काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आइतबार सपथग्रहण गरेपछि उनले सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।
पदबहालीपछि राज्यमन्त्री खर्बुजाले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको पनि उल्लेख गरे ।
नेपाली काँग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेका थिए । यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई गत वैशाख १० गते प्रधानमन्त्री ओलीले पदबाट बर्खास्त गरेका थिए । सरकारको काममा असहयोग गरेको आरोपमा उनलाई बर्खास्त गरिएको थियो ।