काठमाडौं । साहस ऊर्जा लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला भएको हो ।
सय रुपैयाँमा अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन भएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले छिटोमा असोज १० गतेसम्म र ढिलोमा असोज २० गतेसम्म आवेदन दिने सक्नेछन् । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्ने जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको छ । कम्पनीले इकरा नेपालबाट ‘बि बि प्लस’ रेटिङ पाएको छ । कम्पनीको सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।
आयोजनाको ७४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ बैंकले लगानी गरेका छन् ।