काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा विकास तथा स्वच्छ ऊर्जामा रूपान्तरण हुनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’को अवसरमा आज (आइतबार) केन्द्रमा आयोजित सरोकारवाला निकायहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विश्वव्यापपी जलवायु परिवर्तनको असरबाट जोगिन र कार्बन उत्सर्जन घटाउँदै लैजान सरकारले राखेका रणनीतिक योजनामा निरन्तर निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने ढकालले बताए । ‘केन्द्रले विगत २८ वर्षमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढाउने अब बन्ने ‘ऐन’ले सार्थकरूपमा अगाडि बढाउने छ,’ उनले भने, ‘विधेयक ऐनको रूपमा कार्यान्वयनमा आइसकेपछि हालसम्म हामीले गरेका कतिपय कामलाई टुंग्याउनुपर्ने हुन्छ वा तिनलाई साँधुरो बनाउँदै ल्याउन जरुरी छ ।’
सरकारले हालै सार्वजनिक गरेको सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ को ८१ बुँदै कार्ययोजनामा २० वटा बुँदा केन्द्रले नै गर्नुपर्ने कामसँग सम्बन्धित रहेको पनि कार्यकारी निर्देशक ढकालले प्रस्ट पारे । स्थापनाका सुरुवाती दिनमा उज्यालोको पहुँच पुर्याउने विषयमा केन्द्रित भए पनि आजको दिनमा केन्द्रको भूमिका फरक भएर आएको उनले बताए ।
‘हिजोका दिनमा निजी क्षेत्र भेन्डर अर्थात् सेवा प्रदायकको रूपमा मात्र उभिएको थियो भने अब आयोजना विकासकर्ताकै भूमिकामा अगाडि बढ्न जरुरी देखिन्छ,’ उनले थपे, ‘त्यस कार्यमा सरकार तथा केन्द्रले गर्नुपर्ने सहजीकरण फराकिलो हुँदै जानेछ । साथै, आयोजना प्राविधिकरूपमा सम्भाव्य हुनुपर्यो तर वित्तीय हिसाबले सम्भाव्य नदेखिए भिजिबिलिटी ग्याप फण्डिङ (भिजिएफ) मार्फत पनि जान सकिन्छ ।’
नेपालको विद्युत् उत्पादनको मुख्य स्रोत जलजलस्रोत हो तर अब एउटै स्रोतमाथि निर्भर भएर जानु जलवायु परिवर्तनका दृष्टिले प्रतिकूल भइसकेको पनि ढकालको धारणा थियो । विविध स्रोतमार्फत नवीकरणीय ऊर्जा विकास गर्न र सरकारको लक्ष्य पूरा गर्नका लागि समेत निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । जलविद्युत्काे अलवा सौर्य, वायु, बायोमास लगायत स्रोतलाई सम्भाव्यताको दृष्टिले विकास र उपयोग गर्दै जानुपर्नेमा उनले जोड दिए ।
सोही कार्यक्रममा केन्द्रका उपनिर्देशक डा. मुकेश घिमिरेले स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमका विषयमा प्रकाश पारेका थिए । संयुक्त राष्ट्र संघले हरेक वर्ष जनवरी २६ लाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’को रूपमा बनाउने निर्णय गरे अनुसार नेपालले पनि सोही दिनलाई मध्यनजर गरी विभिन्न साताव्यापी कार्यक्रम गर्दै आएको छ । गत सातादेखि केन्द्रको पहलमा नवीकरणीय ऊर्जा विकासमा काम गर्ने निजी क्षेत्रसँग सहकार्य गरी भए गरेका उपलब्धिको समीक्षा गर्नुका साथै भावी योजनामा विषयमा विचार विमर्शका कार्यक्रम भइरहेका छन् ।
यसैगरी, वैकल्पिक ऊर्जा विकास समितिका सदस्य कुशल गुरुङले स्वच्छ ऊर्जामा रूपान्तरण हुने सरकारको लक्ष्यमा पुग्नका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले सरकार तथा निजी क्षेत्रले गरेका काम तथा हासिल भएका उपलब्धिलाई संस्थागतरूपमा प्रचार–प्रसार गर्न सञ्चारमाध्यमको समेत उतिकै भूमिका रहने हुँदा कहीँ न कहीँ त्यो निकायलाई पनि सँगै जोडेर लैजानुपर्नेमा जोड दिए ।
आइतबार भएको सरोकारवालासँगको छलफलको मुख्य उद्देश्य यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती एवम् अवसरहरूका सम्बन्धमा सम्बन्धित पक्षसँग परामर्श गरी आगामी मार्गचित्र तय गर्ने थियो । आगामी दिनमा सहकार्य गर्नुपर्ने क्षेत्रका अवसरका विषयमा पनि विस्तृत छलफल गरिएको छ । यसबाट भोलिका दिनमा निजी क्षेत्र तथा सरोकारवाला निकायसँगको सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ ।
छलफल कार्यक्रममा नवीकरणीय ऊर्जा परिसंघ (रिकोन), नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिम्यान), नेपाल लघुजलविद्युत् विकास संस्था, नेपाल बायोग्यास प्रवर्द्धन संघ, नेपाल सौर्य ताप संघ, जैविक ऊर्जा व्यवसायी संघ लगायत संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।