विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २५, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

नेपाल ऊर्जामा आत्मनिर्भर हुँदै विद्युत् निर्यात गरी हरित ऊर्जा विकासको लक्ष्यमा अघि बढिरहेको छ । यस सन्दर्भमा सौर्य ऊर्जा अब वैकल्पिक स्रोतमात्र रहेन । देशको ऊर्जा मिश्रणलाई सन्तुलित बनाउन, हिउँदमा जलविद्युत्‌को दबाब घटाउन र विद्युत् उत्पादनको गति बढाउन सौर्य ऊर्जा महत्त्वपूर्ण आधार बनिसकेको छ ।सौर्य आयोजनाको विकास र स्वीकृति प्रक्रियामा अझै धेरै ठाउँमा जलविद्युत्‌लाई हेर्ने दृष्टिकोण र मापदण्डमै राखेर हेर्ने प्रवृत्ति देखिन्छ । यसले वास्तविक प्राविधिक जोखिमभन्दा बढी प्रशासनिक झन्झट सिर्जना गरिरहेको छ । अन्ततः आयोजनाको समय तथा लागत दुवै बढाइरहेको छ । हाल देखिएको आयोजनाको भौगोलिक निर्देशाङ्‌क (प्रोजेक्ट कोअर्डिनेट/अक्षांश-देशान्तर वा नक्साको बिन्दु) संशोधन सम्बन्धी विषय यसको एउटा स्पष्ट उदाहरण हो ।

कानुनी अधिकार

विद्युत् नियमावली, २०५० को चौथो संशोधन (२०७३) अन्तर्गत नियम ८ मा सौर्य आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिने व्यवस्था छ । जसअनुसार आवश्यक जाँचबुझपछि विद्युत् विकास विभागका महानिर्देशकले निवेदकको माग वा आवश्यक भए संशोधनसमेत गरी अनुमतिपत्र दिन सक्नेछन् । यही व्यवस्थामा जलाशय वा बहुउद्देश्यीय बाहेकका जलविद्युत् आयोजना मात्र नभई सौर्य, वायु, जैविक पिण्ड (बायोमास) तथा फोहोरबाट गरिने विद्युत् उत्पादनसमेत स्पष्टरूपमा समेटिएको छ ।

 अर्थ स्पष्ट छ– सौर्य आयोजनाको सर्वेक्षण अनुमतिपत्रमा आवश्यक संशोधन गर्नुपर्ने अवस्था आए सम्बन्धित कानुनी व्यवस्थाभित्र रहेर त्यसलाई व्यावहारिकरूपमा सम्बोधन गर्ने अधिकार दिएको छ । त्यसैले, सामान्य र न्यून प्रभाव पर्ने भौगोलिक निर्देशाङ्‌क संशोधनलाई लामो प्रशासनिक प्रक्रियामा राखेर आयोजना नै ढिलाइ हुने अवस्था सिर्जना गर्नु कानुनको उद्देश्य, मर्म र भावनाविपरीत हुन जान्छ ।

सौर्य र जलविद्युत्‌को निर्देशाङ्‌क

जलविद्युत् आयोजनाको नदी, जलाधार, बाँध, सुरुङ, विद्युत्‌गृह लगायतका भौगोलिक संरचनासँग निर्देशाङ्‌कको प्रत्यक्ष सम्बन्ध हुन्छ । एउटा जलविद्युत् प्रवर्द्धकको आयोजना क्षेत्र समाप्त भएर अर्को प्रवर्द्धकको क्षेत्र सुरु हुने अवस्थामा सीमाको निर्देशाङ्‌क अत्यन्त संवेदनशील विषय बन्न सक्छ ।

यही कारण कुनै दुई जलविद्युत् आयोजनाको निर्देशाङ्‌क जोड्ने क्रममा अन्तिम बिन्दुमा ५-६ इन्चसम्मको अत्यन्त सानो खप्ट्याई (ओभरल्याप) वा समायोजन देखिन सक्छ । यस्तो अवस्थामा दुई आयोजनाको भौगोलिक सीमा र अधिकारमा असर पर्न सक्ने हुँदा निर्देशाङ्‌कको विषयलाई सावधानीपूर्वक परीक्षण गर्नु स्वाभाविक हो । यद्यपि, यही दृष्टिकोण सौर्य आयोजनामा जस्ताको तस्तै लागु गर्न मिल्दैन ।

सौर्य आयोजनाको जग्गाको आवश्यकता र सौर्य पाताहरूको संरचनागत फैलावटको प्रकृति नै फरक हुन्छ । सौर्य पाताहरूको अन्तिम सीमा कुनै एकल पक्की संरचनाको जगजस्तो स्थिर र अपरिवर्तनीय हुँदैन । पाताको ढाँचा, पहुँचमार्ग, इन्भर्टरको स्थान, निकास, तोकिएको दूरी, जग्गाको कित्ताको बनावट तथा स्थलगत उपयोगका आधारमा आयोजना क्षेत्रभित्रै केही हदसम्म सार्न वा पुनः व्यवस्थित गर्न सकिन्छ । 

त्यसैले, सौर्य आयोजनाको अन्तिम सीमा निर्धारण गर्दा निम्न वास्तविक अवस्था स्वीकार गर्ने लचिलो व्यवस्था आवश्यक छ:

•    जोडिएका वा नजिकै रहेको जग्गाको अधिकतम उपयोग । 
•    एउटै स्वीकृत परियोजना क्षेत्रभित्रै सौर्य पाताको स्थान परिवर्तन । 
•    आवश्यकता अनुसार १५ प्रतिशत वा त्यसभन्दा कम खप्ट्याई ।
•    आयोजनाको स्वीकृत क्षेत्र र विद्युत् निकासको व्यवस्थाभित्रै रहेर काम हुने ।
•    तोकिएको सबस्टेसन वा राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) प्रयोग हुने र स्वीकृत उत्पादन क्षमता यथावत् रहने । 

यसकारण सौर्य आयोजनाको हकमा केवल "जग्गाको बहुभुज (पोलिगन) कति प्रतिशत खप्टियो ?" भन्ने प्रश्नलाई निर्णायक मापदण्ड बनाउनु उपयुक्त हुँदैन ।

मुख्य परीक्षण

सौर्य आयोजनाको निर्देशाङ्‌क वा सीमा संशोधन स्वीकृत गर्दा मुख्य रूपमा यी तीन विषय हेर्नुपर्छ: 

१. उही आयोजना : संशोधित जग्गा/क्षेत्र सोही परियोजनाको विकासका लागि हो कि होइन ?

२. उही निकास बिन्दु/सबस्टेसन : विद्युत् खरिद सम्झौता (पिपिए) तथा ग्रिड पहुँच सम्झौतामा तोकिएको उही सबस्टेसनमा विद्युत् पुर्‍याउने हो कि होइन ? 

३. उही स्वीकृत क्षमता : प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्राप्त वा स्वीकृत विद्युत् उत्पादन क्षमता परिवर्तन भएको छ कि छैन ? 

यी तीनै आधार कायम छन् भने केवल जग्गाको बहुभुजको आकार वा खप्टिएको प्रतिशतमा भएको परिवर्तन ठूलो संशोधनका रूपमा लिएर आयोजना रोक्नु अन्यायपूर्ण हुन्छ । अर्थात् सौर्य आयोजनामा "उही परियोजना+उही निकास बिन्दु+उही स्वीकृत क्षमता"नै मूल नियमनकारी परीक्षण हुनुपर्छ, खप्ट्याईको अङ्कगणितीय प्रतिशत होइन ।

यसरी हेर्दा सौर्य आयोजनाको वास्तविक प्राविधिक र व्यावसायिक प्रकृतिलाई सम्बोधन गर्न सकिन्छ र अनावश्यक प्रशासनिक उल्झन हटाउन सकिन्छ ।

ग्रिडमा भिन्नता नहुने अवस्था

कुनै सौर्य आयोजनाको पिपिए तथा विद्युत् प्राधिकरणसँगको प्रसारण सम्झौतामा निकास बिन्दु 'बानेश्वर' भनेर स्पष्ट निर्धारण गरिएको छ । प्रवर्द्धकले बानेश्वरसम्म विद्युत् पुर्‍याउन 'तीनकुने'बाट ग्रिडमा जोडोस् वा 'गौशाला'बाट; स्वीकृत ग्रिडमा जोडिने क्षमता र प्राविधिक मापदण्ड उही छन् भने सूर्यबाट उत्पादित विद्युत्‌ मूल स्रोत र निकास बिन्दु परिवर्तन हुँदैन ।

सौर्य आयोजनाले सूर्यको प्रकाशबाट विद्युत् उत्पादन गर्छ । तीनकुने र गौशालामा परेको प्रकाश अलग-अलग ऊर्जा स्रोतका रूपमा हेर्न सकिँदैन । त्यसैले, निकास बिन्दु र ग्रिडको आवश्यकता पूरा भएमा अत्यन्त सानो निर्देशाङ्‌क समायोजनका कारण परियोजना रोक्नु प्राविधिकरूपमा औचित्यपूर्ण हुँदैन । यसको अर्थ प्राविधिक मापदण्ड कमजोर बनाउनुपर्छ भन्ने होइन तर जोखिम र उद्देश्यमा आधारित नियमन आवश्यक छ ।

सानो संशोधन, ठूलो क्षति

सौर्य आयोजना जलविद्युत्‌को तुलनामा कम समयमै निर्माण सम्पन्न गर्न सकिने आयोजना हो । यही नै यसको सबैभन्दा ठूलो फाइदा हो । तर, यदि सर्वेक्षण अनुमतिपत्रमा सानो निर्देशाङ्‌क संशोधन गर्नुपर्ने विषयलाई महिनौँसम्म प्रशासनिक प्रक्रियामा अल्झाइयो भने निम्न हानी व्यहोर्नुपर्ने हुन्छ :

•    निर्माण सुरु गर्ने समय पछाडि धकेलिन्छ ।

•    सामान खरिद तथा आपूर्ति तालिका प्रभावित हुन्छ ।

•    वित्तीय लागत (ब्याज) बढ्छ ।

•    व्यापारिक उत्पादन सुरु गर्ने समयसीमामा दबाब पर्छ ।

•    विद्युत् प्राधिकरणको ऊर्जा योजना प्रभावित हुन्छ ।

•    प्रवर्द्धकको आयोजनागत सम्भाव्यता कमजोर हुन्छ ।

•    अन्ततः देशले पाउनुपर्ने विद्युत् समयमै प्राप्त गर्न सक्दैन ।

एउटा सानो प्रशासनिक संशोधनको ढिलाइले सिङ्गो राष्ट्रिय ऊर्जा आयोजना पछाडि पर्नु आफैँमा ठूलो आर्थिक–सामाजिक क्षति हो ।

सौर्यकै कोण

नेपालमा सौर्य ऊर्जा विकास गर्न सबैभन्दा पहिले एउटा आधारभूत कुरा स्वीकार्न आवश्यक छ– जलविद्युत्‌ लागि बनाइएका सोच, प्रक्रिया र जोखिम मूल्याङ्‌कन सौर्यमा अक्षरशः लागु गर्दा अनावश्यक नियमनकारी अड्चन सिर्जना हुन्छ ।

सौर्यका लागि छुट्टै, स्पष्ट र जोखिममा आधारित प्रक्रिया आवश्यक छ । विशेषतः निम्न विषयमा विद्युत् विकास विभागले स्पष्ट मार्गनिर्देशन वा निर्देशिका बनाउन आवश्यक देखिन्छ:

१. स्वीकृत क्षमता तथा निकास बिन्दु परिवर्तन नभएको अवस्थामा सामान्य निर्देशाङ्‌क समायोजनलाई सरल प्रक्रियाबाट स्वीकृत गर्ने ।

२. निर्देशाङ्‌क समायोजनले अर्को स्वीकृत आयोजनाको क्षमता, प्रणाली वा कानुनी अधिकारमा वास्तविक असर पार्छ कि पार्दैन भन्ने आधारमा मात्र निर्णय गर्ने ।

३. सौर्य आयोजनाका लागि निश्चित समयसीमाभित्र संशोधन स्वीकृति दिने व्यवस्था गर्ने ।

४. विभाग, प्राधिकरण र प्रवर्द्धकबीच एउटै विषयमा पटक-पटक स्पष्टीकरण माग्ने परिपाटी अन्त्य गरी 'एकल विन्दु समन्वय' (एकद्वार प्रणाली) को व्यवस्था गर्ने ।

अन्य अड्चन

भौगोलिक निर्देशाङ्‌कमात्र होइन, सौर्य आयोजना विकासमा धेरै विषयले समय लिइरहेका छन् । भूमि व्यवस्थापन, स्थानीय तहको सिफारिस, वन तथा वातावरणीय स्वीकृति, वातावरण प्रभाव मूल्याङ्‌कन प्रक्रिया, प्रसारण लाइनको स्वीकृति, बे-विस्तार, उत्पादन अनुमतिपत्र संशोधन, भन्सार छुट तथा ग्रिड पहुँच स्वीकृति जस्ता विषयमा हुने ढिलाइले आयोजना कार्यान्वयनको समय बढाइरहेको छ ।

विशेषतः जग्गा, प्रसारण लाइन र ग्रिड पहुँचबीचको समन्वय सुरुकै चरणमा स्पष्ट हुनुपर्छ । प्रवर्द्धकले विद्युत् खरिद सम्झौता गरिसकेपछि पनि विभिन्न निकायमा एउटै विषय फरक-फरक ढङ्गले व्याख्या हुँदा आयोजनाको कार्यतालिका प्रभावित हुन्छ ।

नेपाल अब "पहिले एउटा अनुमति, अनि मात्र अर्को अनुमति" भन्ने परम्परागत प्रक्रिया छाडेर चरणबद्ध प्रगतिमा आधारित स्वीकृति प्रणालीतर्फ जानु आवश्यक छ ।

भू–सीमाको व्यवहारिकता

सौर्य आयोजनाका लागि चाहिने सम्पूर्ण जग्गा एउटै ढिक्का वा कित्तामा उपलब्ध हुन्छ भन्ने छैन । व्यवहारमा जोडिएका जग्गा, कित्ताकाट भएका वा फरक-फरक ठाउँका कित्ताहरू जोडेर एउटै सौर्य आयोजना क्षेत्र तयार गर्नुपर्ने हुन सक्छ । यस्तै, विस्तृत इन्जिनियरिङ र स्थलगत अनुकूलनका क्रममा सुरुमा प्रस्तावित स्थानबाट सौर्य पातालाई आयोजना क्षेत्रभित्रै केही पर सार्नुपर्ने हुन सक्छ । यसले आयोजनाको क्षमता र सबस्टेशन परिवर्तन गर्दैन भने यस्तो परिवर्तन नयाँ आयोजना वा ठूलो संशोधनका रूपमा लिनु उचित हुँदैन ।

त्यसैले, सौर्य आयोजनाको सर्वेक्षण अनुमतिपत्र तथा निर्देशाङ्‌क व्यवस्थामा जग्गा र इन्जिनियरिङ प्रयोगको लचिलापनलाई मान्यता दिनु आवश्यक छ । नियमनको उद्देश्य नक्साको रेखा जोगाउनु मात्र होइन; स्वीकृत आयोजना, स्वीकृत क्षमता र स्वीकृत विद्युत् निकासलाई सुरक्षित राख्दै आयोजना समयमै सम्पन्न गराउनु हुनुपर्छ ।

नियमन होइन, सहजीकरण

सरकार, प्राधिकरण र निजी क्षेत्र सबैको साझा लक्ष्य– समयमै विद्युत् उत्पादन गरी ग्रिडमा ऊर्जा थप्नु हो । कुनै सौर्य आयोजनाको क्षमता स्वीकृत छ । पिपिए भइसकेको छ । निकास बिन्दु स्पष्ट छ र निर्देशाङ्‌क समायोजनले अर्को आयोजनामा असर गर्दैन भने त्यस्तो सामान्य प्राविधिक विषय देखाएर आयोजना रोक्ने कारण बनाउनु हुँदैन ।

सन् २०३५ सम्म ठूलो परिमाणमा नवीकरणीय ऊर्जा विकास गर्ने सरकारी लक्ष्य छ । हरेक सौर्य आयोजनालाई अनावश्यक प्रशासनिक प्रक्रियामा अल्झाउने हो भने लक्ष्य हासिल गर्न कठिन हुनेछ । यसैले, अब सरकारको भूमिका 'कागजमा गल्ती खोज्ने नियन्त्रक' भन्दा 'समयमै आयोजना सम्पन्न गराउने सहजकर्ता'को हुनुपर्छ । सौर्य ऊर्जा विकासको गति रोक्ने सानातिना प्रशासनिक अड्चन हटाउनु प्रवर्द्धकलाई सहज बनाउनु मात्र होइन ।नेपालकै ऊर्जा सुरक्षा, विद्युत् व्यापार र आर्थिक विकासलाई गति दिनु पनि हो ।

के गर्ने त ?

सौर्य ऊर्जालाई 'जलविद्युतीय चस्मा'ले नहेरी यसकै प्राविधिक र व्यावसायिक वास्तविकताका दृष्टिकोणबाट हेरौँ । निर्देशाङ्‌क समायोजनको झन्झटले कुनै आयोजना र राष्ट्रिय ऊर्जा लक्ष्यलाई महिनौँ पछाडि धकेल्छ भने समस्या निर्देशाङ्‌कमा होइन, नियमन गर्ने शैलीमा छ भनेर बुझ्नुपर्छ । अबको आवश्यकता स्पष्ट कानुन, निश्चित समयसीमा, व्यावहारिक प्रक्रिया र सौर्य ऊर्जा केन्द्रित नियमनकारी ढाँचाको हो ।

सौर्य ऊर्जा उत्पादक संघ नेपाल (सोपान) का महासचिव अर्याल गोल्यान समूहअन्तर्गतको ऊर्जा व्यवसायका प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३