काठमाडौँ । अरुण तेस्रो जलविद्युत् आयोजनाको डम्पिङ साइट निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको उक्त आयोजनाको डम्पिङ साइटका लागि स्थायी रूपमा अधिग्रहण गरिने जग्गाको प्रतिरोपनी ११ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिने जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको हो ।
मंसिर २ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले घर, गोठ, टहरा तथा रुख, बिरुवासमेतको मुआब्जा निर्धारण गरिएको जनाएको छ । चिचिला गाउँपालिका–३ मा पर्ने १२२५ कित्ता नम्बरको ६ हजार २२० वर्गमिटर क्षेत्रफलको जग्गा अधिग्रहण गर्न लागिएको हो ।
मुआब्जाका लागि सम्बन्धित जग्गाधनीले सक्कल नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपत्र, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिदलगायतका प्रमाणसहित आवेदन दिन जिल्ला प्रशासन कार्याललय संखुवासभाले आह्वान गरेको छ ।