काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न निर्देशनालय, प्रदेश कार्यालय, महाशाखा तथा विभागमा कार्यरत उपकार्यकारी निर्देशक तथा निर्देशकहरूको आन्तरिक जिम्मेवारीमा व्यापक फेरबदल गरेको छ । प्राधिकरणको आइतबारको निर्णयले नयाँ जिम्मेवारी तोकेको हो ।
प्राधिकरणका अनुसार उत्पादन निर्देशनालयमा कार्यरत उपकार्यकारी निर्देशक मदन तिमिल्सिनालाई इन्जिनियरिङ सेवा निर्देशनालयमा र अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठलाई उत्पादन निर्देशनालयमा जिम्मेवारी तोकिएको छ ।
इन्जिनियरिङ निर्देशनालयका फणिन्द्रराज जोशी सेवा अवधि पूरा भएपछि उक्त निर्देशनालयको जिम्मेवारी खाली थियो । अप्पर अरुणको जिम्मेवारीमा गणेश केसीलाई तोकिएको छ । हाल रघुगंगा हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशकको भूमिकामा रहेका उनलाई दुवै तर्फको जिम्मेवारी तोकिएको जनाइएको छ ।
त्यसैगरी, प्रादेशिक तह र विभिन्न विभागका नेतृत्वमा पनि जिम्मेवारी फेरिएको छ । कोशी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यलाई विद्युत् व्यापार विभागको प्रमुखमा सरुवा गरिएको छ भने विद्युत् व्यापार विभाग सम्हालिरहेका थर्कबहादुर थापालाई मध्यम भोल्टेज ग्रीड विकास महाशाखामा पठाइएको छ । कोशी प्रादेशिक कार्यालयको जिम्मेवारी भने जितेन्द्र यादवलाई तोकिएको छ ।
उता, भार प्रेषण केन्द्रको निर्देशक रहेका चन्दनकुमार घोषलाई चुहावट नियन्त्रण महाशाखामा सरुवा गरी उनको ठाउँमा अच्युतबाबु घिमिरेलाई पठाइएको छ । यस्तै, गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख विक्रमकुमार अमात्यलाई काठमाडौँस्थित ग्रीड सञ्चालन विभाग बानेश्वर र पोखरामा सुरज गौतमलाई जिम्मेवारी दिइएको छ ।
स्मार्ट मिटर आयोजनाकी निर्देशक रञ्जु पाण्डेलाई आयोजना व्यवस्थापन विभागमा र जंगबहादुर चन्दलाई स्मार्ट मिटर आयोजनामा जिम्मेवारी तोकिएको छ । वित्तीय तथा लेखातर्फका निर्देशक गणेश लुइँटेललाई संस्थागत वित्तीय विभागमा सरुवा गरिएको छ । संस्थागत वित्तीय विभागमा कार्यरत उमेश भण्डारीलाई आन्तरिक लेखाको जिम्मेवारी दिइएको छ भने समीर पोखरेललाई लेखा विभागमा पठाइएको छ ।