विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
प्राधिकरणका उत्कृष्ट विद्युत् ग्राहक सम्मानित

सुर्खेत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अरबको खाडी श्रम बेचेर देश कहिल्यै धनी नहुने बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘विद्युतीकरण गाउँगाउँमा पुर्‍याउनुपर्छ,’ उनले भने, ‘विद्युत् नपाएका ग्राहकले पाउनुपर्छ र उद्योग–धन्दामा लाग्नुपर्छ ।’ 

उनले यहीँको माटोमा श्रम गर्नुपर्नेमा जोड दिए । ‘बिजुली सबैभन्दा महत्त्वपूर्ण र सस्तो कच्चा पदार्थ हो,’ उनले भने, ‘नेपाल जस्तो देशमा मात्रै होइन, युरोप अमेरिकामा पनि ऊर्जा अर्थतन्त्रको सबै भन्दा ठूलो ड्राइभर हो । त्यसैले हामीले ऊर्जामा जोड दिनुपर्छ ।’ 

शाक्यले आफ्ना उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत् आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरूको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियान कोसी प्रदेशबाट सुरुवात गरेको भन्दै अहिले कर्णालीसम्म आइपुगेको पनि जानकारी दिए । 

‘गत जेठमा कोसी प्रदेशबाट सुरु गरेको यो अभियान मधेस प्रदेश, गण्डकी हुँदै कर्णालीमा सम्पन्न भएको छ,’ उनले भने, ‘उद्योगी–व्यवसायीसँग नेपाल विद्युत् प्राधिकरण नकारात्मक नभएको र हाम्रा इमानदार ग्राहकलाई अन्याय गर्नुहुँदैन, सम्मान गर्नुपर्छ भनेर यो अभियान सुरुवात गरिएको हो ।’ उनले अभियानले प्राधिकरणलाई ग्राहकमुखी भएर सोच्न बाध्य बनाएको र त्यसले थप अघि बढ्न प्रेरणा मिलेको उल्लेख गरे । 

शाक्यले प्राधिकरणको मुख्य स्रोत नै उपभोक्ता भएको भन्दै विद्युत् उपयोग गर्ने उपभोक्ताले उत्पादनमुखी काम गरेर अर्थतन्त्रमा टेवा दिएको उल्लेख गरे । ‘एक रुपैयाँको बिजुली प्रयोग गरेर उपभोक्ताले त्यसको ४/५ गुणा बढी उत्पादन गर्नुभएको हुन्छ र त्यही अनुसारको योगदान मुलुकको अर्थतन्त्रमा दिइरहनु भएको हुन्छ,’ उनले भने, ‘रोजगारीको सिर्जना त्यहीँबाट हुन्छ र त्यसले हामी सबैको जीवनस्तरमा सुधार गरेको हुन्छ ।’ 

त्यसले प्राधिकरण मात्रै नभई राज्यको अर्थतन्त्रमा पनि ठूलो योगदान  भइरहेको उल्लेख गरे । ‘त्यसैले हामीले त्यो योगदानको सम्मान गर्न खोजेको हो,’ उनले भने, ‘यो सम्मानलाई संस्कारका रुपमा पनि अघि बढाउन खोजेका हौँ ।’ शाक्यसँगै कर्णाली भ्रमणमा रहेका प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले प्राधिकरणका तर्फबाट कर्णाली प्रदेशमा गर्नुपर्ने काम अझै धेरै छ भन्दै कर्णाली प्रदेशमा अझै भरपर्दो बिजुली दिन नसकिरहेको उल्लेख गरे । ‘ग्राहकको मन अझै जित्न सकेका छैनौँ,’ उनले भने, ‘हामी जतिसक्दो छिटो कर्णाली प्रदेशमा भरपर्दो बिजुली दिन लागि परेका छौँ ।’ 

प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभूषण साहले कार्यकारी प्रमुख नै कर्णाली आएर उनको हातबाट कालोसूचीमा नपरेका र सबैभन्दा बढी विद्युत् खपत गर्ने १० उत्कृष्ट ग्राहकलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताए । उनले कार्यकारी निर्देशकको निर्देशन अनुसार अब करिब १ लाख ८० हजार ग्राहक रहेको कर्णाली प्रदेशका १० वटै विद्युत् केन्द्रबाट पनि उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कामको थालनी गर्ने जानकारी दिए ।

सम्मानित हुने उत्कृष्ट १० उद्योगी तथा व्यवसायीको तर्फबाट बोल्दै केशव बुढाथोकीले आफूहरूले लामो समयदेखि भोल्टेज कम र अघोषित लोडसेडिङको समस्या भोग्न बाध्य भएको भन्दै नियमित विद्युत् आपूर्तिको व्यवस्थाका लागि भरपर्दो पहल गरिदिन आग्रह गरे ।

 १३२ केभी प्रसारण लाइन १५ दिन भित्र सञ्चालनमा ल्याउन निर्देशन 

कार्यकारी निर्देशक शाक्यले १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औद्योगीकरण सुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने पनि दाबी गरे ।  कर्णालीको निरीक्षण भ्रमणकै क्रममा उनले कोलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दै यस्तो बताएका हुन् । 

कर्णालीमा १३२ केभी प्रसारण लाइन पहिलो पटक सञ्चालनमा आउन लागेको हो । ‘कर्णाली कति पछाडि परेको छ भन्ने कुराको बोलीले भन्दा पनि प्रमाणले भन्ने हो भने हेर्नुहोस् त १३२ केभी प्रसार लाइन अहिलेसम्म आएको छैन,’ उनले भने, ‘यो भन्दा ठूलो प्रमाण के हुन्छ ? पुरै कर्णालीमा १३२ केभी प्रसारण लाइन अब बढीमा १५ दिन भित्रमा सञ्चालनमा आउँछ ।’ उनले ढिलामा १५ दिन भित्र उक्त प्रसारण लाइन सञ्चालनमा ल्याउन निर्देशन समेत दिए । 

‘त्यसपछि यहाँ सबैभन्दा बढी बिजुली उद्योगधन्दामा उपभोग हुने र अर्को वर्ष ती ठूला औद्योगिक ग्राहकलाई सम्मान गर्न पाइनेमा ढुक्क छु,’ उनले भने । उनले आफू २०६६ सालदेखि निरन्तर कर्णालीमा आइरहको भन्दै सुर्खेत विमानस्थलमा ओर्लिँदै गर्दा ती पुराना दिनका याद आएको पनि उल्लेख गरे । 

शाक्यले सुर्खेतको निर्माणाधीन स्वचालित सब–स्टेसन नजिकै प्रमुख राजमार्ग छेउको टावर नजिकै रहेको र प्राधिकरणले अधिग्रहण गरेको जग्गामा उक्त राजमार्गमा प्रयोग गर्ने विद्युतीय सवारीलाई सहज हुने गरी चार्जिङ स्टेसन प्रयोगका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिए । 

आयोजनाका प्रमुख रविकुमार चौधरीले पनि कोलपुर–सुर्खेत खण्डको काम अन्तिम चरणमा रहेको भन्दै शाक्यको निर्देशन अनुसार अबको १५ दिनभित्र यो लाइन चार्ज गर्न सफल हुने प्रतिबद्धता व्यक्त गरे । 

‘सुर्खेत–दैलेख खण्डको काम पनि तीव्र गतिमा अघि बढेको छ,’ चौधरीले भने, ‘अर्को वर्षभित्र दैलेखसम्म पुग्ने छ ।’ चौधरीले करिब ७५ करोडमा निर्माण भएको सबस्टेसन तयारी अवस्था रहेको र करिब ६५ करोमा निर्माण भएको तर प्रसारण लाइनका दुई स्पान तार तानेर परीक्षण गर्न बाँकी रहेको बताए ।

शाक्यले कर्णाली प्रदेशका १० वटै विद्युत् केन्द्रका प्रमुखसँग उनीहरूको प्रगति विवरण, त्यहाँको समस्या र समाधानका उपायसँग केन्द्रित भएर छलफल पनि गरेका थिए । उनले आफ्ना गुनासा र समस्या सुनाउँदा लिखित र योजनासहित समस्याको पहिचान गरी समाधानको उपाय खोज्ने गरी ल्याउन समेत सुझाव दिए ।

सम्मानित उद्योगी–व्यवसायी

गुनाइडोङ युनटाइन रमा जेभी क्रसर (सुर्खेत), खलङ्गा सितलपार्टी खानेपानी उपभोक्ता समिति (सल्यान), शुभघाट सहरी खानेपानी (सुर्खेत), विजयी श्री चौरजहारी सुखा खानेपानी तथा सरसफाइ (रुकुम पश्चिम), वीरेन्द्रनगर औद्योगिक क्षेत्र सुर्खेत, शंखमुल ग्रामीण विद्युत् लुहाम बजार (सल्यान), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला), सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३