काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले विद्युत् ट्रान्सफर्मर बिग्रने कारण र यसबाट बच्ने उपायहरूका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता ट्रान्सफर्मरका काम र यसका प्रकारबारे जानकारी प्रस्तुत गरेका थियौँ ।
ट्रान्सफर्मर बिग्रने कारण र यसबाट बच्ने उपायहरू
१. क्षमताभन्दा बढी लोड
हरेक ट्रान्सफर्मरको क्षमता हुन्छ, जसलाई केभिए/एमभिए वा एम्पिएरबाट सजिलै थाहा पाउन सकिन्छ । ट्रान्सफर्मरको नेम प्लेटमा केभिए/एमभिएका साथै प्राइमरी र सेकेन्डरी साइडमा बग्ने फुल लोड (पूर्ण भार) करेन्टको विवरण पनि लेखिएको हुन्छ, सोभन्दा बढी लोड गरिनु हुन्न । उदाहरणको लागि ११ केभी, १०० केभिएको डिष्ट्रिब्यूसन ट्रान्सफर्मरको सेकेन्डरी (४०० भोल्ट) तर्फको प्रत्येक फेजको फुल करेन्ट ५ एम्पिएर हो । प्राइमरीतर्फ हाइ भोल्टेज भएकाले त्यतातर्फको करेन्ट कुनै पनि हालतमा साधारण उपकरणबाट नाप्ने प्रयास गर्नुहुन्न । यसो गरियो भने ज्यान जाने वा अंगभंग हुन सक्दछ । एलटीतर्फको करेन्ट भने साधारण उपकरण कल्याम्प मिटरबाट सजिलै नाप्न सकिन्छ । साधारणतया महिनाको एक पटक साँझपख एलटी करेन्ट नाप्नु राम्रो हुन्छ । करेन्ट नाप्दा प्रत्येक फेजमा फुल लोड देखिए त्यस ट्रान्सफरमरमा थप नयाँ कनेक्सन दिने कार्य बन्द गरिनुपर्दछ ।
बच्ने उपाय : बढी लोड (ओभर लोड) बाट ट्रान्सफर्मरलाई बचाउन एलटी साइडमा माउल्डेड केश सर्किट ब्रेकर जडान गर्नु पर्दछ । यसलाई छोटकरीमा एमसिसिबी पनि भन्ने गरिन्छ ।
२. असन्तुलित लोड
ट्रान्सफर्मरको प्रत्येक फेजमा बराबरी लोड भएन भने अर्थात् असन्तुलित लोड भयो भने ट्रान्सफर्मर बढी तात्ने, प्राविधिक चुहावट बढी हुने जस्ता समस्या आउँछन् र अन्त्यमा जल्न पनि सक्दछ । तसर्थ, थ्रिफेज ट्रान्सफर्मरको प्रत्येक फेजमा बराबरी लोड हुनु पर्दछ । बराबरी लोड बनाउन कल्याम्प मिटरले डिस्ट्रिब्युसन ट्रान्सफर्मरको प्रत्येक फेजको करेन्ट नाप्ने, जुन फेजमा बढी करेन्ट छ, त्यस फेजको कनेक्सनलाई कम करेन्ट भएको फेजमा सार्ने गर्नुपर्छ । यसरी प्रत्येक फेजमा बराबर लोड बनाई ट्रान्सफर्मरको लोडलाई सन्तुलित बनाउन सकिन्छ ।
ट्रान्सफर्मरको लोड सन्तुलित भएको अवस्थामा निउट्रलमा करेन्ट शून्य हुन्छ र त्यसैले कतिपय ठाऊँमा निउट्रलमा राखिने कण्डक्टरको साइज फेज तारको साइजको आधा हुन्छ । जति जति फेज करेन्टमा असन्तुलन बढ्दै जान्छ, उतिउति निउट्रलमा पनि करेन्ट बढ्दै जान्छ । अनुगमन कम हुने ठाऊँमा निउट्रलको तारको आकार फेज तारको सरह हुनुपर्दछ । सबस्टेसनमा राखिने पावर ट्रान्सफरमरको हकमा भने यसको कन्ट्रोल प्यानलमा जडित एम्पिएर मिटरले यसको प्रत्येक फेजको करेन्ट देखाउँछ । डिस्ट्रिब्युसन ट्रान्सफर्मरहरूको लोड ब्यालेन्स भएपछि पावर ट्रान्सफर्मरको लोड स्वतः ब्यालेन्स हुन्छ ।
सिंगल फेज ट्रान्सफर्मरमा भने एउटै फेज हुने हुनाले असन्तुलि लोड भन्ने प्रश्न नै उठ्दैन । तर लोड ब्यालेन्स गर्न ११ केभी लाइनको एउटै फेजमा सबै सिंगल फेज ट्रान्सफर्मर नराखी प्रत्येक फेजमा राख्नु पर्दछ ।
३. चट्याङ
आकाशमा चम्कने बिजुली/चट्याङले पनि ट्रान्सफरलाई क्षति पुर्याउन सक्दछ । यसबाट बचाउन ट्रान्सफर्मरको प्रत्येक फेजमा लाइट्निङ एरेष्टर जडान गरिनु पर्दछ । लाइटनिङ एरेष्टरको माथिल्लो टर्मिनललाई कण्डक्टरको सहायताले ट्रान्सफर्मरको फेजसँग राम्ररी कस्नु पर्दछ भने सोको तल्लो टर्मिनललाई अर्थ वायरसँग राम्ररी कस्नु पर्दछ । खास गरेर अर्थिङ राम्रो नभएको अवस्थामा चटयाङ परेको बेला प्रायः लाइट्निङ एरेष्टर फुट्ने गर्दछ । त्यस्तो भए तुरुन्त बदलेर अर्थिङ पनि चेक गर्नु पर्दछ । अर्थिङको कनेक्सन राम्रो नभएको वा अर्थ रेजिस्टेन्स बढी रहेको अवस्थामा ट्रान्सफर्मर नै जल्ने सम्भावना रहन्छ । अर्थ रेजिस्टेन्स ० शून्य ओम नजिक आयो भने सबभन्दा राम्रो हुन्छ तर १ देखि ५ ओमसम्म हुनु पनि राम्रै हो । पहाडी भेगमा १०–१५ ओम भए राम्रै ठान्नु पर्दछ ।
४. तेल कम हुनु
ट्रान्सफर्मरमा चाहिने मात्राभन्दा कम तेल भए ट्रान्सफर्मरमा हावाको साथ पानीका कणहरू पसेर इन्सुलेसन कम हुने र साथै ट्रान्सफर्मरलाई चिसो पार्ने क्षमतामा पनि कमी आई ट्रान्सफर्मर बिग्रन सक्दछ । यसका ट्रान्सफर्मर आयल ट्याकंमा रहेको सिसाको झ्याललाई समय समयमा हेर्नु पर्दछ । तेलको लेबल कम भए थप्नु पर्दछ ।
५. टर्मिनल तात्नु/स्पार्क हुनु
एचटी र एलटी टर्मिनलमा तारहरू राम्ररी नकसिनाले त्यस ठाउँमा तात्ने वा तार बढी खुकुलो भए स्पार्क नै हुने गर्दछ । यसबाट बुसिङ ग्यासकेट बिग्रिएर तेल चुहिने वा ट्रान्सफर्मरको भित्री कनेक्सन पनि छुट्न गई टान्सफर्मर बिग्रन सक्दछ । यसका अतिरिक्त एमसिसिबीमा जोड्ने वा जोडेको केबुल पनि कस्सिएको हुनु पर्दछ । खुकुलो भयो भने केबुलको साथै एमसिसिबीको भित्री भाग पनि तातिन गई अफ हुन्छ, अर्थात ट्रान्सफर्मरमा फूल लोड वा सर्ट–सर्किट नभए पनि सो अफ हुन्छ ।
याद गरौँ खुकुलो कनेक्सन विद्युत्को शत्रु हो । तसर्थ सो समस्या हल गर्न क्रिम्पिङ टुलको सहायताले सर्वप्रथम केबुल लग/सकेट लाई केबुल/कन्डक्टरसँग राम्ररी कसेर जोडनु पर्दछ । त्यसपछि सो केबुल लग/सकेटलाई ट्रान्सफर्मरको बुसिङ वा एमसिसिबी टर्मिनलमा छिराएर स्पानर रिन्चले राम्ररी कस्नु पर्दछ । केही ठाऊँमा हथौडीले हानेर केबुल लग/सकेट लाई कण्डक्टर सँग जोडने वा कस्ने काम गरिन्छ, यो प्रक्रिया गलत हो, यसबाट कनेक्सन खुकुलो भई तात्ने र स्पार्क प्रक्रिया शुरु हुन्छ ।
६. सिलिका जेल
सिलिका जेललाई पनि बराबर निरीक्षण गर्नु पर्दछ । यसको रंग रातो भए यसलाई निकालेर यसको रंग निलो हुन्जेलसम्म आगोमा भुट्नु पर्दछ । निलो रंग भए पछि पुनः साविककै ठाऊँमा राख्नु पर्दछ । त्यस्तै सिलिका जेल राख्ने भाँडो मुनि ट्रान्सफर्मर आयल राख्ने सानो भाँडोमा तेल छ/छैन जाँच गर्नु पर्दछ । कम छ भने थप्नु पर्दछ । यी काम गर्दा ट्रान्सफर्मरले पानीका साथै अन्य दुषित कणहरू नभएको शुद्ध हावा पाई ट्रान्सफर्मरको आयु घट्न दिँदैन । सिलिका जेलले मुख्यतयाः हावाको साथमा रहेको पानीका कणहरूलाई सोस्दछ र पानीरहित शुद्ध हावा ट्रान्सफर्मरमा जान पाउँछ ।
७. पानी पस्नु
खासगरी, ट्रान्सफर्मरको आयल ट्यांकमा रहेका नटहरू ढिला भई वा अन्य कारणले ट्रान्सफर्मर भित्र पानी पस्न गए ट्रान्सफर्मरको इन्सुलेसन कम भई ट्रान्सफर्मर जल्न सक्दछ । आयल ट्यांकमा लेबल अनुसारको तेल भए ट्रान्सफर्मर बडीबाट पानी छिर्ने सम्भावना रहँदैन ।
८. तेलको गुणस्तर खस्कनु :
पानी पसेर वा धेरै पुरानो भएपछि ट्रान्सफर्मरको तेलको इन्सुलेसन घट्छ । जसको फलस्वरूप ट्रान्सफर्मर जल्ने सम्भावना रहन्छ । यसबाट सुरक्षित हुन ५/६ वर्षमा ट्रान्सफर्मरको तेल टेष्ट गराउनु राम्रो हुन्छ । टेष्ट गर्दा यसको डाइइलेक्ट्रिक स्ट्रिन्थ कम्तिमा पनि ३० केभी हुनु पर्दछ । ट्रान्सफर्मर तेल टेष्ट गर्ने मेसिनलाई ट्रान्सफर्मर आयल टेष्टिङ मेसिन भन्दछन् ।
९. सर्ट सर्किट हुनु
ट्रान्सफर्मरको एलटी साइडको केबुल वा नाङ्गो तार एक आपसमा सोझै जोडिए वा छोइएमा अत्यधिक करेन्ट बग्दछ, जसलाई सर्ट सर्किट करेन्ट भन्दछन् । यो ट्रान्सफर्मरको फुल लोड करेन्टभन्दा धेरै गुणा बढी हुन्छ । सर्टसर्किट भएको अवस्थामा ट्रान्सफर्मरको सुरक्षाका लागि एलटी साईडमा राखिएको एमसिसिबी अफ हुनु पर्दछ र साथै एचटीतर्फ राखिएको डिओ फ्यूज सेटको फ्यूज पनि जल्नु पर्दछ । सो भएन भने ट्रान्सफर जल्दछ । तसर्थ, एमसिसिबी छ/छैन, भए पनि काम गरिरहेको छ छैन । ड्रप आउट फ्यूजमा उपयुक्त साइजको फ्यूज हालेको छ/छैन ? समय समयमा चेक गर्नु पर्दछ ।
१०. इन्सुलेसन टेष्ट
ट्रान्सफर्मरभित्र रहेको एचटी र एलटी वाइन्डिङको इन्सुलेसन ठिक छ वा छैन ? सो चेक गर्न पनि आवश्यक छ । इन्सुलेसन कम भयो भने ट्रान्सफर्मर जल्न सक्दछ । ११ केभी डिस्ट्रब्यूसन ट्रान्सफर्मरको ११ केभी बाइन्डिङ र अर्थ बिचको इन्सुलेसन २०० मेगा ओम जति हुनुपर्दछ भने एलटीतर्फ ५० मेगा ओम जति भए पुग्दछ । यो इन्सुलेसन १००० भोल्टको मेगरले नाप्नु उपयुक्त हुनेछ । डिष्ट्रिब्युसन ट्रान्सफर्मरको हकमा ४/५ वर्षमा एक चोटी इन्सुलेसन नाप्नु राम्रो हुनेछ ।
बहु–वैकल्पिक प्रश्नहरू
(१) वितरण ट्रान्सफर्मर ४ वटा एलटी बुसिङ हुन्छ, यी मध्ये सबभन्दा दाहिने पट्टीको बुसिङ केको लागि हो ?
(क) आर फेस
(ख) बी फेस
(ग) वाई फेस
(घ) न्युट्रल
उत्तरः न्युट्रल
(२) ट्रान्सफर्मरमा ब्रेथरमा राखिने पदार्थको नाम के हो ?
(क) कपर सल्फेट
(ख) ढुङ्गाको दाना
(ग) सिलिका जेल
(घ) सोडियम क्लोराइड
उत्तरः सिलिका जेल
(३) ट्रान्सफर्मरको ओपन सर्किट टेस्टबाट के कुरो थाहा हुन्छ ?
(क) कपर लस
(ख) आइरन लस
(ग) (क) र (ख) दुवै
(घ) कुनै पनि होइन
उत्तरः आइरन लस
(४) प्याराललमा ट्रान्सफर्मर जोड्न के मिलाउनु पर्दछ ?
(क) भोल्टेज
(ख) फेज सिक्वेन्स
(ग) फ्रिक्वेन्सी
(घ) माथिका सबै
उत्तरः माथिका सबै
(५) डिस्ट्रिब्युसनमा प्रयोग हुने ट्रान्सफर्मरको भित्री क्वायलको जोडाइ कस्तो हुन्छ ?
(क) स्टार/डेल्टा
(ख) डेल्टा/डेल्टा
(ग) निज ब्याक/डेल्टा
(घ) डेल्टा/स्टार
उत्तरः डेल्टा/स्टार
(६) ट्रान्सफर्मरको वाइन्डिङको स्टार प्वाइन्टलाई जमिनसँग जोड्ने कार्यलाई के भनिन्छ ?
(क) ट्रान्सफर्मर अर्थिङ
(ख) सिस्टम अर्थिङ
(ग) प्रोटेक्सन अर्थिङ
(घ) माथिका सबै
उत्तरः ट्रान्सफर्मर अर्थिङ
(७) ट्रान्सफर्मरको प्राइमरीबाट सेकेण्डरीमा पावर प्रवाहित भइरहँदा केमा परिवर्तन भइरहन्छ ?
(क) करेन्ट
(ख) भोल्टेज
(ग) टर्न रेसियो
(घ) फ्रिक्वेन्सी
उत्तरः करेन्ट