विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा २ सय ३८.२३ मेगावाटको १३ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी खाेला र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९०.५ मेगावाटको दुई वटा आयोजना निर्माण सुरु भएका बताउँदै ७१.५ मेगावाटका २ आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिए । विद्युत् विकास विभागका अनुसार धवलागिरिको भूगोलमा थप ७६.२३ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

‘भीरपहरा छिचोलेर बनाइएको आयोजनामार्फत यहाँ सडक सञ्जाल विस्ता हुनुका साथै यातायात सञ्चालन भई स्थानीयलाई आवतजावतमा सहज भएको छ । रोजगारी र आयआर्जनका अवसर सिर्जना भएका छन्, स्थानीयको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग भएको छ’, अध्यक्ष पुनले भने, ‘दीर्घकालीन रूपमा आयोजनाबाट उत्पादित विद्युत् बिक्री भएका प्राप्त हुने रोयल्टी (सलामी दरस्तुर) बाट गाउँपालिकामा पूर्वाधार निर्माण गरी नागरिकको सेवासुविधामा परिचालन गर्न सकिन्छ ।’

गत भदौदेखि निर्माण सुरु भएको म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३.५ मेगावाटको अपर म्याग्दी–१ को १६.५ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।  

धवलागिरि गाउँपालिका–४ खाम्लामा रहने बाँधमार्फत ५.७०० किमी सुरुङबाट ल्याउने पानीलाई मालिका गाउँपालिका–७ भारवाङमा बन्ने विद्युत्गृहमा एक सय ९६ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए । उनका अनुसार विसं २०८३ फागुन २१ गतेदेखि नियमित विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत ११ अर्ब २३ करोड २७ लाख अनुमान गरिएको छ ।  

हाइड्रो इम्पाएर प्रालि प्रवर्द्धक रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले धवलागिरि–४ सिम्कोश दोभानको बाँधबाट घिम्लेटी जोड्ने चार किमी लामो सुरुङ निर्माण सुरु गरिएको छ । उक्त आयोजना प्रमुख रमेश सुवेदीले विसं २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिएको जानकारी दिए । यस आयोजनाको कुल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार अनुमान गरिएको छ ।

हाइड्रोभिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको धवलागिरि–४ जेल्तुङमा प्रस्ताव गरिएको विद्युत्गृह निर्माणस्थल हालै सडक सञ्जालमा जोडिएको छ । खाम्लास्थित अपर म्याग्दी–१ को बाँधबाट नाउँरा हुँदै बगर जोड्ने उक्त सडक छ किमी दुरीको छ । 

जेल्तुङबाट १२ किमी दूरीमा रहेको दोभानसम्म पहुँचमार्ग निर्माणलाई निरन्तरता दिने तयारी भइरहेको धवलागिरि–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । 

धवलागिरि–३ मा ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणको तयारी गरेको छ । विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय स्रोत, जग्गा व्यवस्थापनलगायत काम सकेर यही वर्षदेखि बाँध, पेनस्टक पाइपलाइन र विद्युत्गृह निर्माण सुरु गर्ने तयारी भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए । 

विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको दरखोला जलविद्युत् आयोजनाको बाँध धवलागिरि–३ कुनौटो र सोही वडाको सोलवाङमा विद्युत्गृह प्रस्ताव गरिएको छ । तीन किमी एक सय मिटर पेनस्टक पाइपलाइन रहने उहाँले जानकारी दिए । 

धवलागिरि–४ मुदीमा १४.७० मेगावाटको मुदीखोला, २३.७० मेगावाटको म्याग्दीखोला (ए), धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला र १४.७० मेगावाटको मुदीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागले सम्बन्धित प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको जनाएको छ । 

धवलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीले वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेका आयोजनाहरूले स्थलगत सर्वेक्षण, वित्तीय स्रोत व्यवस्थापन र विद्युत् खरिद–बिक्री प्रक्रियामा रहेका जानकारी दिए । 

उहाँका अनुसार १४.७० मेगावाटको मुदीखोला, २० मेगावाटको कुनबानखोला, ३.४५ मेगावाट क्षमताको सिम्कोश, १२.७३ मेगावाट क्षमताको अपर मुदी, ९.५ मेगावाटको म्याग्दीखोला (बि) र ४.६ मेगावाटको तिरिजाखोला जलविद्युत् आयोजना निर्माण र सर्वेक्षणका लागि विद्युत् विकास विभागबाट विभिन्न प्रवर्द्धक कम्पनीले अनुमति लिएका छन् । 

म्याग्दी नदी र सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा सबस्टेसन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । 

आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाँडाखेत सबस्टेसनको काम आगामी ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गर्न थालिएको जानकारी दिए ।  

डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारणलाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ । 

गण्डकी प्रदेशसभाका सांसद रेशमबहादुर जुग्जालीले २२० केभी क्षमताको दाना सबस्टेसन निर्माण र १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन तथा प्रसारणलाइनको कामले गति लिन थालेपछि कालीगण्डकी, म्याग्दी, राहुघाट र सहायक नदीहरूमा जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३