काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्ष असोज र चालु आव भदौको तुलनामा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ ।
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरण विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) का अनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट निर्यात भएको छ । यसबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
असोजमा दुई माध्यम अर्थात् द्विपक्षीय विद्युत् बिक्री सम्झौता अनुसार भारतको हरियाणा तथा बिहार राज्य र बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे—अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । साथै, देशभित्र माग पूरा भई बचत भएको वर्षायामको विद्युत् प्रत्येक वर्ष भारत एवम् बंगलादेशमा निर्यात हुँदै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ ।
२०८२ सालको असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आवको भदौमा यस्तो कारोबार रकम ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो । यसअनुसार गत वर्षको तुलनामा यस वर्ष निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ ।
प्राधिकरणका अनुसार चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बंगलादेशतर्फ निर्यात सुरु
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात गत शुक्रबार, कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो । बाढीले द्विपक्षीय सम्झौता बमोजिम स्वीकृति प्राप्त जलविद्युत् केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यात आंशिकरूपमा प्रभावित थियो ।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिए ।
प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच २०८१ असोज १७ गते वर्षाको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ ।
निर्यात क्षमता १,१७९ मेगावाट
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यात अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब १,१७९ मेगावाट पुगेको छ ।