रसुवा । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत उक्त सेजा प्रदान गरिएको हो ।
आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी (एनडब्लुइडिसी) प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिन ल ले चैत्र १८ गते सोमबारको दिन हाकुमा आयोजित एक कार्यक्रमकाबीच एम्बुलेन्सको चाबी गाउँपालिका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे ।
विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरी लगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको जनाइएको छ । सो एम्बुलेन्स आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोष्टले सञ्चालन गर्नेछ । आयोजनाका अनुसार प्रभावित क्षेत्र उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गरिनेछ ।
हेस्थ पोष्टले सञ्चालन गर्ने एम्बुलेन्सबाट आयोजना प्रभावित क्षेत्रका बिरामी तथा घाइतेलाई समयमै अस्पतालसम्म पुर्याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कम्पनीका सिइओ बायोङ सु मिनले प्रभावित क्षेत्रका बिरामी र दुर्घटनाका घाइतेलाई अस्पताल पुर्याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोत–साधन सम्पन्न एम्बुलेन्स प्रदान गरिएको बताए । ‘आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिई उपलब्ध गराइएको एम्बुलेन्सबाट बिरामीलाई समयमा स्वास्थ्य सेवासम्म पुर्याउन एउटा कोशे ढुङ्गा हुने विश्वास लिइएको छ,’ उनले भने ।
यसैगरी, गाउँपालिका अध्यक्ष तामाङले विकास आयोजनाहरू स्थानीयसँगको सहकार्य र समन्वयमा सञ्चालन गरिएमा मात्र सफल हुने बताए । ‘आयोजनाबाट प्राप्त हुने लाभको पहिलो हकदार प्रभावितहरू हुने भएकाले सोही बमोजिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘एम्बुलेन्सबाट विकट एवम् दुर्गम भेगका बासिन्दालाई आधुनिक स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।’
सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिएको मापदण्डबमोजिम एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । एम्बुलेन्स आयातमा लाग्ने राजस्व सरकारबाट छुट प्राप्त भएको छ । राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
आयोजनाका अनुसार हालसम्म प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत करिब १७ करोड रुपैयाँ खर्च गरिसकेको छ । एसएसपी, संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जर्गेना, राहात वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धिलगायत कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ ।
कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा उक्त गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायत संरचनाहरू निर्माणाधीन छन् । उत्पादित विद्युत्् आन्तरिक खपतका लागि प्रयोग हुने यो एफडिआईमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
प्रवर्द्धक कम्पनीका अनुसार आयोजनाको मुख्य निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायत संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको जनाइएको छ ।
इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले आयोजनाको निर्माण अगाडि बढाइरहेको छ । प्रवर्द्धक एनडब्लुइडिसीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी (इक्विटी) छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
कूल ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) लागत अनुमान रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । कूल वार्षिक ऊर्जा मध्ये ३८.७५ प्रतिशत हिउँद र ६१.२५ प्रतिशत वर्षामा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३‘बी’ हब सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । कम्पनी र प्राधिकरणबीच यसअघि नै विद्युत्् खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ ।
काठमाडौँ लोड सेन्टरबाट नजिक र विद्युत्को अधिक माग हुने हिउँदमा १०४ मेगावाट विद्युत्् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । यसबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने आयोजनाको निर्माण २०८३ साल मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य छ ।