दोलखा । तामाकोसी–काठमाडौँ ४००/२२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत पहिले खण्ड न्यू खिम्ती–बाह्रबिसे–काठमाडौँ ४०० केभी खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बीचमा कुनै समस्या नआए पहिलो खण्डको काम १ महिनामा पूरा हुने भएको हो । यो प्रसारण लाइन सञ्चालनमा आएपछि खिम्तीबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौँ र तराइसम्म विद्युत् प्रसारण हुन सक्छ ।
प्रसारण लाइनको ११८ वटा टावर मध्ये ११६ वटा टावर तयार भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ मा २ वटा टावरको जग तयार भएर ठड्याउने काम जारी रहेको तामाकोसी–बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन आयोजनाका सहायक प्रबन्धक गजेन्द्र यादवले जानकारी दिए । एक वर्षअघि दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा ७ वटा टावरमा समस्या थियो । त्यसमध्ये अहिले ५ वटा टावरको निर्माण पूरा भएको छ ।
यस्तो छ आयोजनाको प्रगति
न्यू खिम्ती–बाह्रबिसे पहिलो खण्ड ४४ किलोमिटर लामो रहेको छ । २ खण्डमा निर्माणाधीन आयोजनाको काम दुवैको प्रगति उस्तै छ । आयोजनाका सहायक प्रबन्धक गजेन्द्र यादवका अनुसार ४४ किलोमिटर मध्ये ४० किलोमिटरमा तार तान्ने काम पूरा भएको छ ।
पहिलो प्याकेजअन्तर्गतको लाइन निर्माण कार्य ३ जिल्लामा पर्छ । तारमुनि पर्ने जग्गाको क्षतिपूर्ति वितरणको काम पनि उल्लेख्य प्रगति भएको छ । आयोजनाले टावरले ओगटेको जग्गाको मुआब्जा वितरण पूरा गरेको छ ।
तामाकोसी नदी र सुनकोसी नदी आसपासको विद्युत् काठमाडौँसम्म पुर्याउन तामकोसी–काठमाडौँ ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत २ प्याकेजमा काम भइरहेको छ । आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रबिसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ ।
कम्पनीले करिब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि १ करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको छ । पहिलेको चिनियाँ कम्पनीसँगको ठेक्का तोडिएपछि केइसीसँग सन् २०२१ अक्टोबरमा पूरा गर्ने गरी २० मे २०१९ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य समयमा पूरा हुन नसक्दा ६/६ महिना गरी समय थप हुँदै गएको छ । आयोजनाको हालसम्म भौतिक र वित्तीय प्रगति ९८ प्रतिशत भएको छ । आयोजनाको १५ प्रतिशत भेसियसन पनि भइसकेको छ ।
दोस्रो प्याकेज र सबस्टेशन सुस्त
दोस्रो प्याकेजमा बाह्रबिसेदेखि काठमाडौँको लप्सीफेदीसम्मको प्रसारण लाइन पर्छ । लप्सीफेदीमा सबस्टेशनको काम सुरु हुन नसक्दा सिन्धुपाल्चोकमा निर्माणको अन्तिम चरणमा पुगेको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् खिम्ती–बाह्रबिसे हुँदै प्रसारण गर्नुपर्छ ।
सोही आयोजना अन्तर्गत ४०० केभी क्षमताको बाह्रबिसे सबस्टेशनको काम भने सुस्त गतिमा भइरहेको छ । २ वर्षमा पूरा गर्ने गरी सन् २०१७ डिसेम्बरमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।
आयोजनाको तेस्रो प्याकेजको रूपमा सबस्टेशन हो । बाह्रबिसे सबस्टेशनको ठेक्का चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेशन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले पाएको छ । ढिला गरी भए पनि सबस्टेशनको काम पूरा भएको छ । अब सबस्टेशनमा जोडिएका उपकरणको परीक्षण मात्रै बाँकी रहेको सहायक प्रबन्धक यादवले बताए ।
मध्य भोटेकोसी आयोजना एक वर्षअघि नै परीक्षण गरे तापनि सुरुङबाट पानी चुहिएपछि पुनः मर्मत जारी छ । अब मध्यभोटेकोसी मर्मतपछि विद्युत् उत्पादन भए प्रसारण लाइनको समस्या नहुने भएको छ ।
ढिला गरी भए पनि बाह्रविसे–लप्सीफेदी प्रसारण लाइनको १ सय २२ वटा टावर मध्ये १ सय १८ वटाको काम पूरा भएको छ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नं. ३ मा २ वटा टावर निर्माणाधीन अवस्थामा छन् । लप्सीफेदी सब–स्टेशन तयार नहुँदासम्म भने प्रसारण लाइनको काम पूरा भएर पनि प्रयोगमा भने आउन सक्ने छैन । लप्सीफेदी सबस्टेशन प्रहरी परिचालन गरेर सरकारले निर्माण थालेको छ ।
एसियाली विकास बैंकको ऋण लगानीमा यो आयोजना निर्माणाधीन छ । लप्सीफेदीबाट नुवाकोट–पोखरा–बुटवल क्षेत्र भने एमसीसीको आयोजनाले ४०० केभीकै अर्को प्रसारण लाइन निर्माण गर्ने छ ।