काठमाडौं । उत्तम भ्लोन लामा जुझारु युवा उद्यमी हुन् । उनी करिब एक दशकदेखि जलविद्युत व्यवसायमा सक्रिया रहँदै आएका छन् । यो सक्रियातालाई अझ ओझपूर्ण बनाउँदै पछिल्लो समय उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग विभिन्न औपचारिक तथा अनौपचारिकरूपमा सम्पर्क, समन्वय र सहजीकरणको भूमिका समेत निर्वाह गर्दै आएका छन् । उनै लामाले आगामी जेठ ३२ गते हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को उपाध्यक्षमा उमेद्वारी घोषणा गरेका छन् ।
हाल कार्यसमिति सदस्य रहेका लामाले इपानलाई सिंगो निजी क्षेत्रको संस्था बनाउँदै जलविद्युत विकासमा सरकारसँग हातेमालो गर्दै अगाडि बढ्न सक्ने हैसियतको संस्था बनाउनुपर्नेमा जोड दिएका छन् । तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक अन्तर्गतको सिइडिबी हाइड्रो फन्डमार्फत निर्माण सुरु भएको ४.४ मेगावाटको राधी जलविद्युत आयोजनाको निर्माणबाट यस क्षेत्रमा प्रवेश गरेका उनी अहिले एक दर्जन बढी आयोजनासँग आवद्ध रहेका छन् ।
जलविद्युत व्यवसायमा प्रवेश गरेको छोटो समयमै लामा व्यापारिक उत्पादन, निर्माणाधीन, निर्माणको चरणमा रहेका र अध्ययनरत गरी झण्डै ६०० मेगावाटका आयोजनासँग जोडिएका छन् । उनी आवद्ध अर्थात् उनको लगानी रहेका ६७ मेगावाट बराबरका आयोजनाहरू सञ्चालनमा आइसकेका छन् । ती मध्ये १२ मेगावाटको दोर्दी खोला, ११ मेगावाटको तल्लो खारे खोला, ४.४ मेगावाटको राधी, ४ मेगावाटको खुदी, ५ मेगावाटको रुकुमगाड, १८३ किलोवाटको स्यांगे, ३० मेगावाटको न्यादी हुन् ।
यसैगरी, संखुवासभामा ८५ मेगावाटको कसुवा खोला निर्माण भइरहेको छ । सुरुमा क्यू४० डिजाइन डिस्चार्जमा ४५ मेगावाट पहिचान गरिएको यो आयोजना सरकारले डिजाइन डिस्चार्जको सीमा हटाएपछि क्यू३१ मा डिजाइन गरी क्षमता विस्तार गरिएको जनाइएको छ । यो आयोजनाको ४५ मेगावाट बिजुली नेपाल विद्युत प्राधिकरणसँग पिपिए भएको छ भने बाँकी ४० मेगावाट भारत निर्यात गर्ने गरी गत बैशाख ५ र ६ गते सम्पन्न भएको ‘ऊर्जा सम्मेलन, २०२३’ मा भारतीय कम्पनीसँग समझदारी भएको छ ।
पछिल्लो समय जलविद्युत तथा ऊर्जा विकासमा लगानी लक्षित गरेको एनएमबी बैंकको सञ्चालक समेत रहेका लामा नेपाल पावर ट्रेडिङ कम्पनी (नेपेक्स) को सञ्चालक पनि छन् । निजी क्षेत्र सरकारका नीति नियम र निर्देशिकाले निर्देशित हुने हुँदा सरकारको साझेदारीको रूपमा यो क्षेत्रलाई माथि उठाउन आफूले सक्दो पहल गर्ने उनले बताउँदै आएका छन् ।
लामाको लगानी रहेका र अध्ययन चरणका आयोजनाहरूमा १ मेगावाटको किसेदी, ३० मेगावाटको म्याग्दी ‘ए’, ३५ मेगावाटको सुपर इखुवा, २५ मेगावाटको माथिल्लो इंखुवा, ५० मेगावाटको नार खोला, ५ मेगावाटको माथिल्लो रुकुमगाड र ३०० मेगावाटको सुपर कर्णाली रहेका छन् । उल्लिखित सबै आयोजनाको क्षमता जोड्दा ५९८ मेगावाट हुन आउँछ ।
उपाध्यक्षका लागि लामाको प्रतिबद्धता
१. विद्युतको आन्तरिक बजार विस्तारमा विशेष जोड दिँदै खपतका योजना तथा कार्यक्रममा सरकारसँग समन्वय गरी काम गर्ने ।
२. ३ वर्षको कार्यकालमा विद्युतलाई व्यापारयोग्य वस्तुमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने वातावरण बनाउने ।
३. जलविद्युत विकासमा लगानी विस्तार गर्न ‘ग्रिन बण्ड’ जारी गर्न विभिन्न वित्तीय संस्थाहरूसँग समन्वय गरी काम गर्ने ।
४. बैंक ब्याजदर घटाउन र स्वपुँजी लगानीको व्यवस्था गर्न विदेशी वित्तीय संस्थाहरूसँग समन्वय गरी कार्यक्रम अगाडि बढाउने ।
५. आउने १० वर्षका लागि ‘जलविद्युत दशक’को रूपमा घोषणा गरी कार्यक्रम अगाडि बढाउन सरकारलाई दबाब दिने ।
अन्तर्राष्ट्रिय स्तरमा सौर्य विद्युत उत्पादनको मूल्यमा भारी गिरावट भइरहेको, जलवायु परिवर्तनको असरका कारण नदी तथा खोलाको पानीको बहावमा कमी आइरहेको, हिमालहरू पग्लिँदै गएका तथा हिमतालहरू सुक्दै गएका कारणले पनि अबका वर्षहरू जलविद्युत उत्पादनका दृष्टि निकै चुनौतीपूर्ण रहेको लामाले बताए ।
‘यी चुनौतीसँग जुध्न हामीले आजैदेखि हाम्रो जलविद्युतको भरपूर उपभोग गर्ने रणनीतिमा काम गर्नुपर्छ,’ उनले भने, ‘आन्तरिक खपत भएर बढी भएको विद्युत भारत तथा क्षेत्रीय बजारसम्म बेच्ने विषयमा बहस र छलफलमात्र होइन सरकार र निजी क्षेत्रबीच कार्यगत एकता हुनुपर्छ ।’ यसले मात्र देशको जलविद्युत विकासलाई सही दिशामा डोर्याउन सक्ने उनको भनाइ छ ।