विद्युत अपडेट

  • प्राधिकरण : ६२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६२७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०१७७ मे.वा.घन्टा
  • आयात : ४७५३ मे.वा.घन्टा
  • निर्यात : ९८ मे.वा.घन्टा
  • ट्रिपिङ : ३५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८०५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७७ मे.वा.
२०८२ माघ ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौंँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका घरपरिवारलाई स्वरोजगारयुक्त बनाउन सीपमूलक तालिम सुरु गरेको छ । पहिलो चरणमा राम्चे, कालिकास्थानलगायत गाउँका ४० जना प्रभावितलाई तालिम दिन थालिएको हो ।

आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको तालिम मंगलबार वडा नं १ कार्यालयमा औपचारिक उद्घाटन गरियो । प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भाव्यताको आधारमा २० जनालाई केयर गिभर र २० जनालाई होटल सञ्चालनसम्बन्धी तालिम दिन सुरु गरिएको आयोजनाले जानकारी दिएको ।

यसैगरी, आगामी दिनमा प्रभावित पालिका अन्य वडाहरूमा समेत क्रमशः तालिम कार्यक्रम विस्तार गर्दै लैजाने योजना छ । यस कार्यक्रममार्फत प्रभावित समुदायका करिब ३७० जनालाई सीपमूलक तालिम दिने लक्ष्य रहेको छ ।

उद्घाटनका क्रममा गाउँपालिका वडा नं.१ का अध्यक्ष दावा तामाङले मागमा–आधारित र वडास्तरमै सञ्चालित तालिमबाट स्थानीयको आर्थिक उपार्जनमा ठूलो मद्दत पुग्ने बताए । यसबाट स्थानीयस्तरमै दक्ष जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै तालिम अवधिभर सक्रिय सहभागिता जनाई सिकेको सीप व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे ।

कार्यक्रममा प्रवर्द्धक कम्पनीका प्रमुख सञ्चालन अधिकृत सङ्घी माले सीपमूलक तालिममार्फत प्रभावित घरपरिवारको सामाजिक तथा आर्थिक अवस्था सुदृढ बनाउन आयोजना प्रतिबद्ध रहेको बताए । ‘आयोजनाको सामुदायिक सहयोगबाट प्रभावित पालिकालाई एम्बुलेन्स उपलब्ध गराउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना सञ्चालन भएको छ,’ उनले भने, ‘यस कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति संरक्षण, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन अभिवृद्धि लगायतका क्षेत्रमा निरन्तर सहयोग भइरहेको छ ।

सन् २०१८ मा गरिएको माग–आधारित मूल्याङ्कन आधारमा प्रभावित क्षेत्रमा सञ्चालन गरिने विभिन्न तालिम कार्यक्रम तय गरिएको थियो । अद्यावधिक घरधुरी सर्वेक्षण, द्रुत बजार मूल्याङ्कन तथा स्थानीय माग विश्लेषणका आधारमा हाल तालिम कार्यक्रमहरू परिमार्जन गरिएको छ ।

प्रारम्भिक बाल विकास सहजकर्ता मेसन, वेटर, बेकरी, कुक, सिलाइकटाइ, ब्युटी पार्लर, हाउसकिपिङ लगायत तालिम समुदायको रुचि र बजारको आवश्यकतासँग मेल खाने गरी तय गरिएका छन् । कार्यक्रमहरू रोजगारी, स्वरोजगारी तथा आयआर्जन प्रवद्र्धनमा केन्द्रित रहेको पनि जनाइएको छ ।

आयोजनाका अनुसार सरकार र कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडिए) बमोजिम ‘नेपाल रोजगार तथा सीपमूलक तालिम योजना’ तय गरी सोही बमोजिम आयोजना प्रभावित क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको छ । 

कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकु क्षेत्रमा आयोजनाको बाँधल तथा उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृहका संरचनाहरू निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपत गर्ने गरी प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन यो सबैभन्दा ठूलो आयोजना हो ।

आयोजनाको मुख्य निर्माण कार्य २०७८ साल पुसदेखि सुरु गरिएको थियो । हाल भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायत संरचनाको काम तीव्र गतिमा भइरहेको छ । समग्र भौतिक प्रगति ७४ प्रतिशत पुगेको आयोजना २०८३ साल मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३