काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले आफ्ना ग्राहक/उपभोक्ताहरूका लागि २०८३ साल साउन महिनादेखि विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागु हुने जनाएको छ । नयाँ आर्थिक ऐन, २०८३ ले गरेको कानुनी व्यवस्था अनुसार कम्पनीले साउन १ गतेदेखि नै लागु हुने गरी विद्युत् महसुलमा भ्याट थप गर्ने निर्णय गरेको हो ।
कम्पनीद्वारा जारी सूचना अनुसार घरायसी प्रयोजनका लागि विद्युत् उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रतिमहिना ५० युनिटभन्दा बढी विद्युत् खपत गरेमा सो बढी खपत भएको महसुलमा ५ प्रतिशतका दरले भ्याट असुल गरिने छ ।
यसैगरी, घरायसी बाहेकका अन्य सम्पूर्ण विद्युत् उपभोक्ताहरूको हकमा भने कूल विद्युत् महसुलमा १३ प्रतिशतका दरले भ्याट लगाइने छ । यो व्यवस्था कानुनी रूपमै अनिवार्य गरिएकाले २०८३ साल साउन महिनाको बिलदेखि नै लागु हुने गरी भ्याट समायोजन गरिने कम्पनीले स्पष्ट पारेको छ ।