विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल-बंगलादेश छैटौँ जेएससी बैठक सम्पन्नसँगै तेस्रो देशमा विद्युत् निर्यातको ढोका खुल्यो

काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट जलविद्युत् आयात गर्ने विषयमा लामो समयदेखि छलफल र वार्ता हुँदै आएकोमा अन्तत: यसमा त्रिपक्षीय सम्झौता हुने भएको छ । नेपाल, बंगलादेश र भारतीय व्यापार कम्पनीबीच सम्झौता हुने तय भएको हो ।

नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी-जेएससी) को आज (असोज १६ गते) सम्पन्न छटौँ बैठकले उक्त विद्युत् व्यापार सम्झौतामा भोलि त्रिपक्षीय सम्झौता गर्ने टुङ्गो लगाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पावर सेल्स एग्रिमेन्ट (पीएसए) नाम दिइएको सम्झौतामा नेपालका नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच हस्ताक्षर हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य तथा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हविबुर रहमानको सह-अध्यक्षतामा सम्पन्न बैठकले बंगलादेशमा विद्युत् निर्यातलगायत आधा दर्जन निर्णयहरू गरेको छ । असोज १५ गते दुवै देशका सहसचिव सम्मिलित संयुक्त कार्य समूह (जेडब्लूजी) को बैठकले गरेका सिफारिसमाथि छलफल गरी विद्युत् निर्यात तथा सुनकोशी-३ जलाशय जलविद्युत् आयोजना नेपाल, भारत र बंगलादेशको सहकार्यमा निर्माण गर्न थप प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको छ ।

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् व्यापारको शुरूवातमा भोलि हस्ताक्षर हुन लागेको मन्त्रालयका प्रवक्ता समेत रहेका ऊर्जा महाशाखाका सहसचिव चिरञ्जीवी चटौतले बताए । उनका अनुसार नेपाल-बंगलादेश अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी-३ को निर्माण र विकास गर्ने तथा अन्तर्देशीय विद्युत् आयात-निर्यात गर्ने लगायतका विषयमा छलफल भएको छ ।

यसैगरी, छलफलका क्रममा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बंगलादेशले खरिद गर्ने सम्बन्धमा बीपीडीबी र जीएमआर इन्डियाबीच हुने पीएसएका विषयमा समेत बंगलादेशले जानकारी गराएको मन्त्रालयले जनाएको छ । यसअघि २०८० जेठ १ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चटौत तथा बंगलादेशका विद्युत्, ऊर्जा तया खनिज मन्त्रालयका अतिरिक्त सचिव डा. साइद मासुम अहमद चौधरीको सहअध्यक्षतामा बसेको जेडब्लूजीको छटौँ बैठकले अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी-३ को निर्माण र विकास गर्ने तथा अन्तर्देशीय विद्युत् आयात-निर्यात गर्ने लगायत विषयमा छलफल गरी निर्णयका लागि जेएससीलाई सिफारिस गरेको थियो ।

नेपाल र बंगलादेशबीच २०७५ भदौ २ गते अर्थात् १० अगष्ट २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यका लागि सम्पन्न समझदारी (एमओयू) को दफा ५ अनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवम् यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय समिति (जेएससी) तथा सहसचिवस्तरीय कार्य समूह (जेडब्लूजी) गठन गरिएको थियो ।

बैठकले गरेका निर्णयहरू

१. नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गर्नका लागि असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसि विद्युत् व्यापार निगम, भारतबीच पीएसएमा हस्ताक्षर गर्ने ।

२. सुनकोशी-३ जलविद्युत् आयोजना नेपाल, बंगलादेश र भारतबीच सहकार्यपूर्ण सहभागीताका आधारमा विकास गर्ने र उक्त आयोजना विकास गर्ने सम्बन्धमा विद्युत् प्राधिकरण र बीपीडीबीबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौता (जेभीए) मा अर्को बैठक अगाडि टुङ्गो लगाउने । साथै, सुनकोशी-३ बाट उत्पादित विद्युत् भारत हुँदै बंगलादेशसम्म पुर्‍याउन सुनिश्चितताका लागि भारत सरकारलाई अनुरोध गर्ने ।

३. नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने ।

४. नेपालको जलविद्युत् क्षेत्रमा लगानीको प्रवर्द्धन गर्नका लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गर्ने ।

५. वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) र दिगो तथा नवीकरणीय ऊर्जा विकास प्राधिकरण (एसआरईडीए), बंगलादेशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) लाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिने र हस्ताक्षर गर्ने ।

६. नेपाल, बंगलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायत विद्युत् क्षेत्रमा सहकार्य गर्नका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ-आफ्नोतर्फबाट पहल गर्ने ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३