काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको काम ९७ प्रतिशत पूरा भएको छ । दोर्दी खाेला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह सबै क्षेत्रको काम एक साथ भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेपनि गत असार १ गते आएको बाढीले आयोजनाको डिसान्डरको सुरक्षित पर्खाल, स्टिलीङ बेसीनमा क्षति पुर्याएको थियो । अहिले बाँधको सुरक्षित पर्खाल बनाउने काम भइरहेको छ ।
गत जेठमा पूरा भएको २.५ किलोमिटर मुख्य सुरुङको ढलान गर्ने, सफा गर्नेलगायत फिनीसिङको काम सकिएको छ । अहिले अन्तिम चरणको छुटेको काम भइरहेको छ । ७१५ मिटर लामो पेनस्टक पाइप जडानको काम पनि सकिएको छ ।
विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको थियो, तर गत असारमा आएको बाढी पसेर मेसिन हलनै ढुवानमा परेको थियो । बाढीले विद्युतगृहमा पुर्याएको क्षतीको पुनः निर्माण गर्ने काम सकिएको छ ।
आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको असरले आयोजना धकेलिएको छ । साथै, गत असारमा आएको बाढी पहिरोले आयोजनामा क्षति पुग्दा उत्पादन तालिका पछि सरेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३.५ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको छ । प्रसारण लाइनको आवश्यक १५ वटा टावर ठड्याएसकिएको पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रुख कटान गरि तार तान्ने काम भइरहेको छ ।
आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।