काठमाडौँ । फिनल्यान्डका विभिन्न संस्थाहरूको सहकार्यमा युवा इन्जिनियर तथा उद्यमीहरूको एक टोलीले नेपालको तीव्र गतिमा विकास भइरहेको ऊर्जा क्षेत्रमा युवा-केन्द्रित नवप्रवर्तनलाई अगाडि बढाउने उद्देश्यका साथ आजदेखि एक ह्याकाथनको सुरुवात गरेका छन् । 'नवप्रवर्तन, स्वच्छ ऊर्जा र दिगोपनको संयोजन' भन्ने मूल नारामा साथ यसको सुरुवात गरिएको हो ।
युवाहरूको सिर्जनशीलतालाई ऊर्जा क्षेत्रमा जोड्ने एक महत्त्वपूर्ण कदमका रूपमा काठमाडौंमा मे २९ देखि ३१ सम्म 'जंक्सन-एक्स काठमाडौं २०२६' आयोजना गरिएको छ । हेलसिन्कीमा स्थापना भएको विश्वव्यापी ह्याकाथन मोडेलमा आधारित यस तीन दिने नवप्रवर्तन मञ्चले नेपालका उत्कृष्ट युवा प्राविधिज्ञ, क्षेत्रगत विज्ञ, नीति निर्माता र प्राज्ञलाई वास्तविक इन्जिनियरिङ तथा सार्वजनिक नीतिका चुनौतीहरू समाधान गर्न एकै ठाउँमा ल्याएको छ ।
यस वर्षको कार्यक्रमको मुख्य आकर्षण जलविद्युत् तथा दिगो ऊर्जा विधा रहेको छ, जसको नारा “ऊर्जा दशकको सञ्चालन: नीतिदेखि कार्यान्वयनसम्म” तय गरिएको छ । नेपालले लोडसेडिङ अन्त्य गरी भारत र बंगलादेशतर्फ विद्युत् निर्यात सुरु गरिसकेको अवस्थामा यो कार्यक्रम निकै सान्दर्भिक समयमा आयोजना भएको हो ।
साथै, सरकारले १,२०० मेगावाटको बूढीगण्डकी जलाशय आयोजनाका लागि लगानीको मोडालिटी स्वीकृत गरिसकेको पृष्ठभूमिमा, यो विधाले आगामी एक दशकभित्र ३०,००० मेगावाट ऊर्जा विकास गर्ने सरकारको महत्त्वाकांक्षी लक्ष्यलाई सिधा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
तीन दिने निरन्तर शृङ्खलाका रूपमा तयार गरिएको यसको सुरुवात एक कठिन '३०-घन्टे ह्याकाथन चुनौती' बाट हुनेछ । जहाँ तीन-तीन जना विद्यार्थी सम्मिलित टोलीहरूले व्यावसायिक मेन्टरसिप (परामर्श) अन्तर्गत रहेर यस क्षेत्रका प्राविधिक चुनौतीहरू समाधान गर्न काम गर्नेछन् । यसका विजेताहरूको घोषणा मे ३१ मा हुने समापन समारोहमा गरिने छ ।
यसैगरी, मे ३१ मा उच्च-स्तरीय विज्ञ प्यानल छलफल र 'टक सिरिज' (वार्ता शृङ्खला) आयोजना गरिने जनाइएको छ । जसले युवाहरूको नवप्रवर्तन र रणनीतिक नीतिबीचको खाडललाई पुर्ने लक्ष्य राखेको छ । “जल तथा ऊर्जामा प्राज्ञिक क्षेत्र-उद्योग-सरकारबीचको सहकार्य” विषयक सेसनमा अनुसन्धान र विकासमा लगानी, विपद् उत्थानशीलता र दक्ष जनशक्ति पलायन रोक्ने जस्ता विषयमा उद्योग, प्राज्ञिक र वित्तीय क्षेत्रका विज्ञहरूले महत्त्वपूर्ण धारणाहरू राख्नेछन् ।
प्रविधि हलमा हुने अन्य प्यानलहरूमा जलाशययुक्त जलविद्युतमा सरकारको प्राथमिकता, ग्रीन हाइड्रोजनको सम्भावना, र ऊर्जा क्षेत्रको डिजिटलाइजेसन जस्ता प्रमुख सत्रहरू रहनेछन्। जसको सहजीकरण एनडिआरआईका दिवस बी. बस्न्यात र काठमाडौं विश्वविद्यालयका हरिप्रसाद न्यौपाने लगायतका विज्ञहरूले गर्नेछन् ।
करियरको सुरुवाती चरणमा रहेका इन्जिनियर तथा स्नातक तहका विद्यार्थीलाई लक्षित गरी विशेष 'टक सिरिज' पनि सञ्चालन हुनेछ । यसअन्तर्गत ऊर्जा मिश्रणको विविधीकरण, निर्माण क्षेत्रका चुनौती, हरित वित्तपोषण, बेसिन योजना र जलविद्युत क्षेत्रमा करियर निर्माण जस्ता महत्त्वपूर्ण विषयहरूमा गहन छलफल हुनेछ ।
एआई, बिल्डिङ इन्फर्मेसन मोडलिङ (बिआइएम) र ग्रिड आधुनिकीकरण जस्ता अत्याधुनिक प्रविधिलाई मुख्य नीतिगत अपडेटसँग जोड्दै जंक्सन-एक्स काठमाडौं २०२६ ले सार्वजनिक नीति हस्तक्षेप र नवप्रवर्तन दुवैको काम गर्नेछ । यो कार्यक्रम मे ३१ मा 'फिनोफेस्ट २०२६' सँगै समापन हुनेछ, जसले नेपालको ऊर्जा भविष्यलाई अघि बढाउन आगामी पुस्ताका इन्जिनियर, विश्लेषक र नेतालाई तयार पार्ने दिशामा एउटा कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।