काठमाडौँ । सरकारी वित्तीय संस्था कृषि विकास बैंक लिमिटेडको अगुवाइमा ४० मेगावाटको माथिल्लो संखुवा खाेला जलविद्युत् आयोजनामा ६ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी व्यवस्थापन भएको छ । ह्याप्पी इनर्जी प्रालिले निर्माण अगाडि बढाएको आयोजनामा कृषि विकाससहित सिद्धार्थ बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटे, लुम्बिनी विकास बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लगानी गर्ने भएका हुन् ।
लगानी अगुवाकर्ता कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ प्रमुख आतिथि तथा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल विशेष अतिथि रहेको समारोहका बीच फागुन १२ गते लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनामा कृषि विकास बैंकले १ अर्ब ५० करोड, सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब ४५ करोड, प्रभु बैंकले, १ अर्ब, सिटिजन्स बैंक इन्टरनेशनलले ७५ करोड, लुम्बिनी विकासले ७५ करोड र सांग्रिला डेभलपमेन्टले ७३ करोड रुपैयाँ लगानी गर्ने टुंगो लागेको छ ।
८ अर्ब २४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत (रु. ६ अर्ब १८ करोड) ऋण र २५ प्रतिशत (रु. २ अर्ब ६ करोड) स्वपुँजी लगानी रहनेछ । संखुवासभाको सिलिचोङ गाउँपालिका- २ र ३ मा अघि बढाएको आयोजनामा स्वदेशी सहित गैरआवासीय नेपालीको समेत लगानी रहेको छ ।
२०७४ सालमा पहिचान भएको आयोजना अध्ययन गर्न विद्युत् विकास विभागले २०७५ असार ३२ गते अध्ययन अनुमतिपत्र प्रदान गरेको थियो । २०८० असोज ३० गते उत्पादन अुनमतिपत्र प्राप्त आयोजनाको निर्माण २०८५ जेठभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
समुद्र सतहबाट १३१८ मिटरदेखि १८३४ मिटरको उचाइमा अवस्थित आयोजनामा संखुवा खोलाको ९.१८ घनमिटर प्रतिसेकेण्ड पानी उपयोग गरिने भएको छ । आयोजनाको मुख्य हेडवर्क्स संखुवा खोला र लुनसुन खोलाको संगमबाट करिब ७५० मिटर माथिल्लो तटमा निर्माण हुने जनाइएको छ । आयोजनाबाट वार्षिक २४४ गिगावाट घन्टा (२४ करोड ४० लाख युनिट) विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।
प्रवर्द्धक कम्पनीका अनुसार अहिलेसम्म आयोजनाको पहुँचमार्ग, आवासगृह लगायतको काम भइरहेको तथा विस्फोटक पदार्थ आपूर्ति गर्न नेपाली सेनासँग सम्झौता भइसकेको छ ।