विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

लगानीको सम्भावना राम्रो रहेको, प्रतिफलको सुनिश्चितता भएको, पुनर्कर्जासँगै अन्य सहुलियत कर्जाको उपलब्धतालगायत कारण विदेशी लगानीकर्ता जलविद्युत् क्षेत्रमा आकर्षित देखिएको जानकारहरू बताउँछन् ।

पछिल्ला तीन आर्थिक वर्ष (चालु आवको पाँच महिना मात्र) मा ३७ अर्ब ४ करोड रुपैयाँ विदेशी लगानी आएको छ । त्यसमध्ये ३३ अर्ब २३ करोड रुपैयाँ जलविद्युत् क्षेत्रमा आएको छ । यो यस अवधिको कुल विदेशी लगानीको करिब ९० प्रतिशत हो । चालु आर्थिक वर्षको पाँच महिनामा भने ४ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो साढे ३१ प्रतिशत कम हो । यस अवधिमा नेपाल भित्रिएको कुल विदेशी लगानीमध्ये झन्डै ९४ प्रतिशत रकम जलविद्युत् आयोजनामा आएको छ ।

पाँच महिनामा सात वटा जलविद्युत् आयोजनामा ४ अर्ब २२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । यसमध्ये सबैभन्दा धेरै अरुण तेस्रोमा ३ अर्ब २० करोड रुपैयाँ आएको छ । साथै सालासुंगी पावरमा ११ करोड २२ लाख, लाङटाङ भोटेकोसी हाइड्रोपावरमा ३५ करोड ७९ लाख, अपर मर्स्याङदी हाइड्रोपावरमा ३६ करोड ७ लाख, दिव्यज्योति हाइड्रोपावरमा ५१ लाख, प्यान हिमालयन इनर्जीमा २ करोड ७५ लाख र जीएमआर अपर कर्णाली हाइड्रोपावरमा १५ करोड ७८ लाख रुपैयाँ भित्रिएको छ ।

नेपालमा लगानीका अन्य क्षेत्रको तुलनामा जलविद्युत् क्षेत्रमा तुलनात्मक लाभ धेरै रहेकाले पछिल्ला वर्षहरूमा विदेशी लगानीकर्ताको आकर्षण बढेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । ‘यो क्षेत्रमा उत्पादन सम्भावना राम्रो छ, बजारका लागि छिमेकी राष्ट्रबाट माग आइरहेको छ,’ उनले भने, ‘यो क्षेत्रको लगानीलाई सरकारले प्राथमिकता र विभिन्न सेवा, सुविधा पनि दिएको छ ।’ उच्च प्रतिशत र लगानी सुरक्षित भएकाले पनि विदशी लगानीकर्ताको रोजाइमा परेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालमा कुल १९ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यसमध्ये आठ वटा हाइड्रोपावर आयोजनामा ८२.५१ प्रतिशत लगानी आएको छ । आर्थिक वर्ष २०७६/७७ मा ती आयोजनामा कुल १६ अर्ब ७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । नेपाल भित्रिने रेमिट्यान्समा कोभिड–१९ को प्रभाव नदेखिए पनि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रभावित भएको छ ।

चालु आर्थिक वर्षका पाँच महिनामध्ये चार महिनामा लगातार विदेशी लगानी घटेपछि यसलाई कोरोनाको प्रभावका रूपमा विश्लेषण गरिएको हो । गत साउनमा विदेशी लगानी ३.३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । गत आर्थिक वर्षका सबै महिनामा उच्च दरले बढेको विदेशी लगानी चालु आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । भदौमा विदेशी लगानी २३.३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो ।

तर असोजमा यस्तो लगानी २६.८ प्रतिशत र कात्तिकमा २४ प्रतिशत घट्यो । मंसिरमा पनि सोही प्रवृत्ति दोहोरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । कोरोनाको कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेको समयमा नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकले बताएको छ । कोभिड–१९ का कारण विश्वभर नै लगानी विस्तारमा सुस्तता आएकाले नेपालमा पनि त्यसको असर देखिएको राष्ट्र बैंकको तर्क छ ।

विदेशी लगानी भित्र्याउन राज्य स्तरबाट भएका प्रयास पर्याप्त नभएकाले पनि विदेशी लगानी घटेको जानकारहरू बताउँछन् । सरकारले विदेशी लगानीसम्बन्धी ऐन नियमावलीमा केही परिमार्जन गरेको छ । यो राम्रो कदम भए पनि पर्याप्त नभएको उनीहरूको भनाइ छ । तर लगानीका लागि अझै पनि जग्गा प्राप्ति, स्थानीय निकायको किचलोलगायत थुप्रै व्यावहारिक कठिनाइ छन् ।

यही कारण विदेशी लगानीकर्ता स्वस्फूर्त रूपमा आउन सकेका छैनन् । व्यावहारिक जटिलता न्यूनीकरण नगरेसम्म अपेक्षित विदेशी लगानी भित्रिन नसक्ने जानकारहरू बताउँछन् ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit