विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २२, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । निर्माण कम्पनी छनोट प्रक्रिया लामो समयदेखि अल्झेको तामाकोसी–५ जलविद्युत् आयोजनाको इलेक्ट्रो–मेकानिकल तथा प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीको छनोट गरिएको छ । उक्त लट–२ प्याकेजअन्तर्गतको कामका अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र मार्फत चीनको हाङझाउ जियाङहे हाइड्रोइलेक्ट्रिक साइन्स एन्ड टेक्नोलोजी कम्पनी लिमिटेड (एचजेएचएसटी) छनोट भएको हो ।

दोलखामा निर्माणाधीन ९९.८ मेगावाटको आयोजनाको लट–२ का लागि ठेक्का प्रक्रिया सुरु गरे पनि पहिलो पटक असफल हुँदा एक वर्ष त्यसै व्यतीत भएको थियो । दोस्रो पटक समेत झन्डै १ वर्ष गरी २ वर्षपछि ठेक्का प्रक्रिया टुङ्गोमा पुग्ने भएको आयोजना प्रवर्द्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक रामकुमार यादवले बताए ।

पहिलो प्रस्तावमा ६८ प्रतिशत बढी कबोल

इलेक्ट्रोमेकानिकल प्याकेजको ठेक्का लगाउन कम्पनीले पहिलो पटक २०८१ जेठ १७ गते अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको यादवले जानकारी दिए । पहिलाे पटक बोलपत्र पेस गर्न २०८१ साउन १४ गतेसम्मको समय दिइएकोमा २ पटक म्याद थपेर २०८१ कात्तीक १२ सम्म दिइयो ।

यसरी झन्डै ५ महिना समय दिँदा पनि जम्मा एउटा कम्पनी पावर चाइना झोङनान इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र चोङक्विङ वाटर टर्वाइन वर्क्स कम्पनी लिमिटेडको संयुक्त उपक्रम (झोङनान–सिडब्लुटिडब्लु जेभी) ले बोलपत्र दर्ता गरेको थियो । प्राविधिक मूल्याङ्कनमा छनोट भएको उक्त कम्पनीले २०८१ माघ ६ गते आर्थिक प्रस्ताव पेस गरेको थियो । 

यद्यपि, आयोजनाको स्वीकृत लागत भन्दा ६८.६१ प्रतिशत बढी लागत कबोल गरेपछि उक्त कम्पनीले समेत लट–२ को ठेक्का पाउन सकेन । र, पहिलो पटकको बोलपत्र प्रक्रिया नै असफल भएको थियो । यसरी दुई पटक गरेर ठेक्का प्रक्रियामै झन्डै २ वर्ष बित्न लागेपछि अब भने ठेक्का लाग्ने सुनिश्चितता देखिएको प्रबन्ध निर्देशक यादवको भनाइ छ ।

दोस्रो पटक ६ कम्पनीबीच प्रतिस्पर्धा

कम्पनीका अनुसार दोस्रो पटक एक महिनाको समय दिएर २०८२ कात्तिक २७ गते बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र पेस गर्नुपूर्वको छलफलमा भाग लिएका कम्पनीहरूको आग्रहमा बोलपत्र पेशगर्ने म्याद ३० दिन थप गरी २०८२ माघ १३ गतेसम्म पुर्‍याइएको थियो ।

उक्त बोलपत्र पक्रियामा ६ कम्पनीले प्रतिस्पर्धा गरेका थिए । ती मध्ये ‘हाङझोउ रिर्सोस पावर इक्विपमेन्ट कम्पनी लिमिटेड तथा झेजियाङ ओरियन्ट इन्जिनियरिङ कम्पनी लिमिटेडको संयुक्त उपक्रम एचआरपिई–एडओइसी जेभी’ र ‘हाङझाउ जियाङहे’ गरी २ कम्पनी प्राविधिक रूपमा छनोट भएका थिए । प्राविधिक रूपमा छनोट भएका कम्पनी मध्ये आर्थिक प्रस्तावको मूल्याङ्कमा भने हाङझाउ जियाङहे छनोट भएको हो ।

उक्त कम्पनीले कुल ५ अर्ब ३२ करोड ३७ लाख १२ हजार १२४ रुपैयाँको लागत कबोल गरेको छ । यो आयोजनाको स्वीकृत लागत ५ अर्ब ५३ करोड ७६ लाख १६ हजार ११३ रुपैयाँको ३.८६ प्रतिशत अर्थात् २१ करोड ३९ लाख ३ हजार ८८ रुपैयाँ कम हो ।

त्यस्तै, प्राविधिक प्रस्तावमा छनोट भएको अर्को कम्पनी एचआरपिई–एडओइसी जेभीले ६ अर्ब १३ करोड ५८ लाख ३६ हजार ६९ रुपैयाँको लागत कबोल गरेको थियो । जुन आयोजनाको स्वीकृत लागतभन्दा १०.८५ प्रतिशत अर्थात् ६० करोड ९ लाख १९ हजार ९५६ रुपैयाँले बढी हो ।

कम्पनीहरूले प्राविधिक प्रस्तावअन्तर्गत पेस गरेका योग्यताका कागजातको आधिकारिकता जाँच गर्न प्रमाणपत्र जारी गर्ने निकाय, अन्तिम प्रयोगकर्ता तथा स्वयं बोलपत्रदातासँग समेत स्पष्टीकरण माग गरिएको थियो । सम्बन्धित निकायबाट कम्पनीहरूले पेस गरेको विवरण सही रहेको आधिकारिक जानकारी प्राप्त भई कानुनी परामर्शपछि मात्र २०८२ चैत १२ गते ठेक्का प्राप्त गर्ने कम्पनीको छनोटको निर्णय गरिएको यादवले बताए ।

कम्पनी छनोट भएपछि चैत १३ गते सार्वजनिक ठेक्का सम्झौताका लागि आशयपत्र (एलओई) सम्बन्धी सूचना जारी गरिएको थियो । ‘अब भने छनोट भएको कम्पनीसँग सम्झौता भई ठेक्का प्रक्रिया अघि बढ्ने हामीलाई विश्वास छ,’ उनले भने, ‘कम्पनी छनोट भएको आशयपत्रको सूचना प्रकाशित भएको ७ दिनभित्र उक्त कम्पनीविरुद्ध कुनै उजुरी नपरेको अवस्थामा हामीले सम्झौताका लागि पत्राचार गर्ने छौँ, सम्झौता हुनासाथ लट–२ प्याकेजको निर्माण कार्य अघि बढ्ने छ ।’

बोलपत्रदाता मध्ये कसैलई उक्त निर्णयउपर चित्त नबुझे सार्वजनिक खरिद ऐन २०६३ को दफा ४९ अनुसार आशयपत्रको सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र पुनरावलोकन समिति समक्ष उजुरी गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।

‘एक वर्षमात्र ढिलो भए १२ अर्बको क्षति’

आयोजना १ वर्षमात्र पनि ढिलो हुँदा प्राप्त हुने बिजुली र अन्य दायित्वबापत झन्डै १२ अर्ब रुपैयाँको नोक्सानी राज्यलाई हुने भएकाले चाँडो कार्यान्वयनमा लैजानुपर्ने यादवले बताए ।  ‘लट–२ को काम पनि समयमा नभए सिभिल संरचना निर्माण गर्ने कम्पनीले समयमा काम सक्न गाह्रो पर्छ,’ उनले भने, ‘त्यसपछि उसले पनि क्षतिपूर्ति दाबी गर्ने अवस्था बने यो कम्पनी आर्थिक समस्यामा पर्ने अवस्था आउन सक्छ ।’

यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी मार्फत निर्माण भइरहेको छ, जुन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड हो । हाल आयोजनाको लट–१ प्याकेजअन्तर्गत सिभिल संरचना निर्माणका काम भइरहेका छन् ।

कम्पनीका अनुसार हालसम्मको भौतिक प्रगति करिब २२ प्रतिशत पुगिसकेको छ । आरसिओडी (विद्युत् उत्पादनको निर्धारित मिति) २०८५ असार तय गरिएको छ । उक्त समयावधिभित्र सबै काम पूरा गर्ने गरी काम भइरहेको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३