images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
  • Images
  • २०८० असार १९

काठमाडौं । वर्षायाम लागेर बिजुली उत्पादन बढ्न थाले पनि उद्योगहरूले पूर्ण रूपमा बिजुली नपाएको र ट्रिपिङको समस्या बढेको गुनासो गरेका छन् । तराई क्षेत्रमा सञ्चालित ठूला तथा साना उद्योगले पर्याप्त बिजुली नपाएको र ट्रिपिङको समस्या निकै बढेको उद्योगीहरूको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली बिक्रीको ग्राफ बढाउँदै लगेका बेला घरायसी उद्योग ट्रिपिङ तथा कटौतीको समस्याबाट गुज्रिरहेका छन् । वर्षायाम सुरु भएसँगै प्राधिकरणले नेपालमा बिजुली खपत नभएको भन्दै भारत बिक्री गरिरहेको छ । राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता २७ सय मेगावाट पुगेको छ । हाल उत्पादन भने करिब २२ सय मेगावाट पुगेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले दिनकै ३५० देखि ४०० मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जनाए । तर देशका उद्योगमा ट्रिपिङ, लो–भोल्टेज, कटौतीलगायत समस्याले उद्योग समस्यामा परेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् ।

‘पानी पर्याे भने प्राधिकरणले लाइन दिने, नत्र काटिदिने गरेको छ । यसले मोरङका उद्योग निकै संकटमा छन्,’ रिजालले भने, ‘भारतलाई यति–उति बिजुली बेचें भनेर प्राधिकरणलाई नाफामा देखाइएको छ । बिजुली नपाएर स्वदेशी उद्योग भने निरन्तर घाटामा छन्, प्राधिकरण कसरी नाफा देखाउन सकिन्छ भनेर बिजुली बेचिरहेको छ ।’ अनियमित, अपर्याप्त एवं विद्युत् ट्रिपिङको समस्याका कारण उद्योगी व्यवसायीलगायत समस्यामा रहेको र धराशायीकै अवस्थामा पुगेको रिजालले जनाए ।

जडित क्षमता २७ सय मेगावाट पुगे पनि प्राधिकरणले करिब १९ सय हाराहारीमा रहेको मागसमेत पूरा गर्न नसकेको रिजालको आरोप छ । बिजुली कटौतीको समस्या समाधानका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै चासो नदिएको उनको आरोप छ । ‘कुलमानजीलाई फोन गर्दा उनले फोन नै उठाउँदैनन्,’ रिजालले भने, ‘बिजुली माग्दा हामीले राजनीति गरेको आरोप लगाउँछन् । उद्योगमा राम्रोसँग बिजुली चाहियो समेत भन्न नपाइने भयो ।’ बिजुली कटौती भयो भन्दा व्यवसायीले राजनीति गरे भन्ने आरोप लाग्ने गरेको छ ।

लुम्बिनीका उद्योग पनि अझै बिजुली कटौती तथा ट्रिपिङको समस्यामा छन् । चितवन, बुटवल भैरहवालगायत स्थानमा रहेका उद्योग पनि बिजुली कटौतीको समस्यामा रहेको उद्योगीहरूको गुनासो छ । सुनवल–खैरेनीमा रहेका उद्योगमा बिजुली कटौतीले ठूलो समस्या पारेको सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने बताउँछन् । ‘दिनमा १०/१२ पटक ट्रिपिङ हुन्छ । मुस्किलले चार घण्टा पनि निरन्तर बिजुली पाउन मुस्किल छ,’ उनले भने, ‘वितरण केन्द्रमा गएर भन्दा माथिबाट बिजुली आएको छैन, कसरी दिने भन्ने जवाफ आउँछ ।’ एक पटक ट्रिपिङ भएपछि पुनः बत्ती आउन ३०/४० मिनेट लाग्ने गरेको न्यौपानेको भनाइ छ ।

‘पहिला साँझ ५ देखि ९ बजे ट्रिपिङ हुन्थ्यो । अहिले त राति १२ बजे पनि ट्रिपिङको समस्या छ,’ न्यौपानेले भने, ‘राति त धेरै उद्योग बन्द भएका हुन्छन् । यस्तो बेला लोड नधानेको पनि भन्न मिल्दैन । बरु तालिका बनाएर १६ घण्टा बत्ती दिन्छु भनेर तालिका दिए हामीलाई कुनै आपत्ति हुँदैन ।’ प्राधिकरणले भारतमा बिजुली बिक्री सुरु गरेपछि ट्रिपिङको समस्या धेरै भएको उनको भनाइ छ । ‘पहिला यस्तो समस्या थिएन । तर भारतमा बिक्री सुरु गरेपछि यो समस्या धेरै बढेको छ,’ उनले भने ।

प्राधिकरणले बिजुलीको खपत घटाउनसमेत फोन गर्ने गरेको न्यौपानेको आरोप छ । ‘४० मेगावाटको भट्टी चलिरहेको हुन्छ । त्यसमा प्राधिकरण भने उद्योगको लोड घटाउनुस् भन्छ,’ उनले भने, ‘घरको पंखा, टीभीको लोड घटाउने हो र ? कि त भट्टी बन्द गर्नुपर्याे ।’ ट्रिपिङको समस्या वीरगन्जका उद्योगमा पनि परेको उनी बताउँछन् ।

विद्युत् अनिमियत हुँदा उद्योगीहरू निकै समस्यामा परेको नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माको भनाइ छ । पछिल्लो समय ट्रिपिङको समस्या धेरै बढेको र यसले उद्योगका मेसिनरी सामग्रीमा समेत ठूलो क्षति पुर्याएको उनको दाबी छ । ‘पानी नपरेर प्राधिकरणलाई पनि समस्या भएको होला भनेर सुक्खायाममा केही भनेनौं तर भारतमा बिक्री गर्ने नाममा बर्खामास पनि हाम्रो उद्योगहरूले बिजुली कटौतीको समस्या भोग्नुपर्दा चित्त दुखेको छ,’ शर्माले भने, ‘हामीलाई कुन बेला बत्ती जान्छ र कुन बेला आउँछ मात्रै भन्दिए पनि सोहीअनुसार उद्योग सञ्चालन गर्न सम्भव हुने थियो । कोभिडको असरबाट केही तंग्रिन थालेको व्यवसायमा बिजुलीको समस्याले झन् दुःख दिएको छ ।’ त्यसो भए आफूअनुकूल उद्योग सञ्चलन गर्न सक्ने र यसले लागतमा समेत कमी आउने शर्माको भनाइ छ ।

चितवनका उद्योगमा पनि विद्युत् ट्रिपिङको समस्याले उद्योग समस्यामा परेको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ बताउँछन् । ‘बिजुली आउने–जाने गर्दा निकै समस्या भएको छ । मेसिन तातेको बेला झ्याप्प बत्ती जान्छ । फेरि ५ मिनेटमा आउँछ । यसले मेसिन बिग्रने समस्या झन् बढेको छ,’ उनले भने, ‘दिनमा १०/१२ पटकसम्म ट्रिपिङ भएको छ । यसले उद्योगहरूको उत्पादनमा झनै ह्रास हुँदै गएको छ ।’

ट्रिपिङ र लो–भोल्टेज तथा उल्टो फेजको समस्याले निकै दुःख दिएको मनकामना पोली इन्ड्रस्टिजका प्रबन्ध निर्देशक लक्ष्मण ठकुरीको भनाइ छ । ‘प्राधिकरणले बिल पठाएको एक सातामा पैसा नतिरे जरिवाना गर्छ । तर, ट्रिपिङ, लो–भोल्टेजलगायत समस्याले हाम्रा कति मालसामान खत्तम भएका छन्,’ उनले भने, ‘प्राधिकरणले कुन बेला बत्ती दिने र कति बेला काट्ने, यसबारे हामीलाई तालिका दिनुपर्छ ।’

उपत्यकामा समेत ट्रिपिङको समस्या देखिन थालेको छ । कलंकीमा रहेको आफ्नो गार्मेन्टमा बत्ती आउनेजाने समस्याले निकै दुःख दिएको बिन्दा तिमिल्सिना बताउँछिन् । ‘बत्ती आउने जाने समस्या निकै बढेको छ ।’ उनले भनिन्, ‘छिनछिनमा बत्ती आउनेजाने समस्याले मेसिनमा समस्या भएको छ ।’ ललितपुरमा रहेको एक बेकरी कारखानालाई पनि बिजुली ट्रिपिङको समस्याले निकै पिरोलेको सञ्चालक सुजन नेपालको गुनासो छ । ‘मेसिन तातेको हुन्छ, बत्ती जाने र आउने गरिरहँदा नोक्सानी झन् बढाएको छ,’ उनले भने । यता प्राधिकरणका प्रवक्ता भट्टराई भने ट्रिपिङको समस्या नरहेको दाबी गर्छन् । कहिलेकाहीं प्राविधिक समस्या भए पनि उद्योगीले भने जस्तो ट्रिपिङको समस्या नरहेको उनको भनाइ छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

ऊर्जा सम्बन्धी नेपालको पहिलो अनलाइन पत्रिका

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit