काठमाडौँ । विनाशकारी भोटेकोसी बाढीको विपत्मा परी रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदार मध्ये २१२ जना उद्धारको प्रतीक्षामा रहेको पाइएको छ । आयोजनाको विभिन्न संरचना निर्माणमा खटिएका उनीहरू हाल उद्धारको पर्खाइमा रहेको पाइएको हो ।
उद्दारकाे पर्खाइमा रहेका मध्ये २०० जना आयोजनाको भूमिगत विद्युत्गृह जाने पहुँच मार्ग (एक्सेस टनेल) मा रहेको जानकारी आएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीले बताए । त्यस्तै, अन्य १२ जना आयोजनाको बाँध क्षेत्रमा उद्दारको प्रतीक्षामा रहेको उनको भनाइ छ ।
उनका अनुसार आयोजनामा कार्यरत अन्य करिब १०० जना हराइरहेका छन् । ती मध्ये आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माण कार्य गरिरहेको ठेकेदार कम्पनी एन्ड्रिज हाइड्रोका तर्फबाट खटिएका ७६ जना, आयोजनाको प्रवर्द्धक कम्पनीका तर्फबाट कार्यरत १३ जना र जेड कन्सल्ट कम्पनीका तर्फबाट कार्यरत ७ जना रहेका छन् ।
बाढीले आयोजना स्थलसम्म पुग्ने पहुँच मार्ग तथा पुलहरू बगाएको र हेलिकोप्टर समेत अवतरण गर्ने ठाउँ अभावका कारण उद्धारमा समस्या भइरहेको बताइएको छ ।