काठमाडौँ । विश्व बैंकले आर्थिक वर्ष २०२४ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । खास गरी पर्यटन क्षेत्रको गतिविधिमा आएको सुधार र जलविद्युत्काे निर्यात बढ्दा सो वृद्धि नेपालले प्राप्त गर्ने अनुमान बैंकले गरेको हो । बैंकको अर्धवार्षिक प्रकाशन ‘कन्ट्री डेलभपमेन्ट अपडेट’ का अनुसार यो वर्ष रेमिट्यान्सभा देखिएको उल्लेख्य वृद्धिले पनि निजी उपभोग समेत बढ्ने अनुमान गरेको छ ।
‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षकमा बैंकले तयार पारेका नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक वर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार देशको सुस्त वृद्धिका कारण विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने भन्दै बैंकले उक्त वृद्धि दर प्राप्तिलाई चुनौतीपूर्ण मानेको छ । ४.६ प्रतिशतको आर्थिक वृद्धि दर प्राप्त गर्न व्यावसायिक वातावरणमा सुधार गरी धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुने बैंकले उल्लेख गरेको छ ।
‘पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण छन्,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भने ।
बैंकका अनुसार नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रुपमा तयार गरिएको हो । यसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकहरुले व्यहोर्नुपरेका नीतिगत चुनौतिहरुको विश्लेषण गर्छ ।
‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को यस संस्करणले विश्वका कुनै पनि उदाउँदा बजार र विकासशील मुलुकहरूमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ, जुन् सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । तर प्रतिवेदनले यो दृष्टिकोण (अनुमान) झुक्काउने खालको पनि हुन सक्ने जनाएको छ । धेरै मुलुकहरूको वृद्धि अझै पनि महाव्याधि पूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ । यसै समय, सबै दक्षिण एसियाली मुलुकमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ । यस क्षेत्रले तिव्र रुपमा बढ्दो काम गर्ने उमेरको जनसंख्याका लागि पर्याप्त जागिरहरू सिर्जना गर्न सकेको छैन ।
‘आफ्नो जनसांख्यिक लाभलाई पूर्ण रुपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएकोले अवसर गुमेको छ,’ दक्षिण एसियाका लागि विश्व बैंकका प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्न्सोर्जले भनिन्, ‘यदि यो क्षेत्रले अन्य उदाउँदा बजारहरू र विकासशील अर्थतन्त्रहरूले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो ।’
खुला व्यापार नीतिलाई प्रोत्साहन, व्यावसायिक वातावरण र संस्थाहरूको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार, महिला अधिकारको कानुनी संरक्षण जस्ता कार्यमा सुधार गर्न सके रोजगारी सिर्जना र वृद्धिदर अझ बढ्न सक्ने सुझाव बैंकले दिएको छ । यी उपायहरूले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीको लागि आधार तयार गर्न सहयोग पुर्याउने उल्लेख छ ।