काठमाडौं । देशका विभिन्न स्थानमा ४ सय केभी क्षमता २३ प्रसारण लाइन आयोजना निर्माण हुने भएका छन् । निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न तथा प्रसारण प्रणालीमा दिगो र गुणस्तरीय बनाउन यी प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
विद्युत विकास विभागका अनुसार उच्च क्षमताका यी प्रसारण लाइन आयोजना अध्ययनका विभिन्न चरणमा छन् । विभागको तथ्याङक अनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले ४ सय केभी क्षमताका ७ वटा प्रसारण लाइनको अध्ययन गरिरहेको छ ।
यस्तै, नेपाल विद्युत प्राधिकरणले ११ वटा, विद्युत उत्पादन कम्पनीले २ वटा, सिएस पावरले एक वटा, अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले एक वटा र बेतन कर्णाली सन्जयकर्ता हाइडो पावर कम्पनीले एक वटा प्रसारण लाइनको अध्ययन गरिरहेको विभागले जनाएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले २ हजार २ सय ६० मेगावाट विद्युत प्रवाह क्षमता भएको ३५ किलोमिटर लामो अरुण कोरिडोर प्रसारण लाइनको अध्ययन गरिरहेको छ । कम्पनीले २०७४ चैत्र १ गते अध्ययन अनुमति लिइ काम अघि बढाएको हो । लाइनको अध्ययनको काम आगामी फागुनभित्र पूरा हुनेछ ।
यस्तै, २७ किलोमिटर लामो इन्डो– नेपाल बोर्डर लाइनको अध्ययन भइरहेको छ । २ हजार ५ सय मेगावाट विद्युत प्रवाह क्षमता भएको लाइनको अध्ययन २०७४ भदौदेखि सुरु भएको थियो । ७५ किलोमिटर लामो भेरी कोरिडोर पनि यही कम्पनीले अध्ययन गरिरहेको छ । २ हजार ४ सय मेगावाट विद्युत प्रवाह क्षमता भएको लाइनको अध्ययनको काम आगामी चैत्रभित्र पूरा हुनुपर्ने विभागको तथ्याङकमा छ ।
बेतन –दोदोधारा प्रसारण लाइन ३९ किलोमिटर लामो छ । विभागबाट २०७६ मा अध्ययन अनुमति लिइ काम अघि बढाइएको लाइन पूरा भएपछि साढे २ हजार मेगावाट बढी विद्युत प्रवाह हुनेछ । ५५ किलोमिटर लामो फुकोट–बेतन, ७२ किलोमिटर लामो बजाङ–पश्चिम सेती र १५५ किलोमिटर लामो पश्चिम सेती कोरिडोरको अध्ययन भइरहेको छ । यी लाइन पूरा भएपछि क्रमशः २ हजार ५ सय, एक हजार र १ हजार ५ सय मेगावाट विद्युत प्रवाह हुनेछ ।
यस्तै, प्राधिककरणले ९० किलोमिटर लामो दुधकोसी स्टोरेजको अध्ययन २०७६ जेठदेखि सुरु गरेको हो । ६ सय मेगावाट विद्युत प्रवाह क्षमता भएको लाइनको अध्ययनको काम आगामी २०७९ जेठभित्र पूरा गर्नुपर्नेछ ।
५ हजार मेगावाट विद्युत प्रवाह क्षमता रहेको ८० किलोमिटर लामो रातमाटे रसुवागढी लाइनको अध्ययनको काम २०७९ जेठभित्र पूरा हुनेछ । प्राधिकरणले २०७६ जेठमा लाइनको अध्ययन अनुमति पाएको थियो । ८५ किलोमिटर लामो बुढीगण्डकी कोरिडारको अध्ययन २०७९ पुसभित्र पूरा हुनेछ ।
तिङला हब–ढल्केबर प्रसारण लाइन १ सय ५५ किलोमिटर लामो छ । यो लाइनको विद्युत प्रवाह क्षमता साढे २ हजार मेगावाट छ । दमौदी कुस्मा–बुद्वीबाङ बाफीकोट लाइन २ सय ५ किलोमिटर लामो छ । यो लाइनको विद्युत प्रवाह क्षमता पनि साढे २ हजार मेगावाट छ ।
१ सय ५० किलोमिटर लामो न्यू बुटवल–लमाहो कोहलपुर र ९३ किलोमिटर दोदोधारा–न्यू अन्तरिया प्रसारण लाइनको विद्युत प्रवाह क्षमता १९३३/१९३३ मेगावाट छ । यो दुवै लाइनको अध्ययनको काम आगामी साउनभित्र पूरा हुनेछ ।
प्राधिरकणले लम्हाई–छिन्चु, छिन्चु–दोदोधारा प्रसारण लाइनको अध्ययन गरिरहेको छ । साढे ४ हजार मेगावाट विद्युत प्रवाह क्षमता भएको १ सय १५ किलोमिटर लामो शितलपाटी–इनरुवा प्रसारण लाइनको अध्ययन २०८० असोजभित्र पूरा हुनेछ । शितलपाटी तिङला–दुधकोसी लाइनको पनि अध्ययन भइरहेको छ । यो लाइनको पनि विद्युत प्रवाह क्षमता साढे ४ हजार मेगावाट रहेको विभागको तथ्याङकमा छ ।
यस्तै, विद्युत उत्पादन कम्पनीले फुकोट कर्णाली प्रसारण लाइन र किमाथान्का–अरुण लाइनको अध्ययन गरिरहेको छ । कम्पनीले यी दुवै लाइनको अध्ययन आगामी बैशाखभित्र सम्पन्न गर्नेछ ।
सिएस पावर कम्पनीले २ सय १६ किलोमिटर लामो छिन्चुु–बुटवल, बेतन कर्णाली सन्जयकर्ता हाइडो पावर कम्पनीले ५ किलोमिटर लामो ढकारी–बाघमरा बेतन कर्णाली र अप्पर अरुण हाइड्रो लिमिटेडले ६.५ किलोमिटर लामाे प्रसारण लाइनको अध्ययन गरिरहेका छन् ।