आयोजना सञ्चालनमा छैन । १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ । यीबाहेक अधिकां नदी प्रवाही आयोजना छन् । केही आंशिक जलाशय आयोजना छन् । माथिल्लो तामाकोसी, कालिगण्डकी, मस्र्याङ्दी लगायतका केही आयोजना मात्रै अर्धजलाशययुक्त छन् ।

यी सबै जलाशय हिउँदमा दिन र रात अर्थात् कम विद्युत् खपत हुने समयमा पानी जम्मा गर्ने र बढी विद्युत् माग हुने साँझ र विहान चलाएर विद्युत् उत्पादन गर्ने आयोजना हुन् । यद्यपी, यी आयोजना केबल विद्युत् उत्पादनमा मात्रै सीमित छैनन् भन्ने माथिल्लो तामाकोसीको बाँधले प्रमाणित गरेको छ ।

भू–सतहदेखि १४ मिटर मात्रै अग्लो बाँधले पनि ठूलो बाढीको प्रकोपबाट तामाकोसी नदीको तल्लो तटीय क्षेत्रलाई बचाएको छ । यदी, त्यो बाँधले नरोकेको भए त्यसले पुर्‍याउने जनधनको क्षति कल्पना बाहिर नै हुने अनुमान गर्न सकिन्छ ।

३ वर्षअघि मनाङमा भिषण वर्षा हुँदा मनाङ सदरमुकाम चामे लगायतका क्षेत्रमा ठूलो भौतिक क्षति भयो । मस्र्याङ्दी नदीमा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने क्षतिलाई मर्स्याङ्दीमा बनेका अर्धजलाशयुक्त जलविद्युत् आयोजनाका बाँधले रोकेको थियो ।

हरेक वर्ष तराईमा डुबानको समस्या छ । माथिल्लो भेगमा वर्षा हुँदा तल्लो तटीय क्षेत्रले बाढीको समस्या झेल्नु परेको छ । यी यस्ता समस्या समाधान गर्ने तथा जलविद्युत्, सिँचाइ, पर्यटन जस्ता विविध प्रयोजन लगाएर फाइदा लिन सकिने भएकोले हाल बहुउद्देश्यीय आयोजनाको रूपमा उच्च बाँधका परियोजनाहरू निर्माण गर्ने बहस चलिरहेको छ । अब बाँधको अर्को प्रयोजना पनि प्रभावकारी रूपमा अगाडि आएको छ । बाढी नियन्त्रणका लागि पनि सानातिना बाँध समेत महत्त्वपूर्ण हुने प्रमाणित भएको छ । 

कोसी बेसिनका तमोर, अरुण, दूधकोसी, सुनकोसी, र तामाकोसीमा अलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजना तथा केही नदी डाइभर्सना आयोजना अघि बढिरहेका छन् । कतिपय आयोजना अध्ययन गरेर निर्माणमा जान लगानीकर्ताको खोजीमा छन् ।

मध्य तथा पश्चिम क्षेत्रमा त्रिशुली, मर्स्याङ्दी, गण्डकी, कर्णाली करिडोरमा पनि आयोजनाहरूको अध्ययन, निर्माणका काम जारी छन् । कतिपय जलाशययुक्त आयोजनाको पानी बिक्रीको बहस पनि चलेको छ ।

जलाशय र आंशिक जलाशय आयोजनालाई अब विद्युत्, सिँचाइ र पर्यटनमा मात्रै सीमित नगरी बाढी नियन्त्रण, प्राकृतिक विपत्तीलाई रोक्ने महत्त्वपूर्ण सुरक्षा औजारको रूपमा पनि लिनुपर्छ । यस्ता बाँधलाई प्राकृतिक विपत्तीबाट बचाउन यसलाई कसरी प्रयोग गर्ने भन्ने सुरक्षा योजनाभित्र पनि समावेश गर्न जरूरी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३