काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजना, सडक, पुल तथा भौतिक पूर्वाधारमा भएको ठूलो क्षतिप्रति नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरूले गम्भीर दु:ख व्यक्त गर्दै तत्काल त्यसमा जुट्न सरोकारवाला निकायलाई आह्वान गरेका छन् ।
प्राधिकरणका क्रियाशील ५ वटा ट्रेड युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति सरकार गम्भीर भएर त्यसको उद्दारमा जुट्नुपर्ने बताएका छन् । नेपाल सरकार, प्राधिकरण तथा सम्पूर्ण सामाजिक संघ-संस्थालाई विपद्को यस घडीमा तत्काल उद्धार तथा राहत कार्यमा सहभागी हुन पनि अपिल गरिएको छ ।
ट्रेड युनियनहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल ध्यान दिनुपर्ने विषयहरू उठाउँदै प्राधिकरण व्यवस्थापन र सरकारसमक्ष विभिन्न माग राखेका छन् । प्रभावकारी समन्वय र पुनर्स्थापना, कर्मचारीको सुरक्षा र क्षतिपूर्ति, जलवायुजन्य जोखिम अध्ययन र विपद् प्रतिरोधी पूर्वाधार जस्ता माग राखिएको छ ।
प्राधिकरणमा ऊर्जाशील कर्मचारी संघ, कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघ क्रियाशील छन् ।