विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । सगरमाथा आरोहीको गाउँको नामले चिनिने दोलखाको बेदिङमा विद्युतको केन्द्रीय लाइन विस्तार भएको एक वर्ष नपुग्दै हरेक घरमा विद्युतीय चुलो पुगेको छ । गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ क्षेत्रमा पर्ने बेदिङ गाउँ दोलखाको मुख्य पर्यटकीय क्षेत्र समेत हो ।

वडा अध्यक्ष निमगेली शेर्पा आफैंले बेदिङसम्म पुगेर हरेक घरलाई पानी तताउने एउटा कित्ली र चुलो वितरण गरेका छन् । रोल्वालिङ पदमार्गमा पर्ने सुर्मुचे, क्याल्चे, डोङाङ, थाङदिङ र बेदिङका हरेक घरलाई पुग्ने गरी ४० वटा विद्युतीय चुलो वितरण गरिएको वडा अध्यक्ष शेर्पाले जानकारी दिए ।

बेदिङका हरेक घरका शेर्पाहरू सगरमाथा आरोहण गरेका र टे«किङमा जाने हुँदा बेदिङलाई सगरमाथा आरोहीको गाउँको रूपमा चिनिन्छ । स्थानीय होटल व्यवसायीले घरायसी इन्धनको रूपमा दाउरा र ग्यास प्रयोग गर्दै आएका छन् । विगू गाउँपालिका–१ छ्योतछ्योतदेखि बेदिङसम्म ढुवानीका लागि प्रतिकेभी १२० रुपैया खर्च गर्दा एउटा ग्यास बेदिङ पु¥याउँदा ५ हजार ५ सय रुपैयाँ पर्छ ।

भौगोलक रूपमा अत्यन्तै विकट मानिने गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ उपत्यकामा पर्ने बेदिङ गाउँमा एक वर्षअघि मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको थियो । विद्युत लाइन र विद्युतीय चुलो भएपछि पर्यटन व्यवसायी र स्थानीयले समेत राहत पाउने भएका छन् । दुर्गम भएर पनि गाउँभरि नै विद्युतीय चुलो पाउने बेदिङ दोलखाकै पहिलो गाउँ भएको छ ।

विद्युतीय चुलोका लागि सिनर्जी पावर लिमिटेडले सहयोग गरेको हो । सिनर्जीले पावरले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजना यही वडामा सञ्चालन गरिरहेको छ । रोल्वालिङ क्षेत्रमा २१ वटा होटेल छन् । पर्यटकीय क्षेत्रमा बाहिरबाट तरकारी ल्याउन नपरोस् भनेर हरेक होटेललाई प्लाष्टिक टनेल र तरकारीको बीउसमेत वितरण गरिएको छ ।

चुलो पाए, चलाउन पाएनन्

रोल्वालिङ उपत्यका र रोल्वालिङ हिमश्रृखलाको फेदमा रहेको बेदिङ ३८०० मिटर उचाइमा छ । च्छोरोल्पा हिमताल र रोल्वालिङ क्षेत्र दोलखाको प्रमुख पर्यटकीय क्षेत्रसमेत हो । यही क्षेत्रका घरवालाले विद्युतीय चुलो पाए तर विद्युतको समस्याले चुलो भने चलाउन पाएका छैनन् । चुलो पाएको दिनदेखि नै विद्युत लाइन बिग्रेका कारण चुलो चलाउन नपाएको स्थानीय बुलेन्द्र आचार्यले बताए ।

विद्युत प्राधिकरणले छ्योतछ्योतदेखि बेदिङसम्म २५ किलोमिटर लामो ११ केभी प्रसारण लाइन विस्तार गरेको छ । प्राधिकरणका अनुसार लामो प्रसारण लाइन र जंगलको बाटो भएकाले हावाहुरीका कारण रुख ढलेर लाइन बिग्रेको छ । लाइन बिग्रेपछि सिंगटीबाट मर्मतका लागि २ दिनदेखि ३ दिन लगाएर कर्मचारी जानुपर्ने अवस्था रहेको प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । 

बेदिङसम्म विद्युत पुर्याउन गत वर्ष प्राधिकरणले २ करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो । पर्यटन पदमार्गमा पर्ने होटेल व्यवसायीलाई लक्षित गर्दै सुर्मुचेमा १५ केभिए र क्याल्चेमा २५ केभिएको  ट्रान्सफर्मर जडान गरी विद्युत उपल्ब्ध गराइएको छ ।

बेदिङमा गुम्बा र लामा पढाउने विद्यालयसमेत छ । त्यसमा समेत विद्युतीय चुलो ठूलो क्षमताको लाग्ने भएकाले त्यसलाई समेत पुग्ने गरी ठूलो क्षमताको ट्रान्सफरमर राखेर भरपर्दो सेवा दिने प्राधिकरण प्रमुख ढकालले जानकारी दिए । बेदिङभन्दा माथिल्लो गाउँ नामा समेत डिभिजन सिँचाइ कार्यालय र गौरीशंकर गाउँपालिकाले सोलार प्लान्टमार्फत विद्युतीकरण गर्ने तयारी गरेको छ ।

पर्यटकहरू ५ हजार मिटरको उचाइबाट टासिलाप्चा पास गरेर सोलुखुम्बुको नाम्चे पुग्ने गरेका छन् । ५ वर्षअघि नेपाल टेलिकमले सञ्चार सुविधाका लागि टावर राखेपछि मोबाइल सेवा सञ्चालनमा छ । विद्युतको केन्द्रीय प्रसारण लाइनसमेत पुगेपछि रोल्वालिङ क्षेत्र जाने पर्यटकहरूका लागि सञ्चार र विद्युतको समस्या हल भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit