काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन समयमा निर्माण पूरा नगर्दा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण पूरा भएकाे लामाे समय भइसक्दा पनि सञ्चालनमा आउन सकेकाे छैन । यही कारण आयाेजनामा उपकरण परीक्षण गर्न नपाएको भन्दै ठेकेदार कम्पनी भोइथ इन्डिया लिमिटेडले आयोजनाबाट फिर्ता हुने चेतावनी दिएको छ ।
आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरणको परीक्षणका लागि प्राधिकरणले चिलिमे हब सबस्टेशनमार्फत २०८० माघ २१ गतेदेखि नै १३२ केभी लाइनबाट विद्युत् (ब्याक चार्ज) उपलब्ध गराउनुपर्ने ठेक्का सम्झौता र आयोजनासँगको ग्रिड कनेक्सन एग्रिमेन्टको शर्त थियो । तर, ९ महिना बित्न लाग्दासमेत विद्युत् उपलब्ध नगराउँदा परीक्षण कार्य अलपत्र परेको ठेकेदार कम्पनीले गुनासो गर्दै आएको आयोजनाले जनाएको छ ।
आयोजनाको सिभिल संरचनाको सम्पूर्ण परीक्षण सकेर २०८० माघ २१ गते नै इलेक्ट्रो मेकानिक परीक्षणका लागि ‘मेन इन्लेट भल्ब’मा ‘फुल हेड’ पानी उपलब्ध गराइएको थियो । त्यतिबेलै विद्युत् पाएकाे भए आयोजनाको इलेक्ट्रो मेकानिकल संरचनाको परीक्षणसमेत सकिने थियो तर ती उपकरणको आंशिक परीक्षण भए पनि पूर्ण परीक्षण भने विद्युत् अभावका कारण लामो समयदेखि अलपत्र परेको छ ।
सम्झौताका शर्त बमोजिम प्राधिकरणका तर्फबाट विद्युत् उपलब्ध नहुँदा आफ्ना कर्मचारी, प्राविधिक तथा श्रमिकको समय खेर गएको र समय बढेकोले लागत समेत बढ्ने भन्दै ठेकेदार कम्पनीले थप रकम र समयको माग दाबी गर्दै प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडलाई बारम्बार पत्राचार गरिरहेको आयोजनाले जनाएको छ ।
खास गरी आयोजनाको विद्युत् प्रसारणका लागि निर्माणाधीन चिलिमे हब सबस्टेशन (२२० केभी) र चिलिमेदेखि त्रिशूली–३ ‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा आयोजनाले ब्याक चार्ज तथा विद्युत् उत्पादन गर्न नपाएको हो । विद्युत् उत्पादन गर्न नपाउँदा २०८० माघपछि हालसम्म कम्पनीले विद्युत् बिक्रीबाट हुने झण्डै ३ अर्ब रुपैयाँ आम्दानी (साविकमा दैनिक ९० लाख र वर्षायाममा दैनिक करिब १ कराेड २५ लाख रुपैयाँ) गुमाएको आयोजनाले जनाएको छ ।
साढे ३ वर्षमा सक्ने लक्ष्य राखिएकाे आयाेजनालाई ११ वर्ष
आयोजनाको निर्माण सन् २०१४ को फ्रेब्रुअरी ६ (२०७० माघ २३ गते) बाट शुरू भएको थियो भने २०१७ जुलाइ (२०७४ साउन) मा सम्पन्न गर्ने लक्ष्य थियो । यद्यपि, काम शुरू भएको ११ वर्ष पूरा हुन लाग्दासमेत आयाेजना सञ्चालनमा आउन सकेको छैन ।
आयाेजना पूरा नहुनुमा भूकम्प, नाकाबन्दी, कोरोना महामारी (कोभिड–१९), बर्खाको बाढी र पहिरो, हिउँदमै खस्ने सुख्खा पहिरो जस्ता प्राकृतिक अवरोधलाई कारण देखाउने गरिएकाे छ । प्राधिकरणले निर्माण गर्नुपर्ने प्रसारण लाइन र सबस्टेशनमा गरिएकाे ढिलासुस्तीलाई भने लुकाउने गरिएकाे छ । शुरूमा आयाेजना निर्माणमै ढिलासुस्ती भए पनि पछिल्लाे समय भने प्राधिकरणले प्रसारण लाइन र सबस्टेशन निर्माण ढिलाे गर्दा आयाेजनाकाे उत्पादन अनिश्चित बनिरहेकाे छ ।
आयोजनाकाे लट–१ अन्तर्गत सिभिल संरचनाको निर्माण सीडब्लुई कम्पनीले र लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिकल जडान कार्य भारतीय कम्पनी भोइथले पूरा गरिसकेका छन् । त्यस्तै, लट–३ अन्तर्गत विद्युत्गृहदेखि चिलिमे हबसम्म जोडिने १० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण रोयल कन्स्ट्रक्सन कम्पनीले पूरा गरेको छ ।
लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिकल उपकरणको जडान, ‘ड्राइ कमिसनिङ र वेट कमिसनिङ’का सम्भव भएसम्मका सबै काम सकिएका छन् । बाँकी इलेक्ट्राेमेकानिल संरचना परीक्षणकाे काम प्राधिकरणको निर्माणाधीन चिलिमे हब सबस्टेशन निर्माण नसकिएकाले हुन सकेकाे छैन । यसैले आयोजनाको बिजुली खेर गएकाे हाे ।
आयोजनाको थप विवरण
आयोजना : रसुवागढी जलविद्युत् आयोजना
प्रवर्द्धक : रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड
आयोजनास्थल : रसुवा, गोसाइकुण्ड गाउँँपालिका
लट–१ ठेकेदार (सिभिल तथा हाइड्रो मेकानिकल) : चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लूई) ।
ठेक्का सम्झौता : २०७० पुस २१ गते ।
लट–२ ठेकेदार (इलेक्ट्रो मेकानिकल) : भारतीय कम्पनी भोइथ हाइड्रो प्रालि ।
ठेक्का सम्झौता : २०७१ साउन १५ गते ।
लट–३ ठेकेदार (प्रसारण लाइन) : सुरुमा मुडभरि एन्ड जोशी कन्स्ट्रक्सन प्रालि । पछि एमएस रोयल कन्स्ट्रक्सन कम्पनी ।
ठेक्का सम्झौता : जोशी एन्ड मुडभरीसँग २०७४ असार १ गते । एमएस रोयलसँग २०७९ कात्तिक १५ गते ।
ऋण लगानीकर्ता : कर्मचारी सञ्चय कोष ।
प्रक्षेपित लागत : ऋण र विद्युत् खरिद सम्झौता (पिपिए) का क्रममा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ । ठेक्का स्वीकृतको चरणमा १५ अर्ब २० करोड रुपैयाँ ।
संशोधित लागत : १७ अर्ब १ करोड रुपैयाँ । पुनः संशोधित १८ अर्ब ४७ करोड ।
पिपिए : हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० रुपैयाँ ।
वार्षिक ऊर्जा उत्पादन : ६१ करोड ३८ लाख ६० हजार युनिट
विद्युत् उत्पादन तालिका : २०७८ भित्र, संशोधितः २०८० असार, पुनः संशोधितः २०८० असोज, नयाँ संशोधितः २०८० चैत ।
प्रसारण लाइन : चिलिमे हबसम्म १० किलोमिटर, १३२ केभी ।
वार्षिक आम्दानी : ३ अर्ब २५ करोड रुपैयाँ