गोरखा । गोरखाको उत्तरी दुर्गम गाउँ लाप्राकमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख विक्रमकुमार अमात्य तथा धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले बिहीबार एक समारोहका बीच वडा कार्यालयमा बत्ती बालेर विद्युत् सेवाको शुभारम्भ गरेका हुन् ।
यससँगै लाप्राकको पुरानो बस्ती तथा एनआरएनएले निर्माण गरेको गुप्सीबस्ती दुवैमा केन्द्रीय प्रसारण लाइनबाट बत्ती पुगेको छ । नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रबाट हालसम्मकै सबैभन्दा टाढाको बस्तीमा विद्युत् पुर्याउन सफल भएको केन्द्र प्रमुख चिजबहादुर गुरुङले बताए ।
यसअघि लाप्राकमा २० किलोवाट र २६ किलोवाटका दुई लघु जलविद्युत् योजना सञ्चालनमा रहेका थिए । अब सिरानचोक गाउँपालिका–२, थालाजुङको ठूलोस्वाँरा सबस्टेसनबाट बारपाक हुँदै ११ केभी क्षमताको लाइन विस्तार भई लाप्राकमा विद्युत् पुगेको हो । सेवा प्रवाहका लागि गुप्सीपाखामा १०० केभिए र पुरानो बस्तीमा ५०–५० केभिए क्षमताका ३ वटा ट्रान्सफर्मर जडान गरिएको गोरखा वितरण केन्द्रका प्रमुख गुरुङले जानकारी दिए ।
केन्द्रीय लाइन विस्तारसँगै अब गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको मिनिरल वाटर प्रशोधन केन्द्र सञ्चालन गर्न सकिने वडाध्यक्ष किसान गुरुङले बताए । उनका अनुसार विद्युत्को अभावका कारण कुटानी–पिसानी मिल तथा काठ चिरान मिल चलाउन कठिनाइ थियो । अब यी सेवा सहज रूपमा सञ्चालन गर्न सकिने भएको छ ।
गुप्सीबस्ती र पुरानो बस्तीका गरी सात सयभन्दा बढी घरधुरीले केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा पाउनेछन् । ४ वर्षअघि सुरु भएको प्रसारण लाइन विस्तारको काम सम्पन्न भएसँगै बिहीबारसम्म ८० घरधुरीमा मिटरबक्स जडान भइसकेको केन्द्र प्रमुख गुरुङले जानकारी दिए ।