उमाकुण्ड (रामेछाप) । उमाकुण्ड गाउँपालिका–१ लाछेवर रामेछाप जिल्लाको उत्तरी भूगोतर्फ जाँदाको अन्तिम मानवबस्ती हो । यो बस्ती सरकारी सेवा–सुविधाबाट टाढा त छँदैछ । आफ्नै वडा कार्यालय पुग्न पनि एक दिन लाग्छ । भौगोलिक रूपमा ठूलो वडा भएकाले सडक, विद्युत्, खानेपानी, विद्यालय जस्ता पूर्वाधार पनि महँगो छ ।
नुम्बुर हिमालको फेदैमा रहेको यो गाउँ सोलुखुम्बु जिल्लाको सीमा नजिक पर्छ । सँधै दुर्गम र सुविधाबाछ बञ्चित यस गाउँका स्थानीय अहिले निःशुल्क विद्युत् उपभोग गरिरहेका छन् । ४५ घर र एक गुम्बा रहेको यहाँ शेर्पा सुमुदायको मात्रै बसोबास रहेको छ ।
‘हामीले बिजुलीको पैसा अहिलेसम्म तिर्नु परेको छैन, जति उपभोग गरे पनि हुन्छ,’ लाछेवारका घुर्मे शेर्पाले भने, ‘बत्ती बाल्ने, रेडियो–टिभी चलाउने, फ्रिज चलाउने, पानी तताउने लगायतका सबैजसो उपकरण निःशुल्क बिजुलीबाटै चलाउँछौँ ।’ समुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको यो गाउँमा बाह्रै महिना जाडो हुन्छ । चिसो पानी छुन पनि सकिन्न तर अहिले बिजुलीका कारण धेरै राहत भएको उनले बताए ।
घरमा बिजुलीका मिटर पनि छैनन् तर घरघरमा विद्युतीकरण भएको छ । सहरमा बेला–बेला बेलामा बिजुली आउने–जाने समस्या हुन्छ यहाँ ४ वर्षदेखि बिजुली गएको अनुभव नै गर्नुपरेको छैन । गाउँमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन आएदेखि आफूहरूले विद्युत् उपभोग गरेको अर्का स्थानीय डेण्डी शेर्पाले बताए ।
लाछेवरसम्म विद्युत् र सडक पुगेको पनि ४ वर्ष मात्रै भयो । अहिले गाउँ मात्रै होइन, गाउँभन्दा धेरैमाथि चौरीखर्कसम्मै ३३ केभी प्रसारण लाइन र सडक पुगेको छ । गाउँमा स्थानीयका लागि यो सुविधा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे—लिखु जलविद्युत् आयोजनाका कारण सम्भव भएको कल्जाङ शेर्पाले बताए । ‘यो आयोजना नआएको भए अहिलेसम्म गाउँबाटै गाडी चढ्ने र बिजुली बाल्ने कुरा सपनामै सीमित हुन्थ्यो होला,’ उनले भने ।
उक्त आयोजना उच्च हिमाली क्षेत्रमा निर्माणाधीन हुनाले अति चिसो मौसममा काम गर्न कठिन छ । दुईतिरको खोला फर्काउनु पर्ने भएकाले दुवैतिर सडक बनेका छन् । आयोजनाले आन्तरिक रूपमा ४० किलोमिटर सडक नयाँ तयार गरेको छ । शिवालयदेखि आयोजनास्थलका सडक नियमित मर्मतसंहार गर्दै आएको छ । आयोजनास्थलसम्म पुग्ने लिखु खोलामा पक्की पुल र आयोजना क्षेत्रको नुप्चे खोलामा २ वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजना निर्माणका लागि ३३ केभी प्रसारण लाइन लैजादा लछेवार गाउँमा विद्युतीकरण भएको छ ।
भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले आयोजना निर्माण कार्यका लागि लगेको विद्युत् गाउँमा समेत उपभोगका लागि दिएको बताए । विद्युत् प्राधिकरणले एकमुष्ट मिटर रिडिङ गर्छ, गाउँलेले उपभोग गरेको विद्युत्को पनि आयोजनाले नै भुक्तानी गर्ने गरेको उनले जानकारी दिए । प्राधिकरणको लाइनमा समस्या हुँदा विद्युत् नहुँदा आयोजनाले जेनेरेटर चलाएर आफ्नो शिविर र कार्यालयमा बाल्दा गाउँमा पनि बल्छ ।
आयोजनाको लागत १० अर्ब ९८ करोड रहेको छ । आयोजनाको विद्युत्गृह सतही छ भने विद्युत् उत्पादन गर्न ३ वटा टर्वाइन रहेको छ । आयोजनाबाट कुल ३८१.७३५ गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आउँदो वर्षात्मै विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणाधीन आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ ।
आयोजनाको सिभिलतर्फ संरचना निर्माण सुनाम इफ्रास्टक्चर निर्माण प्रालिले गरिरहेको छ । त्यसैगरी, प्रसारण लाइन निर्माण पाँचपोखरी कन्स्ट्रक्सन प्रालिले, हाइड्रोमेकानिकलको वर्कसप इन्जिनियरिङ एण्ड सप्लायर्स र इलेक्ट्रोमेकानिलतर्फ भ्वाइथ हाइड्रो इन्डियाले काम गर्दै आएको छ । आयोजनाको परामर्शदाताको काम इआइ मावेन प्रालिले गर्दै आएको छ ।