काठमाडौँ । गर्मीयाम सुरु भएसँगै भारतमा समेत विद्युत् उत्पादन घटेर सङ्कट उत्पन्न भएपछि नेपालले चाहेजति बिजुली किन्न पाएको छैन । स्वदेशी उत्पादनमा समेत गिरावट आएपछि नेपालमा विद्युत् कटौतीको समस्या बढ्न थालेको छ ।
नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार अहिले भारतका बिहारलगायत नेपालसँग सीमा जोडिएका राज्यहरूमा चरम ऊर्जा सङ्कट देखिएको छ । यही कारण नेपालले विद्युत् आदान–प्रदान समिति (पावर एक्सचेञ्ज कमिटी–पिइसी) तथा भारतीय विद्युत् बजार (इन्डियन इनर्जी एक्सचेञ्ज–आइइएक्स) बाट समेत बिजुली किन्न पाएको छैन ।
सङ्कट बढेपछि दुई–तीन दिनदेखि बेलुकी ६ देखि राति १० बजेसम्म भारतले विद्युत् दिन रोकेको केन्द्रका एक अधिकारीले बताए । ‘साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म लाइट लोडमा राख्नुपरेको अवस्था छ, यद्यपि, अहिले दुहबी ११ केभी फिडरमा मात्र काट्नु परेको छ,’ ती अधिकारीले भने, ‘अवस्था यही रहिरहे संकट थप बढ्ने देखिन्छ ।’
प्राधिकरणका अनुसार हाल आन्तरिक औसत उत्पादन जलाशयसहित १ हजार १७५ मेगावाट मात्र रहेको छ । जलाशयसहितको अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट भए पनि हालको विद्यमान उच्च माग (पिक लोड) २ हजार २४० मेगावाट व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मेहम्मे परेको छ ।
दिउँसोको माग १ हजार ८०० मेगावाट र रातिको माग १ हजार ६५० मेगावाट रहेको प्राधिकरणले जानकारी दिएको छ ।
मंगलबारकै तथ्याङ्क हेर्ने हो भने अवस्था उस्तै देखिन्छ । तथ्याङ्क अनुसार हाल प्राधिकरणका विद्युत् केन्द्रहरूबाट कुल ५०१ मेगावाट, त्यसका सहायक कम्पनीका केन्द्रहरूबाट ५१२ र निजी क्षेत्रका उत्पादन केन्द्रहरूबाट ६३६ मेगावाट उत्पादन भइरहेको छ । यसरी नेपालको कुल उत्पादन १ हजार ६४९ मेगावाट हुँदा कुल उच्च माग भने २ हजार ७७ मेगावाट रहेको छ । मागअनुसार आपूर्ति हुन नसकेको विद्युत् परिमाण करिब ३४० मेगावाट रहेको जनाइएको छ ।
प्राधिकरणका सहायक कम्पनीबाहेक निजी क्षेत्रबाट उत्पादित विद्युत् जडित क्षमता करिब २ हजार २०० मेगावाट रहे पनि मंगलबारको उत्पादन करिब २९ प्रतिशत (६३६ मेगावाट) मात्र देखिन्छ । यो सङ्कट टार्न भारतबाट आयात गर्न खोज्दा पनि प्राप्त हुन सकिरहेको छैन ।
भारतमा विद्युत् सङ्कट गहिरिँदै गएका कारण उच्च मूल्य (प्रतियुनिट भारु १०) मा किन्न खोज्दा पनि नेपालले मागको १ प्रतिशतसम्म पनि प्राप्त गर्न नसकेको केन्द्रले जनाएको छ ।
पछिल्लो दुई दिनयता नेपालका पहाडी क्षेत्रमा अधिकतम ३० डिग्री र तराईमा ४० डिग्रिसम्म तापक्रम पुगिसकेको छ । यस कारण पनि विद्युत् माग ह्वात्तै बढेर व्यवस्थापनमा केही कठिनाइ देखिएको प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पाकारले बताए ।
भारतबाट आयात भइरहेको आवस्था
प्राधिकरणका अनुसार भारतबाट पिइसी मार्फत बेलुका ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म १३२ केभी लाइनमार्फत अधिकतमा ३५० मेगावाट आपुर्ति गर्ने अनुमति पाएकोमा हाल मैनहिया सम्पतिया लाइनबाट बिहान २ः०० देखि ६ः०० र बेलुका ६ः०० देखि ७ः०० जम्मा ५० मेगावाटमात्र आपूर्ति भइरहेको छ ।
भारतमा आइपिएल क्रिकेट जारी रहदा माग बढेकोले आइइएक्सको दररेट पिइसीको भन्दा बढी भएकोले बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत खरिद गर्न नसकिएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार आइइएक्स मार्फत बिहान ६ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म र राति ११ ः०० देखि बिहान ४ः०० बजेसम्म विद्युत खरिद गरिदै आएकोमा ११ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गरि खरिद गर्न खोज्दासमेत प्राप्त भएको छैन । भारतबाट आयातमा कमी आए पनि उच्च सतर्कताका साथ व्यवस्थापनमा गर्ने प्रयास भइरहेको जनाइएको छ ।