विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशका विभिन्न स्थानमा उच्च क्षमताका ३७ विद्युत प्रसारण लाइन आयोजना निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरणले निजी ऊर्जा उत्पादनकले निर्माण गरिरहेका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न तथा प्रसारण प्रणालीको सञ्जाल विस्तार गर्न यी प्रसारण लाइन आयोजना निर्माण गरिरहेको हो ।  

प्रसारण निर्देशनालय तथा आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत यी प्रसारण लाइन आयोजना निर्माणको विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ । निर्माणाधीन यी प्रसारण लाइनको क्षमता १३२ देखि ४०० केभीसम्मको छ । 

प्रसारण निर्देशनालय अन्तर्गत सबैभन्दा बढी २३ वटा उच्च क्षमताका प्रसारण लाइन निर्माणाधीन अवस्थामा छन् । जसमा सबैभन्दा उच्च क्षमताको ४०० केभी हेटौंडा–ढल्केबर–इनरुवा डबल सर्किट प्रसारण लाइन रहेको छ । यो प्रसारण लाइन आयोजना आगामी चैतसम्ममा निर्माण सम्पन्न गरिसक्ने तालिका छ । वन क्षेत्रको समस्या, स्थानीय अवरोधलगायत कारणले प्रसारण लाइनको कामले गति भने लिन सकेको छैन ।

यस्तै, प्रसारण निर्देशनालय अन्तर्गत नै २२० केभी क्षमताका ४ वटा प्रसारण लाइन आयोजना निर्माणाधीन छन् । कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु–बसन्तपुर खण्ड निर्माणाधीन छ । ३५ किलोमिटर लामो प्रसारण लाइनको यो खण्डको आधा काम सम्पन्न भइसकेको छ ।

कोरिडोर अन्तर्गतकै तुम्लिङटार–बानेश्वर–बसन्तपुर–इनरुवा खण्डको प्रसारण लाइनको निर्माण भर्खरै पूरा भएको छ । २२० केभी इनरुवा सबस्टेसन तयार नहुँदा प्रसारण लाइनको यो खण्ड अहिले ३३ केभीमा ट्यापिङ गरी सञ्चालन गरिएको छ ।

यसैगरी, २२० केभी भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना पनि निर्माणको अन्तिम चरणमा छ । १२ वर्षअघि यो प्रसारण लाइनको निर्माण सुरु गरिएकोमा अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

आयोजनाको करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । तर, प्रसारण लाइनको रुट पर्ने क्षेत्रमा स्थानीयबासीले गरेको अवरोधका कारण प्राधिकरणले अझै निर्माण सम्पन्न गर्न सकेको छैन । यो खण्डमा निर्माण हुने २४६ मध्ये २४४ वटा टावर खडा भइसकेका छन् । स्थानीय अवरोधले २ वटा टावरको काम वर्षौंदेखि रोकिएको छ । 

२२० केभी हेटौंडा भरतपुर प्रसारण लाइन पनि अहिले निर्माणाधीन छ । यो प्रसारण लाइनको करिब ८८ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइनको काम आगामी पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य छ ।

रसुवामा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न बनिरहेको अर्को २२० केभी प्रसारण लाइन हो चिलिमे–त्रिशूली । रसुवाको आमाछोदिङ्गो गाउँपालिकास्थित गोल्जुङदेखि नसवाकोटको किस्पाङस्थित त्रिशूली–३ ‘बी’ हब सबस्टेसनसम्म निर्माण हुने प्रसारण लाइनको ६० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।

अहिलेसम्ममा यो प्रसारण लाइन तयार भइसक्नु पर्नेमा भौगोलिक विकटता, स्थानीय अवरोध, डिजाइन निर्माणमा भएको ढिलाइ एवं कोरोना (कोभिड–१९) महामारीका असरले धकेलिन पुगेको देखिन्छ । २७ किलोमिटर लामो यो प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने भनिएको छ । 

यस्तै, प्रसारण निर्देशनालय अन्तर्गत नै १३२ केभी क्षमताका १७ प्रसारण लाइन आयोजना निर्माण भइरहेका छन् । सोलु कोरिडोर, दोर्दी कोरिडोर, सिंगटी–लामोसाँघु (दोस्रो सर्किट), न्यू मोदी–लेखनाथ, बर्दघाट–सर्दी, कुसाहा–कटैया (दोस्रो सर्किट), चमेलिया–स्याउले–अत्तरिया (दोस्रो सर्किट) निर्माणाधीन प्रसारण लाइन आयोजना हुन् । 

रामेछाप–गर्जाङ–खिम्ती, थानकोट–चापागाउँ, रक्सौला–परवानीपुर (दोस्रो सर्किट), बुटवल–लुम्बिनी, बुर्तिबाङ–पौदी अमराई–तमघास, कुशाहा–विराटनगर, ढल्केबर–लोहारपट्टी, कोहलपुर–सुर्खेत, बलेफी कोरिडोर र मैनाहिया–सम्पाटिया प्रसारण लाइन पनि निर्माणाधीन छन् । 

रामेछाप–गर्जाङ–खिम्ती प्रसारण लाइनको काममा भइरहेको ढिलाइले छामेछापमा निर्माण भएका माथिल्लो र उपल्लो खिम्तीको १९ मेगावाट विद्युत खेर गइरहेको छ । थानकोट–चापागाउँ प्रसारण लाइन पनि १२ वर्षदेखि निर्माणकै चरणमा छ । ललितपुरको हरिसिद्धि, चापागाउँ क्षेत्रमा मुआब्जा विवादले प्रसारण लाइनको काम वर्षौंदेखि ठप्प छ ।  

यस्तै, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत एसियाली विकास बैंक (एडिबी) को ऋण लगानीमा १४ प्रसारण लाइन आयोजना निर्माणाधीन छन् । जसमा १३२ केभी क्षमताका ६, २२० केभी क्षमताका ६ र ४०० केभी क्षमताका २ प्रसारण लाइन आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

४०० केभी न्यूखिम्ती–बाह्रबिसे र बाह्रबिसे–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छन् । यी प्रसारण लाइन आयोजनाले लक्ष्यअनुसारको प्रगति हासिल गर्न सकेको छैनन् । 

२२० केभी मर्स्याङ्दी–काठमाडौं,  खुदी–मनाङ, उदिपुर–खुदी, उदिपुर–भरतपुर, न्यू बुटवल–बर्दघाट र कुस्मा न्यू बुटवल प्रसारण लाइन आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

निर्देशनालय अन्तर्गत लफ्सीफेदी–चाँगुनारायण–दुवाकोट, परवानीपुर–पोखरीया, र भक्तपुर–ठिमी–कोटेश्वर १३२ केभी लाइन निर्माणको विभिन्न चरणमा छन् । डाँडाखेत–राहुघाट,घोराही–मादीचौर र बोराङ्ग–लापाङ्ग प्रसारण लाइन पनि निर्माण भइरहेका छन् ।

निर्माणाधीनमध्ये अधिकांश प्रसारण लाइन आयोजना निर्धारित लक्ष्यअनुसार सम्पन्न भएका छैनन् । कहीं स्थानीय अवरोध त कहीं वनको समस्याका कारण प्रसारण लाइन निर्माणमा ढिलाई हुँदै आएको छ । कहीं ठेकेदारको लापरबाहीले प्रसारण लाइनको निर्माण लम्बिएको छ ।

पछिल्लो पटक कोरोना (कोभिड–१९) महामारीको असरले अधिकांश प्रसारण लाइनको काम ठप्प छ ।कामदार तथा निर्माण सामाग्री अभावमा निर्माण प्रभावित हुन पुगेको छ ।

प्राधिकरणले समयमा प्रसारण लाइन आयोजना निर्माण नगर्दा यसको प्रत्यक्ष मार निजी क्षेत्र लाई परेको छ । प्रसारण लाइन नहुँदा अरबौंको बिजुली खेर गइरहेको छ । यसको प्रत्यक्ष उदाहरण साढे २३ मेगावाटको सोलु खोला बनेको छ । सोलु कोरिडोर प्रसारण लाइन तयार नहुँदा सोलु खोलाको १७ मेगावाट बिजुली खेर गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३