काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाइएको हो ।
नयाँ मूल्य समायोजन अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर ३, डिजेल/मट्टितेलमा प्रतिलिटर ५ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर २० रुपैयाँले वृद्धि गरिएको छ । निगमका अनुसार पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज) मा पेट्रोल प्रतिलिटर १९७.५० र डिजेल/मट्टितेल १९७.५० कायम भएको छ । दोस्रो वर्गका क्षेत्रहरू (सुर्खेत र दाङ) मा पेट्रोल रु. १९९ र डिजेल/मट्टितेल १९९ रुपैयाँ पुगेको छ । तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २०० र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २०० पुगेको छ ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर १६९७ अमेरिकी डलर कायम गरिएको छ । पोखरा र भैरहवाको लागि लागत बराबरको बिन्दुका आधारमा क्रमशः १२२२ र १२३७ अमेरिकी डलर मूल्य तय गरिएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर रु. २०६० मै यथावत् राखिएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएकाले सीमित मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने निगमले उल्लेख गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २०.१९, डिजेलमा ३९.६७ र हवाई इन्धनमा १९.०६ रुपैयाँले मूल्य बढेर आएको निगमले जनाएको छ ।
यो विषम परिस्थितिमा इन्धनको खपतमा मितव्ययिता अपनाउन निगमले सम्पूर्ण उपभोक्ता तथा सरोकारवालाहरूलाई अनुरोधसमेत गरेको छ ।