काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रजेशविक्रम थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्को उपस्थितिमा मन्त्रालयमा आयोजित एक समारोहका बीच मन्त्रालयका सचिव सुरेश आचार्यले थापालाई शपथ ग्रहण गराएका हुन् ।
एचाआइडिसिएलले प्रतिस्पर्धाका आधारमा सिइओ नियुक्तिका पूरा गरेकाे छनोट प्रक्रियाका क्रममा छोटो सूची (सर्ट लिस्ट) मा परेका उम्मेदवारहरूमध्येबाट छनोट समितिको सिफारिसका आधारमा उनलाई बिहीबार (जेठ १५ गते) सिइओ नियुक्त गरिएको हो ।
आवेदकहरूमा थापासहित अरुण रजौरिया, वासुदेव भण्डारी, लक्ष्मण पौडेल र विजयकुमार श्रेष्ठ थिए । कुल ६ जनामध्ये महिला आवेदक उषा खतिवडाको योग्यता नपुगेपछि प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन् । छोटो सूचीमा परेका आवेदकको जेठ ८ र ९ गते कार्ययोजना प्रस्तुति तथा ११ र १२ गते अन्तर्वार्ताको समय तोकिएको थियो ।
सम्पूर्ण प्रक्रिया पूरा गरी बिहीबार अर्थात् जेठ १४ गते छनोट समितिले उपयुक्त आवेदकको नाम सञ्चालक समितिमा सिफारिस गरेको थियो । सोही आधारमा सञ्चालक समितिले थापालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
मेकानिकल इन्जिनियर थापाले एमबिए (स्नातकोत्तर) सम्मको अध्ययन गरी जलविद्युत् विकासअन्तर्गत अध्ययन, डिजाइन, निर्माणलगायत क्षेत्रमा २५ वर्ष लामो अनुभव हासिल गरेका छन् । उनी नेपाल विद्युत् प्राधिकरणको सहायक सान्जेन जलविद्युत् कम्पनीमा लामो समय काम गरी चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेड (चेस्को) मा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
नेपालको औद्योगिक विकासका प्रणेता एवम् नेपाल आयल निगम र गोरखकाली रबर उद्योगका संस्थापक सुवर्णविक्रम थापाका सुपुत्र प्रजेश जलविद्युत् विकासका क्षेत्रमा कुशल, इमानदार र क्षमतावान व्यक्तिका रूपमा परिचित छन् । उनले अमेरिकाको हार्वर्ड ल स्कुलबाट लिडरसिप (नेतृत्वकला) को तालिमसमेत लिएका छन् ।
एचआइडिसिएलमै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका रजौरिया वैकल्पिक उम्मेदवारमा परेका छन् । उनले नर्वेबाट जलविद्युत्मा एमएस्सी (स्नातकोत्तर स्वर्णपदक) गरेका छन् । उनले यस क्षेत्रमा करिब २७ वर्षदेखि सक्रियरूपमा काम गर्दै आएका छन् । १० वर्षदेखि कम्पनीको दोस्रो वरियतामा कार्यरत उनी नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) का अध्यक्षसमेत हुन् ।
कम्पनीका सिइओ अर्जुनकुमार गौतमको कार्यकाल सकिएपछि नयाँ पदपूर्तिका लागि २०८१ साल चैत १५ गते १५ दिनको समय दिएर योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरिएको थियो । आवेदन दिने अन्तिम दिन चैत २९ गतेसम्म ६ जनाको आवेदन परेको थियो ।