काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले हुन आउने ११ करोड २ लाख ५० हजार रुपैयाँ बराबरका ११ लाख २ हजार ५०० कित्ता सेयर वितरण गर्ने निर्णय भएको कम्पनीले उल्लेख गरेको छ ।
उक्त बोनस सेयरको लाभांश कर प्रयोजनका लागि कम्पनीले हाल कायम चुक्ता पुँजीको ०.२६४२ प्रतिशतले हुन आउने ५८ लाख २ हजार ६३२ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने जनाएको छ । यसरी बोनस सेयर र नगद लाभांश गरी कुल ११ करोड ६० लाख ५२ हजार ६३२ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।
उक्त लाभांश आगामी पुष ४ गते हुने कम्पनीको १६औँ साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा लगिने जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा पनि कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । कम्पनीले कास्कीको मादी गाउँपालिकामा सुपर मादी जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।