काठमाडौँ । संखुवासभाको सिलिचोङ र मकालु गाउँपालिकामा प्रस्तावित २३ मेगावाटको अप्सुवा खोला–१ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवदेन तयार गर्न लागिएको छ । रामजानकी हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको ईआईए प्रतिवेदन नेपाल रुलर एन्ड एडभान्समेन्ट कमिटी प्रालिले तयार गरिरहेको हो ।
आयोजनाका लगि सिलिचोङ–५ अप्सुवा खोलाको दायाँतिर १६ मिलर लम्बाइ र २ मिटर उचाइको बाँधसंरचना निर्माण गरिने छ । २.५ मिटर चौडाइ हुने उक्त बाँधमा २ वटा इन्टेक रहने छन् । ५४ मिटर लम्बाई र ७ मिटर चौडाइका २ वटा बालुवा थिग्राउने पोखरी निर्माण गरिने छ । बाँधका इन्टेकबाट सो पोखरीमा पुर्याइने अप्सुवा खोलाको पानीलाई २.८ मिलोटिर लम्बाइ, ३ मिटर चौडाइ र ३ मिटर उचाइ भएको हेडरेस सुरुङमार्फत दबाटक गाउँमा निर्माण गरिने फोरवेसम्म लगिने छ । त्यहाँबाट ८३१.३८ मिटर लामो पेनस्टक पाइपको माध्यमबाट विद्युत् गृहमा पुर्याएर विद्युत् २३ मेगावाट विद्युत् उत्पादन गरिने योजना छ । आयोजनाले वार्षिक १२९.१० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
आयोजना निर्माण गर्दा सो क्षेत्रमा पर्ने भौतिक, प्राकृतिक, जैविक, सामाजिक, साँस्कृतिक तथा आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी सो क्षेत्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, अस्पताल, सरोकारवाला व्यक्ति तथा संस्थाले ७ दिन भित्र लिखित रायसुझाव पेश गर्न आग्रह गर्दै प्रवद्र्धक कम्पनीले आइतबार सूचना जारी गरेको छ ।