विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तामाकोसी नदी कोरिडोर र त्यसवरपरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् काठमाडौंसम्म ल्याउने भरपर्दो बाटोका रूपमा तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन निर्माण भइरहेको छ । कोभिड महामारीको असरका बावजुत काम भइरहे पनि रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंका विभिन्न ठाउँमा स्थानीयले वर्षौंदेखि तगारो हालेका छन् ।

कूल १०६.५ किलोमिटर निर्माण गर्नुपर्ने प्रसारण लाइनको काम ३ वटा खण्ड (प्याकेज) मा बाँडेर अगाडि बढाइएको छ । जसमा खिम्ती–बाह्रबीसे ४६ किलोमिटर, बाह्रबीसे–लम्सीफेदी ४६.५ किलोमिटर र लप्सीफेदी–चाँगुनारायण १४ किलोमिटर छ । बाह्रबीसे–लप्सीफेदी र लप्सीफेदी–चाँगुनारायण दोस्रो तथा खिम्ती, बाह्रबीसे र लप्सीफेदीमा निर्माण हुने सबस्टेसनलाई तेस्रो प्याकेजमा बाँडिएको छ ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण हुने यस आयोजनाको समग्र भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी पूरा भएको छ । रामेछापको फुलासी, सिन्धुपाल्चोक र काठमाडौं प्रवेश गर्ने नाकामा लामो समयदेखि स्थानीयको अवरोध कायमै रहेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक रामजी भण्डारीले बताए ।

‘प्रसारण लाइन निर्माणमा देशैभरि समस्या छ, जसबाट यो आयोजना अलग हुने कुरै रहेन,’ उनले ऊर्जा खबरसँग भने, ‘रामेछापको केही ठाउँ, सिन्धुपाल्चोकको ४ वटा र काठमाडौंमा ५ वटा टावर निर्माण गर्ने जग्गामा स्थानीयले प्रवेश गर्नै दिएका छैनन् ।’ यसबारे अर्थ मन्त्रालयमा छलफल भएको हुँदा अर्थ तथा भूमिसुधारले सहजीकरण गर्ने निर्णय भएको उनले बताए ।

आयोजनाका अनुसार निर्माण क्षेत्रमा खटिएका कर्मचारीलाई काम गर्न नदिन, धम्क्याउन तथा विरोध गर्न स्थानीयबासी खुकुरी, भाला जस्ता हतियार बोकेर आइलाग्ने गरेका छन् । यस्ता गतिविधिका कारण कर्मचारीहरू निर्माण क्षेत्रमै नजाने हुँदा वर्षौंसम्म काम अगाडि बढ्न नसकेको बताइएको छ ।

पहिलो खण्ड

निर्देशनालयका अनुसार पहिलो खण्ड (खिम्ती–बाह्रबीसे) निर्माण गर्न केइसी इन्टरनेशनल इन्डिया लिमिटेडले ठेक्का पाएको छ । उसले सन् २०१९ जुलाई २० देखि निर्माण सुरु गरेको थियो । अहिलेसम्म २९ वटा टावर गाड्न जग खनिसकिएको छ भने एउटा टावर ठड्याइएको र थप १५ वटाको जग खन्ने काम भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

यस खण्डको काम सन् २०२१, अक्टोबर ११ भित्र सक्नुपर्ने भए पनि कोरोना महामारी, स्थानीयको अवरोध जस्ता गतिविधिले निर्माण अवधि लम्बिने भएको छ । समय थप गरे चालू आर्थिक वर्ष (आव २०७८/७९) भित्र निर्माण पूरा गरिने भण्डारीले बताए ।

यस खण्डको निर्माण गर्न १ करोड ७३ लाख १६ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९६ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ११५ वटा ४०० केभीका टावर खडा गरी ‘कोड मस’ तार तानिनेछ । जसमा एक–एक वटा अर्थ वायर र २४ वटा ओपिजीडब्लू रहनेछ ।

यस खण्डको रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा क्रमशः ३, ८५ र २७ वटा टावर निर्माण हुनेछन् । स्थानीयको अवरोधका कारण रामेछापमा काम अगाडि बढाउन नसकिएको भण्डारीले जानकारी दिए ।

दोस्रो खण्ड

यस प्याकेजमा निर्माणाधीन २२०/१३२/११ केभी बाह्रबीसे सबस्टेसनदेखि लप्सीफेदीसम्म ४०० केभी र लप्सीफेदीदेखि चाँगुनारायण सबस्टेसनसम्म १३२ केभी डबल सर्किट लाइन निर्माण हुनेछ । चाँगुनारायणदेखि दुवाकोटसम्म १३२ केभी मल्टि सर्किट प्रसारण लाइन निर्माण हुनेछ । भारतको लार्सन एन्ड टर्बो (एल एन्ड टी) कम्पनीलाई ठेक्का दिइएको यस खण्डको काम सन् २०१३ अगष्ट १३ देखि सुरु भएको थियो । सन् २०२० अप्रिल ८ भित्र निर्माण पूरा गर्नुपर्ने समय तोकिए पनि संशोधन गरी सन् २०२२ मार्च ३१ सम्म पुर्याइएको छ ।

यस खण्डमा १२२ वटा ४०० केभी र ५६ वटा १३२ केभीका टावर निर्माण हुनेछन् । ४०० केभी  टावरमध्ये ९६ वटाको जग तयार भइसकेको छ भने ७५ वटा ठड्याइएको छ । केही ठाउँमा तार तान्ने काम सुरु भएको भण्डारीले बताए । उनका अनुसार सिन्धुपाल्चोकमा नापी नभएको जग्गा फेला परेको हुँदा यसबारे अर्थ मन्त्रालयसँग परामर्श गरी काम अगाडि बढाइएको छ ।

यही खण्डमा स्थानीयबासीको सबैभन्दा बढी विरोध छ । काठमाडौंको शंकरापुर नगरपालिका बोझिनी गाउँमा प्रसारण लाइनको बाटोमा पर्ने जग्गा पहिचानमै स्थानीयले विरोध गरेको भण्डारीले बताए । ‘यो लगायत देशका विभिन्न ठाउँमा प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा उच्चस्तरीय टास्क फोर्स गठन गर्ने भनिएको छ,’ उनले भने, ‘चाँडै समस्या समाधान होला ।’

यसैगरी, यसै खण्डको लप्सीफेदी–चाँगुनारायणमा निर्माण हुने १३२ केभी प्रसारण लाइनमा स्थानीयको अत्याधिक अवरोध छ । आयोजनाका अनुसार शंखरापुर नगरपालिका–४ बोझिनी गाउँ, कात्तिके भञ्ज्याङ, सुनटोल, पालुबारीमा चर्को विरोध छ । यस क्षेत्रमा प्रसारण लाइनको रुट (बाटो) बदल्नुपर्ने माग रहेको भण्डारीले बताए । जग्गा पहिचानमा खटिएका कर्मचारीलाई धम्क्याउने गतिविधि कायमै रहने हो भने संशोधित समयभित्र पनि काम पूरा हुने सम्भावना देखिँदैन ।

तेस्रो खण्ड

यस खण्डमा खिम्ती, बाह्रबीसे र लप्सीफेदीमा ४०० केभी प्रसारण लाइन निर्माण हुनेछन् । जसअन्गर्त सिन्धुपाल्चोकको बाह्रबीसे–४ पलातीमा १६० एमभिएको २२०/१३२/११ केभी, रामेछापको फुलासीस्थित निर्माणाधीन न्यू खिम्ती सबस्टेसनमा दुई वटा २२० केभी लाइन बे निर्माण हुनेछ ।

यस कामका लागि ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन र सेनजेन क्लो इलेक्ट्रोनिक्स कम्पनीलाई संयुक्तरूपमा ठेक्का दिइएको छ । ठेक्का सम्झौता अनुसार यो खण्डको काम ८७ लाख ९३ हजार अमेरिकी डलर र ३ करोड १५ लाख ३९ हजार रुपैयाँमा पूरा गर्नुपर्ने उल्लेख छ । जुन काम सन् २०२१ नोभेम्बरसम्म पूरा गर्ने समयसीमा तोकिएको छ ।

बाह्रबीसे सबस्टेसनको साइट भौगोलिकरूपमा अत्यन्त विकट तथा भूक्षयबाट जोखिममा रहेको क्षेत्र हो । बाह्रबीसे बजारदेखि सबस्टेसनसम्म पुग्ने करिब ५ किलोमिटर बाटोको अवस्था असाध्यै नाजुक भएकोले ठेकेदारले निर्माण उपकरण तथा सामग्री पुर्याउन कठिन भएको भण्डारीको भनाइ छ । उनका अनुसारठेकेदारको कमजोर कार्य सम्पादनका कारण निर्माणमा ढिलाई तथा सबस्टेसनतर्फको प्रगति न्यून छ ।

आयोजनाको उद्देश्य

यस आयोजनाको उद्देश्य दोलखा–खिम्ती बेसिन तथा बलेफी करिडोरमा निर्माणाधीन आयोजनाबाट उत्पादित विद्युत करिब ४५ किलोमिटरको ४०० केभी डबल सर्किट लाइनमार्फत बाह्रबीसे सबस्टेसनसम्म जोड्ने हो । साथै, निर्माण भइसकेका र निर्माणाधिन संरचनाबाट राष्ट्रिय प्रसारण ग्रिडमा आवद्घ गराउने हो ।

त्यहाँबाट ४०० केभी डबल सकिट प्रसारण लाइनमार्फत काठमाडौंको निर्माणाधिन लप्सीफेदी सबस्टेसनमा जोडिनेछ । यसपछि, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले निर्माण गर्ने ४०० केभी प्रसारण लाइनमार्फत न्यू बुटवलसम्म आवद्ध हुनेछ । यसबाट निर्माण गरिने १० किलोमिटर १३२ केभी डबल तथा ४ किलोमिटर मल्टि सर्किट लाइनबाट चाँगुनारायण सब्स्टेसन हुँदै राष्ट्रिय प्रसारण ग्रिडमा आवद्घ गराइनेछ । जसबाट उपत्यकाभित्रको विद्युत आपूर्तिको व्यवस्था सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit