काठमाडौँ । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा प्रवेश गरेको छ । चौथौँ वार्षिकोत्सवका अवसरमा असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको जनाएको छ ।
बैंकका अनुसार नबिल ग्रीन विकका अवसरमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रमहरू आयोजना गरिने छन् । साताव्यापी रूपमा आयोजना हुने वेबिनार शृङ्खलामा बैंकका विज्ञसहित जिआइजेड नेपाल, सिम्पल इनर्जी प्रालि, विवाइडी, सिजी मोटर्सलगायतका प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकारहरु सहभागी हुनेछन् ।
कार्यक्रममा रुफटप सोलारका समाधानहरू, विद्युतीय सवारी साधन, दिगो कृषि, वातावरण, समाज र सुशासनमा लगानीका विषयमा छलफल तथा ज्ञान आदानप्रदानमार्फत एकअर्कालाई जोड्ने उद्देश्य लिएको छ ।
नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात गरी आफ्नो कारोवारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अङ्गिकार गर्दै आएको र दिगोपन बैंकको मुख्य रणनीतिक आधार बनेको जनाएकाे छ ।
नबिल बैंकले आफूलाई बैंकिङमा मात्रै सीमित नराखी वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा पनि आफूलाई केन्द्रित गर्दै आएको छ । जसमा कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानीलाई प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । बैंकले आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सृजनामा काम गर्दै आएको जनाएको छ ।
दिगो बैकिङका उपलब्धि
बैंकका अनुसार हालसम्म पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा बैंकले सहयोग पुर्याएको छ । साथै २१ जिल्लाका ३७ वटा नदीमा सञ्चालनमा रहेका ३०७० मेगावाट क्षमताका ४३ वटा जलविद्युत् आयोजनामा बैंकले लगानी गरेको जनाएकाे छ ।
त्यसैगरी साना तथा मझौला व्यवसायअन्तर्गत कृषि, विद्युतीय सवारी तथा महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुर्याएको छ । गत आर्थिक वर्षसम्म बैंकले कृषि क्षेत्रमा मात्रै ४५.३८ अर्ब रुपैयाँ, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब रुपैयाँ र सुक्ष्म, घरेलु तथा साना उद्योगमा २५.०१ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।
बैंकका अनुसार विद्युतीय सवारी कर्जामा मात्रै ४२.३६ प्रतिशत लगानी गरेको छ भने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५ करोड ४३ लाख लगानी गरेको छ ।
हाल बैंकका १३ वटा शाखा तथा भवनमा नवीकरण ऊर्जा प्रणाली जडान गरिएको छ । डिजिटल बैंकिङ प्रवर्द्धनमा सक्रियता देखाउँदै हाल 'एनबैंक'का प्रयोगकर्ता १६ लाख ८ हजार ८२६ पुगेको बैंकको भनाइ छ । बैंकले हालसम्म ७ हजार ५९० जनालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिसकेको छ ।
'वुमन इन मोसन', 'यु म्याटर याेर भ्वाइस म्याटर', 'नबिल ग्रीन विक', 'घर त नेपाल' र 'दिगो पाइला' जस्ता अभियानमार्फत बैंकले विभिन्न सरोकारवाला समूहलाई लक्षित काम गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप (नबिल एसइई) कार्यक्रमबाट हालसम्म ९०१ जना प्रशिक्षार्थीले तालिम प्राप्त गरिसकिएका छन् भने १३३ जनाले उद्यम स्थापना गरी १ हजार २०० जनालाई रोजगारी पाइसकेका छन् ।
दिगो बैंकिङअन्तर्गत सन् २०२१ मा नबिल बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङको सदस्य भएको थियो । बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको रूपमा शाखारहित बैंकिङ विस्तार गरिएकाे छ । त्यस्तै बैंकले वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई लक्षित गरी नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेनरसिप कर्जा, नबिल दिगो बचत खाता, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ ।
त्यस्तै, बैंकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता सुधार, पानी संरक्षण र प्रशोधन, फोहोर व्यवस्थापन तथा फोहोरबाट ऊर्जा उत्पादनलगायतका परियोजनामा लगानी गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरी वार्षिक २ लाख ६२ हजार ८०४ लिटर पानी संकलन गर्दै आएको छ ।
नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो ।
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेकाे जनाउँदै आएकाे छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।