काठमाडौं । नेपाल विद्युत प्राधिकरण कालिकोट वितरण केन्द्रले नयाँ विद्युत महसुल संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । केन्द्रले विद्युत महसुल बुझाउन र ग्राहककाे सहजताका लागि सोमबार (मंसिर १२ गते) काउन्टरको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।
कर्णाली प्रदेश अन्तर्गत रास्कोट नगरपालिका, सन्नित्रिबेणी गाउँपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाका विद्युत उपभोक्ताहरूका लागि विद्युत महसुल बुझाउन सहज होस भन्ने धारणाले नयाँ काउन्टर सञ्चालनमा ल्याएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यस क्षेत्रका ग्राहकहरूलाई विद्युत महसुल बुझाउन सहज हुनेछ ।
काउन्टर सञ्चालनमा आएसँगै यी पालिकाका ग्राहकले कालिकाेट काउन्टरसम्म धाउनुपर्ने बाध्यता हटेकाे छ । काउन्टर सञ्चालनपछि स्थानीय हर्सित भएका छन् । काउन्टर सञ्चालनसँगै केन्द्रले विद्युत सेवा विस्तार, चुहावट नियन्त्रण, बक्यौता असुली, काठको पोल फेर्ने लगायतमा तिव्र गतिमा अघि बढाएको छ ।
काउन्टर केन्द्र प्रमुख बिमल प्रसाद शाह, कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाही र रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले उद्घाटन गरेका हुन् ।