काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीको तेह्रथुममा सञ्चालित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर आवेदन खुल्ला भएको हो ।
सय रुपैयाँमा अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता सेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईविएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत ११ गते सेयर निष्कासन अनुमति पाएको थियो । कम्पनीले पहिलो पटक २०७६ असोज १३ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमतिका लागि बोर्डमा आवेदन दिएको थियो । लामो समयसम्म थप प्रक्रिया अघि नबढेपछि बोर्डले कम्पनीलाई सूचीबाट हटाइदिएको थियो । कम्पनीले केही महिनाअघि दोस्रो पटक आवेदन दिएको थियो । कम्पनीले निर्माण गरेको आयोजना सञ्चालनमा छ ।