विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एक्सपर्ट हाइड्राे इन्टेष्टमेन्ट प्रालिले रुकुमपूर्वमा निर्माणका लागि प्रस्ताव गरेको ४४‍.५२ मेगावाटको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । करिब ९ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्वपुँजी लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । 

आयोजनामा बैंकको ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा सोमबार एक समारोहका बीच एक्पर्ट हाइड्रोका प्रबन्ध निर्देशक सन्तोसराज नेपाल र नेतृत्वकर्ता सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा ५ वाणिज्य बैंकहरूले ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । यसमा सिटिजन्स बैंकले २ अर्ब ५० करोड, नबिल बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, सानिमा बैंकले १ अर्ब र सिद्धार्थ बैंकले १ अर्ब रुपैयाँ सहवित्तीयकरणमा लगानी गर्ने भएका हुन् ।

प्रवर्द्धक कम्पनीका प्रबन्ध निर्देशक नेपालले आयोजनाले ऊर्जा क्षेत्रको विकाससँगै सशक्तीकरणमा योगदान गर्ने र रुकुमपूर्वको आर्थिक समृद्धि र दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । 

उनका अनुसार सानीभेरी नदीमा आधारित आयोजना रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४ र सिस्ने गाउँपालिका–२ मा निर्माण हुने छ । आयोजनाले २०७९ माघ १२ गते विद्युत् उत्पादन अनुमति पाइसकेको छ । २०८० असार २७ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० भएको छ । आयोजनाको निर्माण ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण सकिएपछि आयोजनाले पहिलो वर्ष प्रतिमेगावाट ३ करोड ८३ लाख रुपैयाँ आम्दानी गर्ने र आठौँ वर्षसम्ममा वार्षिक आम्दानी ४ करोड ८० लाख पुग्ने अनुमान गरिएको छ । हालसम्म हेडवर्क्स तथा विद्युत्‌गृहका लागि आवश्यक जग्गा खरिद, स्थानीय बासिन्दाको पुनर्वास, पहुँच मार्ग निर्माण, विस्फोटक पदार्थ भण्डारण बंकर तथा सुरक्षाका लागि नेपाली सेनाको आवासको अनुगमन सकिएको छ । 

आयोजनाले उत्पादन गर्ने बिजुली बाँफीकोट सबस्टेसनमा जोडिने छ । यसका लागि २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि कम्पनीले सर्वेक्षण अनुमति प्राप्त गरी वातावरणीय अध्ययनको प्रक्रिया अघि बढाइरहेको प्रबन्ध निर्देशक नेपाले जानकारी गराए । 

कसले के भने ? 

वित्तीय व्यवस्थापन समारोहका प्रमुख अतिथि पूर्व मन्त्रीसमेत रहेका सांसाद जनार्दन शर्माले चीनले चन्द्रमाबाट हिलियम ल्याउने प्रक्रिया सुरु गरिसकेको र समुद्रको ११ किलोमिटरमुनिबाट ऊर्जाको स्रोत खोजिरहेको बताउँदै नेपालले प्राकृतिक रूपमा प्राप्त जलस्रोतको उपयोगगरी सकेसम्म छिटो विद्युत् उत्पादन गरी प्रयोगमा ल्याउनुपर्ने बताए ।

‘हामी स्रोत भएर पनि गरिब छौँ,’ उनले भने, ‘कर्णाली सुनको डल्लो हो तर हाम्रा नाककान बुच्चै छन् ।’ उनले राजनीतिक नेतृत्वले गर्न चाहे सबै काम संभव हुने भन्दै आफूले लोडसेडिङ अन्त्य गर्ने प्रस्ताव गर्दा कसैले नपत्याएको तर आखिरमा त्यो संभव भएको बताए ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा। रामप्रसाद धितालले युवा समूहले अघि बढाएको आयोजना समयमै निर्माण सम्मन्न हुने विश्वास व्यक्त गरे । पँुजी बजारबाट लगानी उठाउँदा त्यसको भार सबै सेयर लगानीकर्तामा पर्ने भएकोले आयोजना समयमै सम्पन्न गर्नुपर्ने र यसमा आयोगको सहयोगी भूमिका रहने बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजना चाँडो निर्माण हुने अपेक्षा गर्दैगर्दा प्राधिकरणले निर्माण अघि बढाएको बाफिकोट–खुङ्ग्री १३२ केभी डबल सर्किट प्रसारण लाइन र बाफिकोट सबस्टेशन चाँडो सम्मन्न गर्नुपर्ने दबाव प्राधिकरणलाई समेत रहेको बताए । उनले नेपालको जलस्रोतबाट विद्युत् उत्पादनमा ढिलो गरिए ऊर्जाका नयाँ स्रोतहरू आएर यसलाई असान्दर्भिक सावित गरिदिने खतरा समेत रहेकोले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । 

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्र देशका ३ मुख्य क्षेत्रभएकोले यी तीनै मिलेर अघि बढे देश विकास तथा ऊर्जा विकास संभव रहेको धारणा व्यक्त गरे ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले सरकारले पिपिए खोले १० वर्षभित्रै सबै आयोजना निर्माण सक्ने क्षमता निजी क्षेत्रसँग भएको दाबी गरे । 

वित्तीय व्यवस्थपन कार्यक्रममा सहवित्तीयकरण लगानीका नेतृत्वकर्ता सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई आयोजनाले सहयोग गर्ने बताए । निजी क्षेत्रबिना देशको ऊर्जा विकास संभव नहुने भन्दै उनले आयोजनाको रुकुमपूर्वका साथै समग्र नेपालकै आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३