काठमाडौँ । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएका २४ वटा शवको पहिचान तथा सनाखतमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले मृतकका परिवार तथा आफन्तजनसँग आग्रह गरेको छ ।
गत भदौ १० को विनाशकारी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि आमाछोदिङ्गो गाउँपालिका–१ (हाकु) स्थित २१६ मेगावाटको उक्त आयोजनाको सुरुङबाट असोज १ र २ गते ती शवहरू निकालिएको थियो । असोज ३ गते दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत ती शव नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय (खम्बाक्याम्प) को परिसरमा ल्याइएको थियो ।
तिनै शव पहिचानका लागि प्रहरीले बेपत्ता कर्मचारी तथा कामदारका परिवार तथा आफन्तजनलाई उपस्थित भई सहयोग गरिदिन आग्रह गरेको हो ।
