विद्युत अपडेट

  • प्राधिकरण : ८५१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७९३८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३७९८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२४०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७०२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०९१ मे.वा.
२०८३ साउन ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को सीमापार विद्युत् व्यापारको तथ्याङ्कले विद्युत् निर्यातमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ । गतवर्ष नेपालले भारत तथा बङ्गलादेशमा विद्युत् निर्यात गरी कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । याे अघिल्लो आर्थिक वर्ष (२०८१/०८२) को तुलनामा ६७.९६ प्रतिशतले बढी हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष (२०८१/०८२) मा २ अर्ब ३८ करोड २९ लाख युनिट (किलाेवाट घण्टा) विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो । गतवर्ष भने निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ ।

भारतीय खुला तथा प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्जको डेअहेड मार्केट तथा रियल टाइम मार्केट र एनभिभिएनमार्फत तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत गतवर्ष औसत ७.५६ रुपैयाँ प्रतियुनिटका दरले बिजुली बिक्री गरिएको थियो ।

निर्यात आम्दानीमा अभूतपूर्व वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ । आर्थिक वर्ष २०८१/०८२ मा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँमा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गरिएको थियो । समीक्षा वर्ष २०८२/०८३ मा भने आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ । आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्चसमेत घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा समेटिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो ।

समीक्षा वर्षमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको हो ।

देशभित्रै जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित हुँदै गएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३