काठमाडौं । सानिमा हाइड्रो समूहको लगानी रहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । २०७५ मंसिरदेखि सुरु भएको आयोजनाको ४.७२१ किलोमिटर लामो मुख्य सुरुङ साढे २ वर्षमा खनेर सकिएको हो ।
निशेधाज्ञामा पनि निर्माण जारी राखी बिहीबार अपरान्ह ४.३७ बजे मुख्य सुरुङ वारपार हुनेगरी छेडिएको प्रवर्द्धक स्वेतगंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध भोजराज पौडेलले बताए । ‘३ खण्डमा आयोजनाको सुरुङ खन्न सुरु गरेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘बिहीबार तेस्रो खण्डक पनि खनेर सकिएपछि मुख्य सुरुङ पूरा भएको छ ।’
पहिलो खण्ड (१७५० मिटर) र दोस्रो खण्ड (१२०० मिटर) को सुरुङ खन्ने कार्य पहिले नै पूरा भइसकेको उनले बताए । पहिलो र दोस्रो खण्डको भौगोलिक अवस्था राम्रो भएकाले सहजरूपमा काम काम हुँदा चाँडै सकिएको पनि उनले बताए ।
सुरुङको तेस्रो खण्डको भौगोलिक अवस्था कमजोर भएकाले लक्ष्यभन्दा ढिलो गरी सुरुङ खनेर सकिएको छ । सुरुङको काम नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन एन्ड बाबरी जेभीले संयुक्तरूपमा गरेका हुन् । मुख्य सुरुङ छेडिएसँगै सिभिलतर्फ आयोजनाको ७५ प्रतिशत निर्माण पूरा भएको पौडेले जानकारी दिए ।
बाँध क्षेत्रका संरचनामा पनि ८० प्रतिशत काम सकिएको छ । पेनस्टक पाइप जडानको काम ४५ प्रतिशत सम्पन्न भइसकेको छ । विद्युतगृहमा सिभिलको काम ७० प्रतिशत हाराहारीमा सम्पन्न भइसकेको उनले बताए ।
विद्युतगृहमा जडान हुने उपकरण पनि आयोजना ल्याउन सुरु गरिएको छ । ‘पहिलो र दोस्रो लटको इलेक्ट्रोमकानिकल उपकरण आयात भइसकेको छ । तेस्रो लटमा आयात गरिएका उपकरणहरू कलकत्तामा आइपुगेर अड्किएका छन्’ उनले भने ।
चाँडै विद्युतगृहमा उपकरण जडान कार्य सुरु गर्ने भनिए पनि कोरोना (कोभिड–१९) महामारीको असरले काम सुस्ता हुँदा प्रभावित हुन पुगेको उनले बताए । निर्माण सम्पन्न भएपछि आयोजनाले उत्पादन गर्ने विद्युत २३ किलोमिटर दुरीको न्यूखिम्ती सबस्टेसनमा लगेर जोडिने छ । आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन निर्माणको काम अहिले भइरहेको छ । अहिलेसम्ममा प्रसारण लाइनको ४२ वटा टावरको जग तयार भएको छ । ९ वटा टावर खडा गरिएको छ ।
आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने तालिका छ । तर, कोरोना माहामारीको असर आयोजनाको काममा परेको हुँदा ८ देखि १० महिना ढिलो गरी विद्युत उत्पादन हुने पौडेलले बताए ।
कोराना संक्रमण दर बढेपछि आयोजनाको निर्माणलाई गति दिन चुनौती रहेकाले विद्युत उत्पादन तालिका प्रभावित हुने देखिएको हो । निशेधाज्ञाका कारण उपकरण तथा निर्माण सामाग्री आयातमा समस्या देखिएको छ । आयोजनामा कार्यरत कर्मचारी तथा कामदार नै कोरोना संक्रमित भएकाले समेत निर्माण प्रभावित हुन पुगेको छ ।