विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
१२६ मेगावाटकाे तल्लाे सेती

काठमाडौँ । तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार भएको छ । कम्पनीले आयोजनाको इआइए प्रतिवेदन तयार गरि राय/सुझावसहित हालै विद्युत् विकास विभागमा पेश गरेको हो ।

इआइएमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन बुझाइएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । आयोजनाको जग्गा अधिग्रहण प्रक्रियासमेत अगाडि बढाइएको छ ।

आंशिक जलाशययुक्त तल्लो सेतीको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ ।

आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउन प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरिएको श्रेष्ठले बताए । जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्थाबमोजिम नेपाल सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण सुरु गरिने उनको भनाइ छ ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

पानीको प्रवाहलाई देवघाट गाउँपालिका ३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब ५०० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब २ किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ ।

आयोजनाका लागि लगानी सुनिश्चित गराउनसमेत पहल थालिएको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणमार्फत आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

आयोजना प्रमुख भण्डारीका अनुसार विसं २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो ।

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३