विद्युत अपडेट

  • प्राधिकरण : ८९५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०२८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२३० मे.वा.घन्टा
  • आयात : २२५३ मे.वा.घन्टा
  • निर्यात : ६४५८ मे.वा.घन्टा
  • ट्रिपिङ : १५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५१९६९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८२ मे.वा.
२०८२ असार १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । उच्च अदालत पाटनले व्यापारिक घराना दुगड समूह को लगानी रहेको कम्पनी पान हिमालय इनर्जी लिमिटेडले विद्युत् विकास विभागलाई विपक्षी बनाई दायर गरेको रिट निवेदन (उत्प्रेषण) खारेज गरेको छ । विद्युत् विकास विभागले आफ्नो जलविद्युत् आयोजनाको क्षेत्र काटेर अरुलाई नै सर्वेक्षण अनुमति दिएको भन्दै पान हिमालयले गत फागुन २५ गते उच्च अदालतमा रिट दायर गरेको थियो । न्यायाधीशहरू ऋषि राजभण्डरी र प्रकाश खरेलको संयुक्त इजलासले जेठ ७ गते उक्त रिट खारेज गरेको हो । 

लिखु खोलामा ३ वटा आयोजना निर्माण गरी सञ्चालन गरिरहेको पान हिमालयले २०७२ असोज २२ गते उत्पादन अनुमति लिएर ७७ मेगावाटको लिखु–१ जलविद्युत् केन्द्र सञ्चालन गर्दै आएको छ । उक्त आयोजनाको माथिल्लो क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत् आयोजनाको क्यासकेडको रूपमा हाइ भिजन इनर्जी एण्ड पावर लिमिटेडले ३.३ मेगावाटको नुप्चे–लिखु क्यासकेड आयाेजना विकास गर्न पान हिमालयसँग सहमति मागेको थियाे । 

यद्यपि, पान हिमालयले आफ्नो आयोजनाको क्षेत्र आंशिक रूपमा दोहोरिने (ओभरल्याप हुने), आफ्नो जलाधार क्षेत्रमा असर पर्ने र आफूले आंशिक जलाशय आयोजना बनाउन केही संरचना निर्माण कार्य बाँकी नै रहेको भन्दै भिजन इनर्जीलाई माथिल्लो क्षेत्रमा क्यास्केड आयोजना बनाउने सहमति दिन अस्वीकार गरेको थियो । 

हाइ भिजनले पटक–पटक अनुरोध गर्दा पनि पान हिमालयबाट सहमति पाउन नसकेपछि विद्युत् विकास विभागसँग २०८० भदौ १३ गते अनुमित माग्दै आवेदन दिएको थियो । विभागले आफ्ना प्रतिनिधिमार्फत स्थलगत अवलोकन भ्रमण प्रतिवेदन समेत तयार पारी हाई भिजन इनर्जीलाई उक्त क्यास्केड आयोजना निर्माणको अनुमति दिँदा तल्लाे तटमा रहेको लिखु–१ लाई कुनै असर नपर्ने निर्क्याेल निकालेको थियो । 

त्यसै अनुसार विभागले पान हिमालयको आयोजना क्षेत्रमा केही कटौती गरी माथिल्लो क्षेत्रमा क्यास्केड आयोजना विकास गर्न हाइ भिजन इनर्जीलाई उक्त आयोजना सर्वेक्षणको अनुमति दिएको थियो । त्यसपछि भने हाइ भिजनलाई क्यास्केड आयोजना बनाउन अनुमति दिने विभागको उक्त निर्णयविरुद्ध पान हिमालय अदालत गएको थियो । 

विभागले अनुमति दिइसकेको र अदालतले समेत पान हिमालयको रिट खारेज गरेकोले अब भने रामेछापको उमाकुण्ड गाउँपालिका प्रस्तावित उक्त नुप्चे–लिखु क्यासकेड आयोजना अध्ययन तथा विकासका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३